MENU

अर्थ

ujyaalo forign call inside

तपाईँको एटीएम कार्ड कति सुरक्षित ?

काठमाडौं, वैशाख ४ – नेपाल इन्भेस्टमेण्ट बैंक लिमिटेडले वैशाख १८ गते देखि पुरानो एटीएम कार्डबाट हुँदै आएको कारोबार बन्द गर्ने भएको छ ।

बैंकले पुरानो प्रविधिमा आधारित म्याग्नेटिक स्ट्रिप कार्डबाट हुने कारोबार बन्द गरेर इएमभी चिपबाट मात्र कारोवार गर्ने जानकारी दिएको छ । चिप प्रविधिमा आधारित कार्ड प्रयोग गर्ने इन्भेस्टमेण्ट पछिल्लो बैंक हो । यसअघि सिद्धार्थ, माछापुच्छ्रे, एनएमबी, सिटिजन्स, ग्लोबल आईएमई बैंकले यो प्रविधि प्रयोगमा ल्याइसकेका छन् ।

बैंकको सेवा सुरक्षित, गुणस्तरीय र विश्वासिलो बनाउन माइक्रोप्रोसेसर चिपजडित इएमभी चिप कार्डबाट मात्रै कारोवार गर्न लागिएको बैकको सूचनामा उल्लेख छ । बैंकले सबै खालका डेबिट, क्रेडिट र प्रिपेड कार्डलाई चिप प्रविधिमा रुपान्तर गरेर नयाँ कार्ड लिन पनि ग्राहकहरुलाई आग्रह गरेको छ ।  

चिप ह्याकिङ् हुने सम्भावना कम   

यो कार्ड बैंकिङ कारोवारका लागि अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मानिन्छ । माइक्रोप्रोसेसर चिपजडित यस्तो कार्डबाट हरेक पटक कारोवार गर्दा ‘कम्प्लेक्स एलगोरिदम’ बाट ‘इनक्रिप्ट’ गरिने हुँदा कार्डको डाटा चोरी तथा जालसाजीको सम्भावना निकै कम हुने बैंकले जनाएको छ । 

विशेषगरी सपिङ मलहरुबाट कार्ड ह्याकिङका घटना धेरै हुने गरेका छन् । यसलाई रोक्न पनि चिप कार्ड महत्वपूर्ण हुन्छ । डूअल अथेन्टिकेसन अप्सन भएकाले चिपमा आधारित कार्डमा पीओएस मेसिनमा कार्ड स्वाइप गरेपछि पनि पिन कोड हाल्नु पर्छ । 

यसअघिको म्याग्नेटिक स्ट्रिप कार्ड स्वाइप गर्दा पिन कोड हाल्नु पर्दैन थियो । स्वाइप गर्ने बित्तिकै कारोबार हुन्थ्यो । फलस्वरुप, पुराना कार्ड हराउँदा र चोरी हुँदा कार्ड दुरुपयोग हुने घटना बढी हुन्थ्यो ।

यसले कार्ड कसैले भेट्टाए पनि जथाभावी प्रयोग हुनबाट रोक्ने बैंककी रिलेसनसिप म्यानेजर सिर्जना मानन्धरले बताउनुभयो । तर अब चिप प्रविधिका कार्ड प्रयोगमा आएसँगै ह्याकिङ र दुरुपयोगका घटना कम हुने पनि बैंकले जानकारी दिएको छ । 

कसरी हुन्छ ह्याकिङ ?

प्रहरीको अनुसन्धान अनुसार नेपालमा तीन तरिकाबाट एटीएम कार्ड ह्याकिङ हुने गरेका छन् । सबैभन्दा धेरै ह्याकिङ सपिङ मलबाट हुने गरेको छ । सपिङ गर्ने क्रममा ग्राहकले कार्ड स्वाइप गर्दा पीओएस मेसिनमा अतिरिक्त डिभाइस जडान गरी डाटा ह्याक गरी नयाँ एटिएम बनाउने गरिएको छ ।

त्यस्तै, एटिएम बुथमा गोप्य डिभाइस र गोप्य क्यामरा राखेर डाटा र पिन नम्बर नै चोरी गरेर पनि ह्याकिंग हुन्छ । ती डाटा खाली कार्डमा भरेर नक्कली एटीएम बनाई त्यही पिन नम्बर बनाएर पैसा चोरी हुने गरेको छ । यो अपराधको प्रवृति पछिल्लो समय नेपालमा देखिएको छ । कतिपय अवस्थामा भने ग्राहककै मिलेमतोमा समेत एटीएमबाट चोरी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

मेसिन पुरानै : कार्ड नयाँ, जोखिम उस्तै

बैंकहरुले चिप्समा आधारित एटीएम कार्ड बाँडे पनि एटिएम बुथ (मेसिन) भने पुरानै छ । मेसिन पूर्ण रुपमा चिप्समा आधारित छैनन् । कार्ड सक्कली÷नक्कली के हो भनेर सहजै पत्ता लगाउन एटीएम मेसिनले चिप्स पढ्न सक्नुपर्छ ।

मेसिनमा त्यही क्षमता नहुँदा ह्याकरले एटीएम कार्डको डाटा र ग्राहकको पिन नम्बर चोरेर नक्कली कार्डमार्फत पैसा निकाल्ने गरेको प्रहरी अनुसन्धानले समेत पुष्टि गरेको छ ।

एटीएम मेसिन परिवर्तन गर्दा धेरै खर्चिलो हुने भन्दै बैंकले त्यसतर्फ चासो देखाएका छैनन् । मेसिन परिवर्तन नगरुन्जेल ठगीका घटना दोहोरिइरहने स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) का चिफ बिजेनस अफिसर प्रणव राजभण्डारीले बताउनुभयो ।

अहिले प्रचलनमा रहेका एटीएम मेसिन ‘म्याक्स टेप टाइप’ मा आधारित हुन् । बैंकहरुले अहिले यही मेसिनलाई अपग्रेड गर्दै चिप्स रिड गर्न सक्ने मात्रै बनाएका छन् ।  चिप्स र म्याक्स टेप टाइप दुवै कार्ड चल्ने ‘कम्प्याटिबल’ मेसिन केही सस्तो हुँदा केही बैंकहरुले यसको प्रयोग तर्फ आकर्षित भएका छन् ।

हाल प्रचलनमा रहेका एटिएम मेसिन ६ देखि ८ लाख रुपैयाँ मूल्यका हुन् । तर युरोपियन, मास्टर र भिसा (इएमभी) कार्ड स्टान्डर्डको मेसिनलाई चल्तीमा रहेको भन्दा दोब्बर पर्छ । त्यसै कारण बैंकहरुले उच्च सुरक्षायुक्त मेसिन राख्न आनाकानी गर्दै आएका छन् । 

बैंकले कार्डको चिप्स सिस्टम जति नयाँ ल्याए पनि एटीएम मेसिन पुरानो प्रविधिको रहुन्जेल जोखिम घट्दैन । नेपालमा बारम्बार एटीएम ‘फ्रड’का घटना भइरहे पनि बैङ्कले नयाँ प्रविधिको एटीएम बुथ प्रयोग नगर्दा समस्या बल्झिरहने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठहर गरेको छ । सीआईबीले राष्ट्र बैङ्क र बैङ्कहरुलाई चिप्स बेस्ड एटीएम बुथ र एटीएम कार्ड प्रयोगमा ल्याउन सचेत गराउँदै आएको थियो ।

कार्ड बन्न ढिलाई

इन्टरनेसनल पेमेन्ट एसोसिएशनले सन् २०१७ भित्रै यस्तो प्रविधिको कार्ड प्रयोगमा ल्याउन सबै सेवा प्रदायकलाई आह्वान गरेको भए पनि बैंकहरुले कार्ड बनाउन केही ढिला गरेका हुन् ।

पुरानो प्रविधिको म्याग्नेटिक स्ट्रिप कार्डमा सुरक्षा प्रणाली कमजोर भएको र त्यसको कारण उत्पन्न हुने जोखिमले भुक्तानी दिने बैंक तथा वित्तीय संस्थालाई हानी नोक्सानी पर्ने भन्दै यस्तो व्यवस्था गर्न उसले सबै सेवाप्रदायकलाई आह्वान गरेको थियो ।

एसोसिएशनको आग्रहमा संसारका धेरै केन्द्रीय बैंकहरुले आ–आफ्ना देशका बैंक तथा वित्तीय संस्थाहरुलाई चिपबेस्ड कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएका थिए । त्यसैअनुरुप नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि यो कार्ड प्रयोगमा ल्याएका हुन् ।

बैंकहरुले गर्दैनन् चेतनामूलक कार्यक्रम

प्रविधियुक्त चिप कार्ड प्रयोगमा ल्याएपनि बैंकहरुले कार्ड सुरक्षित राख्ने उपायबारे भने उपभोक्तालाई जनचेतना जगाउन पर्याप्त ध्यान दिन सकेका छैनन् । 

यसले पनि अधिकांश समस्या उत्पन्न गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । बैङ्कको सिस्टम सुरक्षित हुँदा पनि कार्ड असुरक्षित हुनु उपभोक्ताप्रति बैंकको बेवास्ता रहेको प्रहरीको निष्कर्ष छ ।  

उपभोक्तालाई एटीएम फ्रडबाट बच्ने उपाय सिकाउने दायित्व बैंककै भए पनि अहिलेसम्म त्यो पर्याप्त हुन सकेको छैन । एटीएम कार्ड ह्याक हुने घटनाले बर्सेनि बढ्दै गएपछि त्यसलाई रोक्न अहिले बैंकहरुले इएमभी चिप कार्ड प्रयोगमा ल्याउन थालेका छन् ।

चिप कार्डले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोवारलाई थप सरल र सुरक्षित बनाउन सहयोग पुग्छ । तर यसका लागि बैंकहरुले आवश्यक सुरक्षाको उपाय अपनाउँदै उपभोक्तालाई पनि सचेत गर्नुपर्छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया