MENU

राजनीति

ujyaalo forign call inside

राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सकियो, वैशाख मसान्तभित्र टेस्ट उडान

शुभ नारायण यादव/उज्यालो ।

सप्तरी, वैशाख ४ – सप्तरीको राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । ‘रन वे’ कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

झण्डै १६ महिना पछि विमानस्थलको ‘रन वे’ कालोपत्रे सम्पन्न पश्चात् बाँकी रहेको कम्पाउण्ड घेरवार, कार्यालय मर्मत, रंगरोहन लगायतका काम समेत अन्तिम चरणमा पुगेको छ । यी कामहरु सम्पन्न पश्चात् नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन गरेपछि वैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधिकरणका प्रोजेक्ट इन्जिनियर रामएकवाल महतोले जानकारी दिनुभएको छ ।
 
विमान सेवा पुनः सुचारु हुने खबरले स्थानीयबासिन्दा र जग्गादाता पनि खुशी भएका छन् । विमानस्थलका लागि करोडौं मूल्य पर्ने ४८ विघा जग्गा निःशुल्क दान गरेका स्थानीय स्व. रुद्रनारायण सिंहका छोरा महमाया सिंहले सप्तरीवासीले देखेको सपना अब साकार हुने भन्दै सरकारलाई धन्यवाद दिनुभएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमानस्थलको ‘रन वे’ निर्माण गर्ने काम पाएको थियो । कन्स्ट्रक्सनले विमानस्थलको एक हजार ५ सय मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्गको कालोपत्रेका लागि ३० करोड ३० लाख ७४ हजार रुँपैयाान सम्झौता गरेको थियो । सम्झौता भए बमोजिम २०७४ साल मंसिर मसान्तसम्ममा रनवेको सम्पूर्ण कार्य पूरा गरिसक्नु पर्नेमा कन्स्ट्रक्सनले ४ महिना ढिलो काम सम्पन्न गरेको छ ।

तत्कालीन जिल्ला विकास समिति सप्तरीको कार्यालयमार्फत २ करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्रको घेरवारको काम समेत सम्पन्न भइसकेको छ । विमानस्थलमा रहेको विभिन्न साना–तिना पानी निकासीका लागि कल्भर्ट, मूल ढोका अगाडि कालोपत्रे, रंगरोहन तथा मर्मतका कामहरु समेत अन्तिम चरणमा पुगेको छ ।

राजविराज नगरपालिकाबाट ४ किलो मिटर दक्षिणमा पर्ने विष्णुपुर गाउँपालिकामा अवस्थित ५५ विगाहा क्षेत्र ओगटेको राजविराज विमानस्थल धावन मार्गकै कारण वर्षा याममा पटक–पटक बन्द हुँदै आएको थियो ।

विसं २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट २०५२ साल वैशाखबाट विमान उडान सेवा रद्द गरिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले विगत २१ वर्षमा पटक– पटक विमान सेवा संचालन र रद्द हुँदै आएको हो ।

अन्तिम पटक विसं २०६५ सालमा परीक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै यो एयरले विमान सेवा बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आइतबार र शुक्रबार काठमाडांै र एक पटक आइतबार लामिडाँढा उडान गर्दै आएको थियो ।

प्रदेश नम्बर २ मा जनकपुर, सिमराहा र राजविराजमा विमानस्थल रहेकोमा राजविराज विमानस्थलबाट नियमित उडान संचालनमा आएपछि सप्तरीसहित प्रदेश नम्बर १ का पहाडी जिल्लाका बासिन्दाका लागि विमान चढ्न सहज हुने तथा प्रदेश २ को विकासमा टेवा पुग्ने स्थानीयको विश्वास रहेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया