MENU

समाज

२०७५ विकास र समृद्धिको वर्ष होला ?

काठमाडौं, वैशाख ४ – नयाँ वर्ष २०७५ को झुल्के घामसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको रमणीय  स्थान राराबाट राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी दिन विकास र समृद्धिको रहने घोषणा गर्नुभयो । 

२०७४ सालमा महत्वपूर्ण राजनीतिक उपलब्धिहरु, तीनै तहको चुनाव सम्पन्न भएको भन्दै अब देशले समृद्धिमा फड्को मार्ने उहाँले बताउनुभयो ।

ऊर्जाको विकास गर्ने, रेल र जलमार्गसहितको आधुनिक यातायातको खाका बनाइने, विदेशी लगानीसँग हातेमालो गर्ने, लगानी मैत्री वातावरण बनाउने, भ्रष्टाचार अन्त्य गर्ने जस्ता योजना प्रधानमन्त्रीले सुनाउँदा नागरिक आशावादी देखिएका छन् ।

प्रधानमन्त्रीले समृद्धिको योजना बाँड्दै गर्दा विकास र समृद्धिमा केही सुधारका संकेत देखिन पनि थालेका छन् ।

मेलम्ची आउँदै 

काठमाडौंमा दैनिक १७ करोड लिटर खानेपानी आपूर्ति गर्ने योजनासहित झण्डै दुई दशकअघि सुरु भएको मेलम्ची खानेपानी आयोजना २०७५ सालमा पूरा हुँदैछ ।

अहिलेसम्म ८६ प्रतिशतजति भौतिक काम सकिएको आयोजनाको वित्तीय प्रगति ८० प्रतिशत छ ।  साढे २७ किलोमिटर सुरुङ खन्ने मुख्य काम सकिएको छ । अब सुन्दरीजलमा पानी प्रशोधन केन्द्र बनाउन बाँकी छ । त्यो काम अबको तीन महिनामा सक्ने आयोजनाको लक्ष्य छ । 

आउँदो दसैं नै काठमाडौंमा मेलम्चीको पानी ल्याइसक्ने घोषणा अनुसार काम भइरहेको आयोजनाको दावी छ । कठीन कामको रुपमा हेरिएको सुरुङ खन्ने काम पूरा भएको छ । अब सुरुङ प्लास्टर र भुइँ ढलान गर्ने काम बाँकी छ । यो सबै काम अबको साढे तीन महिनाभित्र सक्नेगरी काम भइरहेको ठेकेदार कम्पनी सीएमसीले जनाएको छ ।

ऊर्जामा प्रगतिको आश 

जल तथा ऊर्जा आयोगले गरेको प्रारम्भिक अध्ययनले नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेको देखाएको छ । 

अहिलेको उत्पादन भने एकहजार मेगावाटको हाराहारी मात्र छ । अहिले लोडसेडिङ नभए पनि लोडसेडिङ हटाउन अझै विदेशबाट बिजुली खरिद गर्नुपरेको छ । 

अहिले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, ४ सय मेगावाटको कालीगण्डकी, १ सय २७ मेगावातको माथिल्लो त्रिशूली, १ सय ११ मेगावाटको तनहुँ र १ सय २ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माणको चरणमा छन् । यी आयोजना सम्पन्न भए देशको ऊर्जा विकासमा फड्को मार्नेछ ।

राजनीतिक स्थिरताको फड्को 

वर्षौंसम्म राजनीतिक तरलता, राजनीतिक संक्रमण र अस्थिरतामा रुमल्लिएको देश अब स्थायित्वतर्फ अघि बढिरहेको छ । अब संघीयता कार्यान्वयनका लागि भौतिक पूर्वाधारका साथै आवश्यक जनशक्ति, कानुनसहित सबै संस्थाको निर्माणलाई तीव्रता दिनुपर्ने अवस्था छ ।

संघीयता लागू भएपछि विकासले फड्को मार्छ । गाउँदेखि जिल्लासम्मको एकीकृत विकास हुन्छ । अब ३ तहबाट विकासका काम हुन्छन् । जिल्लामा नगर र गाउँ तहका साथै प्रदेश र केन्द्रीय स्तरबाट विकासका प्रशस्त काम हुने अवस्था आएको छ, तर यो आशा यथार्थमा बदलिन भने अझै सकेको छैन । 

एकात्मक शासनबाट संघीयतामा जाँदा धेरै कुरामा अप्ठ्यारो लागेपनि विस्तारै यसमा बानी पर्दै जानेछ । अब ऐन–कानुन बनाउनेदेखि बजेट विनियोजन गर्ने काम प्रदेश र स्थानीय तहमै पुगेको छ  । रोगजारी, आयआर्जन र विकासले सबैको अनुहार उज्यालो पार्ने आशा गरिएको छ । 

संघीयताले राज्यको शासकीय शक्तिको संवैधानिक सुनिश्चितता बढाउने छ । विकेन्द्रित नीति, नियम र योजनाले तल्लो तहसम्म फाइदा पुर्याउँछ । संघीयताले दीगो शान्ति र राजनीतिक स्थिरता ल्याउँछ । राजनीतिक स्थिरताले नै विकास र समृद्धि उचाइमा पुग्छ । अबको वर्ष यसैमा केन्द्रीत हुने अपेक्षा सबैले गरेका छन् ।

गाउँगाउँमा अधिकार

संघीयता कार्यान्वयनसँगै सिंहदरबारको अधिकार गाउँमै पुगेको छ । भलै यसमा अझै केही प्रकृया र व्यवहारिक काम बाँकी नै किन नहोस्, तर धेरैजसो अधिकार स्थानीय तहबाट नागरिकका घरघरसम्म पुग्न थालेका छन् । 

जिल्लामा पुगेर गर्नुपर्ने सवैजसो काम अहिले गाउँ नगरबाटै हुन थालेपछि शासन ब्यवस्थाको नयाँ स्वाद स्थानीयबासिन्दाले पाउन थालेका छन् ।

कानुनी जटिलता, कर्मचारीमा पहिलेकै कामको अभ्यास र जनप्रतिनिधिमा समेत अन्योललगायत कारण नागरिकको अपेक्षा अनुसारका काम गर्न अहिले नै नसकिए पनि विस्तारै अभ्यास हुँदै जाने र त्यसपछि भने नागरिकको हरेक काम सजिलै हुने स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।

समृद्धिको आधार पर्यटन

पर्यटनबाटै आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिने उद्धेश्यसहित सरकारले ‘मिसन फाइभ मिलियन’ को नारा लिएर काम अगाडि बढाएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० सम्ममा वार्षिक १५ लाख पर्यटक भित्र्याउने गरि काम भइरहेको बताउनुभयो ।

विगतको तुलनामा वि.सं.२०७५ मा पर्यटकको संख्यामा बृद्धि हुने मन्त्रालयले अनुमान गरेको छ । तीनै तहको चुनाव सम्पन्न भएको, देशमा शान्ति, सुरक्षा र स्थिरताको प्रत्याभूति भएकाले नेपाल घुम्न आउने पर्यटकको सँख्या बढ्ने अनुमान सरकारी अधिकारीहरुको छ ।

पूर्वाधार निर्माण पहिलो प्राथमिकता

भैरहवा र पोखरामा क्षेत्रीयस्तरका अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । यसै वर्षभित्र भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनेगरी काम भइरहेको मन्त्री अधिकारीले प्रष्ट पार्नुभयो । पोखराको विमानस्थल अर्को वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

लामो समयदेखि चर्चामा रहेको बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई पनि यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडी बढाइने मन्त्री अधिकारीले प्रतिबद्धता जनाउनुभयो । ‘काठमाडौंमा मात्रै रहेको हाम्रो एउटा विमानस्थलले अब धान्न सक्दैन’ उहाँले भन्नुभयो, ‘त्यसैले क्षेत्रीयस्तरमा अन्तर्राष्ट्रियस्तरका विमानस्थल निर्माण सम्पन्न गर्ने कामलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ ।’ 

थपिँदै तारे होटल 

पर्यटक बस्नका लागि आवश्यक तारे होटलहरु थपिने क्रम चलिरहेको छ । तारे होटल निर्माणका लागि निजी क्षेत्रले ठूलो लगानी गरेको छ ।

यो वर्षभित्रमा कम्तिमा पाँचवटा तारे होटल सञ्चालनमा ल्याइसक्ने र सन २०२० भित्रमा १० वटा होटलले सेवा सुरु गर्ने तयारी छ । दर्जनौँको सख्यामा पर्यटकस्तरका होटलहरु पनि बन्ने क्रममा छन् । 

विकास र समृद्धिमा नयाँ ‘गियर’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०७५ साल नेपालमा समृद्धि यात्राको वर्षको रुपमा रहने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष हामीले समृद्धिको यात्रामा नयाँ गियर लगाउँछौँ । सुरु त हामीले पहिलेदेखि नै गरेका हौँ तर स्टार्ट मात्रै भइरह्यो, गियरमा गाडी गुडिसकेको अवस्था थिएन । त्यसैले अब गियर लागेको गाडी विस्तारै अघि बढेको छ ।’

अब गाडीको गति तीव्र बनाउँदै हामी ‘सुखी नेपाली, समृद्धि नेपाल’को सपना साकार हुने गरी नेपाललाई समृद्ध देशको रुपमा रुपान्तरण गरिछाड्ने अटोटका साथ अगाडि बढेका छौँ’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सबैको साथ र सहयोग आवश्यक छ ।’

यो वर्ष केही ठूला पूर्वाधार विकासको काम सरकारले सुरु गरिरहेको भन्दै उहाँले काठमाडौँ तराई जोड्ने फास्ट ट्रयाकको काम देखिनेगरी अघि बढाइरहेको, पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने काम सुरु भएको, मध्यपहाडी लोकमार्गका केही खण्ड निर्माणमा महत्वपूर्ण काम भएको, केही ठूला जलविद्युत परियोजना सम्पन्न गर्ने चरणमा पुगेको र केही सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

उत्पादित विद्युत् खेर जान नदिन प्रसारणलाईन विस्तारको कामलाई तीव्रता दिएको पनि उहाँले बताउनुभयो । ‘२०७५ मा सरकारको सम्पूर्ण ध्यान नयाँ रोजगारीको अवसर सिर्जना गर्ने र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने नै हो’ उहाँले भन्नुभयो ।

सरकारले भनेजस्तो भए यो वर्ष सम्बृद्धिको यात्राको पहिलो पाइलाका रुपमा रहनेछ । तर प्रधानमन्त्री र मन्त्रीले भाषणमा मात्र भन्ने विगतकै परम्पराको मात्र निरन्तरता भयो भने नागरिकको आशा र अपेक्षा फेरि निराशामा बदलिनेछ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया