MENU

खेल

​क्यान फुकुवाको स्पष्ट संकेत : हदैसम्मको लचकता अपनाउने

काठमाडौं, वैशाख ४ – निर्वाचित भनिएको नेपाल क्रिकेट संघ क्यानले आईसीसीले क्यान निलम्बन फुकुवा गर्ने ग्यारेन्टी भएमा जस्तोसुकै लचक हुने बताएको छ ।

आउँदो बिहीबार र शुक्रबार काठमाडौंमा हुने क्यानको विशेष साधारणसभाको बारेमा जानकारी दिन भएको पत्रकार सम्मलेलनमा क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आफूहरुले क्यानको आपत्ति  नरहने गरी विधान संशोधन गरेको र साधारण सभाले त्यो पारित गरेमा नेपाली क्रिकेटको विवाद समाधान हुने जानकारी दिनुभयो । 

गएको भदौमा भएको क्यानको साधारण सभाले पारित गरेका केही प्रावधान संशोधन गर्न आईसीसीसँग पनि पटक पटक छलफल भएको भन्दै महासचिव प्याकुरेलले ६ र ७ गते हुने विशेष साधारणसभाले नयाँ विधान पारित गर्नेमा आफू आशावादी रहेको पनि जानकारी दिनुभयो ।

‘प्रस्तावित विधानको मस्यौदामा हामीले आईसीसीले भने अनुसारका धेरै कुरा समेटेका छौं, यदि नेपाली क्रिकेटको निलम्बन फुकुवा हुन्छ भने हामी जतिसम्म लचक हुनुपर्ने हो त्यति लचक भैदिन्छौं’, महासचिव प्याकुरेलले भन्नुभयो, ‘पहिला पनि मिडियामा आएजस्तो १७ वटा बुँदामा आईसीसीको आपत्ति थिएन ३÷४ वटा बुँदामा असहमति थियो, अहिले हामीले त्यसलाई परिवर्तन गरेका छौं, आशा गरौं नेपाली क्रिकेटले निकास पाउँछ होला ।’

यसअघिको विधानमा क्यानको नेतृत्वको चयन गर्न पुरानो कार्यसमितिका १७ जनाले निशर्त मताधिकार पाउने र कार्यसमितिमा उम्मेद्वारी दिन पाउने व्यवस्था थियो । आईसीसीले सबैभन्दा ठूलो असहमति त्यसैमा राखेको थियो । तर अहिलेको विधानमा त्यो व्यवस्था हटाइएको पनि उहाँले जानकारी दिनुभयो । अब १७ जनाले साधारणसभामा सहभागिता जनाउन पाउने तर उम्मेद्वार बन्ने हो भने जिल्ला र प्रदेशबाट सदस्यता लिँदै आएपछि मात्रै उम्मेद्वार बन्न पाउने पनि उहाँले जानकारी दिनुभयो । मताधिकार पनि स्वतः नपाउने तर तल्लो तहदेखि प्रक्रिया पूरा गरेर आएमा मात्रै मताधिकार पाउने गरि विधानमा संशोधन गरिएको छ ।

यस्तै पहिलेको विधानमा राखेपका ७ जना प्रतिनिधिले साधारण सभामा मताधिकारसहित सहभागी हुन पाउने उल्लेख रहेकोमा अब त्यो सहभागिता नरहने विधानमा उल्लेख छ ।

यस्तै क्यानको चुनाव अनुगमनको लागि पहिले ७ सदस्यीय अनुगमन टोली बनाउने यसअघि उल्लेख गरिएकोमा नयाँ विधानको मस्यौदामा आईसीसीका ३ जना, राखेपका १ जना र निर्वाचित भनिएको क्यानका १ जना रहनेगरी ५ सदस्यीय समिति बनाउने उल्लेख छ । चुनावको लागि बन्ने ५ सदस्यीय समितिले अहिले जिल्लामा भैसकेको चुनावको पनि अध्ययन गर्ने र समस्या रहेका जिल्लामा समाधानको पहल गर्नेछ ।

साधारणसभा नै निर्णायक

‘हामीले त अहिले आईसीसीले असहमति नराख्ने गरी लगभग संशोधन गरेका छौं, यो ड्राफ्ट अब साधारणसभामा लैजान्छौं, साधारण सभाले के गर्छ त्यो उनीहरुमा नै भर पर्छ’, निर्वाचित भनिएको क्यानका महासचिव प्याकुरेलले भन्नुभयो, ‘नेपाली क्रिकेटको समस्या समाधानको लागि हामी कुन हदसम्म जानुपर्ने हो जान तयार छौं, तर हामीले पहिलेदेखि भन्दै आएको चाँही कमसेकम विधि र प्रक्रियाअनुसार नै जाउँ भन्ने हो, निकाश निस्कन्छ भने साधारण सभाले पनि यसलाई पारिन नगर्नुपर्ने कुरा केही छैन ।’

३७ जिल्लामा क्यानको जिल्ला संघको चुनाव भएको थियो । ३५ जिल्लामा विवाद छैन भने भक्तपुर र ललितपुरमा भने विवाद रहेको छ । तिनै ३५ जिल्लाका प्रतिनिधिले क्यानको नयाँ विधान पारित गरेमा आईसीसीले क्यानको निलम्बन फुकुवा गर्ने सम्भावना रहेको छ । क्यानको ६ र ७ गने हुने विशेष साधारणसभाको निरिक्षण र सहजकर्ताको भूमिका निर्वाह गर्न आईसीसीका प्रतिनिधि पनि नेपाल आउँदैछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया