MENU

विचार/अनुभूति

ujyaalo forign call inside

सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

–मिलन तिमिल्सिना

न आफू सर, न आफ्नो सरकार । अनि कसरी चढ्ने कार । त्यसैले सार्वजनिक बस चढ्नु तपाईँको र मेरो साझा बाध्यता । काठमाडौं उपत्यकाभित्रको लोकल बसको कुरा गरौं कि बाहिर जाने लामो रुटको । जसको कुरा गरे पनि व्यथा उस्तै ।

झोला बोकेर कलंकी या नयाँ बसपार्क पुग्नुहोस् । तपाईँ हिँड्नै पर्दैन । ओ दाई कता पूर्व ? पश्चिम ? मलेखु, धार्के, मुग्लिन ? कहाँसम्म ? ल आउनुहोस् भन्दै एउटाले झोला बोक्छ । अर्कोले आफैँलाई बोक्छ । बसभित्र लगेर थचार्छ ।

कहिले बस रित्तै हुन्छ, कहिले भरिभराउ । झुण्डिएर बस्नुपर्ने चमेरे सिट पनि नहुँदा पख्नुस्, पख्नुस् मिलाउँछु भनेर टार्छ । बस चढेर नौबिसे पुग्दासम्म मिल्ने छाँट हुँदैन । भए पो मिलाउनु । सामान हो र मिलाउन ? जति मिलाउनु पहिल्यै मिलाइसकेको हुन्छ ।

मुढा, कुर्सी, पिर्का, चकटी पहिल्यै नै सबैले ओगटिसकेका । एकछिन त उभिन मजै हुन्छ । त्यसपछि ज्यान गलेर लखतरान । बरु हिँडेर आएको भए यति थकाई लाग्दैनथियो होला । उभिएर, थचारिएर, हुत्तिएर, बत्तिएर भित्र कोचिँदाकोचिँदै लखतरान ।

बस रित्तै हुँदा पनि समस्या यही । दसैं तिहार र केही विशेष दिनमा बाहेक अरुबेला प्रायः बस खाली जस्तै हुन्छ । चढ्ने बेला सिट खाली कोही पनि छैन । आज आफू त एक्लै, सुतेरै जान पाइने भो भनेर मख्ख पर्यो । तर बस टनाटन नभई किन चल्थ्यो ।

सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ । पाइला राख्ने ठाउँ समेत नभएपछि बल्ल बस गुड्छ ।

‘ल प्लाष्टिक चाहिए भन्नुस् है’ सहचालक भाइ कराउँछ । प्लाष्टिकको नाम सुन्ने बित्तिकै याद आयो । वमन थाप्ने थैलो । प्लाष्टिकको कुरा नसुन्दासम्म कहिले झर्न पाइएला भन्ने मात्र टेन्सन थियो । अब त पेटभित्र पुगेको खानेकुरा झार्ने पनि सम्झना आउन थाल्यो । आफूले पहिले छाद्ने कि अर्कोलाई पालो दिने । कुरा गम्दा गम्दै पेट बटारिन थाल्छ ।

पछिल्लो सिटमा अटेसमटेस भएर बसेकी महिलाले पहिले सुरु गरिन् । गाग्रीबाट पानी पोखिएझैँ आवाज आयो । एउटा प्लाष्टिकले पुगेन । बोल्न नसकी नसकी हातको इशाराले अर्को प्लाष्टिक मागिन् । कति चाहियो प्लाष्टिक भन्दै सहचालक भाइ झर्कियो । दुईटा जाला कि झैं गरी छामी छामी पोकाबाट एउटा प्लाष्टिक झिकेर दियो । ती महिला अझै थामिएकी छैनन् । पेटभित्र अझै कति बाँकी होला ? सोच्दा नसोच्दै अर्कोले सुरु गर्यो । अब त मेरै पालो हो, अर्कोले उछिन्ला झैं गरी सबैले उसैगरी थाले । आफ्नो पनि पेट बटारिएर आयो । छादले बसको घ्यारघ्यार र धुवाँको गन्धलाई समेत जित्यो ।

पेटमा हुलेको फाल्न भ्याएको छैन, फेरि राख्ने ठाउँ आइसक्छ । गाडीवालाले चिनेजानेको ठाउँमा उसले सित्तैमा खान पाउने होटल । यात्रुलाई चाहिँ चियाकै ४० रुपैयाँ । १० गेडा चनाको ५० रुपैयाँ । बासी भातलाई दुईसय रुपैयाँ । सस्तो र साजी खान त कि गाडी चलाउने चालक हुनुपर्यो । कि स्वर नै सुकाएर ढ्यापढ्याप गर्ने सहचालक ।
 
पहिले खाली भएको बस राजमार्गमा पुग्दा कोचाकोच हुन्छ । बस चढ्ने बेला कोचाकोच भएको पेट चाहिँ खाली हुन्छ । जे जसरी भए पनि बस चढेर ठाउँमा पुग्यो । शरीरको जोर्नी दुखेर हैरान । धन्न जोर्नी मात्र दुख्यो । बाटो र गाडी हेर्दा परमधाम नै जाला जस्तो लागेको थियो । 

लोकल बसको पनि कुरा उस्तै । लोकल कुखुरा, लोकल खसीको मासु मजा हुन्छ । लोकल बस त पटक्कै नमजा । पहिलो कुरा त घरबाट निस्कनै हतार हुन्छ । सर्टको टाँक लगाउँदै बस स्टप पुगेर उभियो । अरु बेला खालीको खाली, अफिस ट्याममा चाहिँ भरिभराउ ।

खुट्टा राख्ने ठाउँ नभए पनि चढ्नै पर्यो । ढोकामा समेत दर्जन मान्छे झुण्डिएका छन् । एउटा हातले मात्र समातेर क्याप टोपी पछाडि फर्काएको सहचालक भाइ अझ कराउँदैछ–कहाँ जाने लौ है सिट खाली । छेउमा मान्छे उभिएको देख्नासाथ गुरुजीले घ्याच्च गाडी रोक्छन् । सबैलाई जसरी पनि पुग्नुछ ।

दुईजना बस्न मिल्ने सिटमा चारजनासम्म खाँदिएर बसेका छन् । कोही कक्रक्क परेर उभिएका । कोही झुण्डिएका । गर्मीले उकुसमुकुस भएकाहरु लौन जाऔं भाइ भनेर कराउँदैछन् । तर भाइलाई अझै मान्छे पुगेको छैन । एउटा खुट्टा मात्र टेकेर गाडी चढ्न सक्ने मान्छे खोज्दैछ ।

‘भाइ म यसरी त जान सक्दिन, खाली सिट भए मात्र ! चढ्न खोजेको मान्छे मुख अमिलो बनाउँदै भन्छ । ‘सिट त पाएको पायै हो दाइ, उतै रत्नपार्कबाट त मान्छे उभिएर आएका छन् ! भाइले जवाफ दिन्छ ।

‘ल ल दाइ ढोका चाहिँ लगाउनुपर्छ है, नत्र ट्राफिकलाई तिर्नुपर्छ’ चालक भन्छन् । ढोका लगाउनुपरेको ट्राफिकका लागि हो, यात्रुको सुरक्षाका लागि होइन । चालक र सहचालकले मात्र होइन, यात्रुले पनि यही बुझेका छन् । यात्रुलाई जसरी पनि ठाउँमा पुग्नुछ, गाडीवालालाई जसरी पनि खल्ती भर्नुछ ।

लामो दूरीमा गुड्ने हुन् कि छोटो दूरीमा, सिन्डिकेट एक्सप्रेसले यात्रुलाई सकसमाथि सास्ती मात्रै थपेका छन् । घोक्राएर खाँद्दै, उफारेर पछार्दै हैरान बनाएका छन् । गाडीमा यात्रु भरेर खल्ती मात्र भर्न पल्केका छन् । यस्तो सिन्डिकेटको अन्त्य भएको दिन मात्रै यात्रुलाई हाईसञ्चो हुनेछ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया