MENU

साहित्य/ कला

ujyaalo forign call inside

एक सर्को माया

 
जेठको महिनामा सिँगाने घोलदेखि माथिको फाँटका ब्याडमा हरिया टुसाहरू पलाइसकेका थिए भने सिँगाने घोलदेखि तलतिरको फाँटमा मकैका बोटहरू सुत्ला च्याप्न आतुर थिए । रातमा टहटह जुन लागिरहेको थियो । आकाशमा बादलका थुम्काहरू जूनको प्रकाशमा देखिँदै थिए । दिनभरिको कामले थाकेकी आमा र खेलेर थाकेकी दिदी एकअर्कालाई च्यापेर निदाइरहेका थिए ।
 
हजुरआमा पनि निदाइरहनुभएको थियो । बा भने घरपछाडि ढिकमाथिको करेसामा बसेर राति अबेरसम्म गाँजा तानिरहेका थिए । पर सिँगाने घोल नजिकैको खेतबाट झुम्लुङ–झुम्लुङ गर्दै कोही घोलको छेवैछेउ पूर्वतिर हिँडिरहेको थियो । त्यो आकृति मुरीफाँटको बीचमा रहेको आँपको रूखतिर जाँदै थियो । पहिले त बालाई चोर हो कि भन्ने शङ्का लाग्यो तर त्यो आकृति आँपको रूखतिर लम्किँदै गर्दा बिस्तारै बाको मनमा चिसो पस्दै गयो । त्यो मुरीफाँटको आँपको रूखमा झुण्डिएर धेरैले आत्महत्या गरिसकेका थिए । आत्महत्याका लागि बदनाम भएको त्यो रूखतिर लम्किरहेको आकृतिले बालाई जिरिङ्ग बनायो, उनी उठेर मुरीफाँटतिर दगुरे । आँपको रूखमा पुग्ने बेलामा बाले त्यो आकृतिलाई भेट्टाए । 
 
“फूलमाया !”
 
बा आत्तिए, फूलमायाले हातमा एउटा नाइलनको डोरी समातेकी थिइन् । उनले पछाडिबाट आएको बाको आवाज त सुनिनन् तर पाइला नरोकीकन अगाडि बढिरहिन् । बाले दगुर्दै गएर फूलमायाको हात समातेर अत्तालिँदै भने— “यो के हो फूलमाया ?”
 
फूलमाया एकाएक जोडले घ्वाँघ्वाँ गरेर रुन थालिन् । उनको रुवाइ सुनेर एक हुल डाङ्ग्रे चराहरू होहल्ला गर्दै आँपको रूखबाट उडे । फूलमायाको रुवाइ रोकिएन । आफूले समातेको नाडीलाई दह्रो पार्दै बाले उनलाई त्यही रूखको फेदमा बसाए अनि उनको अर्को हातको डोरी आफूले लिए ।  धेरैबेरसम्म फूलमाया रोइरहिन् । बिस्तारै उनको रुवाइ हिक्क–हिक्कमा बदलियो । बाले भने— “बौलाउन आँट्यौ कि क्या हो ? के पाप गर्याै र झुण्डिएर मर्नपर्ने ?”
 
फूलमाया केही बोलिनन्, हिक्कहिक्क गर्दै बसिरहिन् । सिँगाने घोलबाट झ्याउँकिरी कराएको आवाज आइरहेको थियो । हिक्कहिक्कसँगै छरपस्ट झरिरहेका आँसुका ढिकाहरू पुछ्दै फूलमाया बोलिन्— “नछुनी रोकिएको, दुई महिना भयो ।”
 
उनी आफ्नो चिउँडो कमाउँदै रुन थालिन् । बाको मनमा बौलाहा खोलामा आउने बर्खे बाढीजस्तै बाढी आयो । त्यो बाढीले पहाडी जङ्गलबाट ढुङ्गा र मुढा लडाउँदै ल्याएजस्तै के–के ल्यायो ल्यायो ! तैपनि आफूलाई सम्हाल्दै फूलमायाको मुखतिर हेरेर बाले भने— “मर्नु पनि समस्याको समाधान हुन्छ र ? अरू उपाए खोजाैँला नि !”
 
बाको कुरा सुनेर फूलमाया मौन रहिन् । बा पनि केही बेर मौन रहे । एक छिनपछि घाँटीमा अड्किरहेको सानो हिक्कहिक्कसँगै फूलमायाले भनिन्— “हजुरले गर्भ तुहाउने कुरा गर्या हो भने भैगो कुरा नअर्नुस् ! मर्नु र मार्नुमा कुनै अन्तर छैन, बरु म मर्न नै चाहन्छु ।”
 
बा फूलमायाको कुरा सुनेर केही बोल्न सकेनन् । फूलमायाको रुवाइ जारी नै थियो । फूलमाया रुँदारुँदै थाकिछिन्, उनी बाको काँधमा आड लागेर त्यत्तिकै निदाइन् । बिहान तीन बजेतिर फूलमायालाई फकाएर बाले घर फर्काए । दुवैको मनमा समाज र परिवारको डरले पहिरो खसिरहेको थियो ।
 
रात बित्यो, दिन हुँदै हप्ता र महिना पनि बित्यो । असारे झरी सुरु भयो । मकैका घोगाहरूमा दूध पस्न थाल्यो, फूलमायाको तल्लो पेट पनि दिन–परदिन बढ्दै गयो । समय घर्किंदै थियो, बा दिनलाई लम्ब्याउन चाहन्थे, घामलाई टक्क रोक्न चाहन्थे ता कि उनले केही सोच्न सकुन् ! कुनै उपाय निकाल्न सकुन् ! तर समय कसको बसमा हुन्छ र !
 
एकरात करेसाको ढिकमा घन्टौँ टोलाएर बा अबेर घर फर्किए । दिदी आमाको काखमा निदाइ रहेकी थिइन्, आमा पनि निदाइ सक्नुभएको थियो । बाले एकपटक दिदीको निधारमा गहिरो चुम्बन गरे अनि एकछिन उनको गाला मुसारे । बाको मन क्वाँक्वाँ रोइरहेको थियो तर आँखामा आँसु थिएन । एक छिनपछि बा बिछ्यौनाको तल गएर आमाको गोडानेर घुँडा टेक्दै बसे । आमा मस्त निदाइरहनुभएको थियो । बाले एकपटक आमाको गोडा आफ्नो हातले छोए, सायद उनले मनमनै माफी मागे होलान् ! त्यतिबेला उनको आँखाबाट आँसु बर्सिएछ । एक छिनपछि तल झरेर बा हजुरआमालाई हेर्दै टोलाएछन् ! हजुरआमा बूढो खोकी खोक्दै कोल्टे फर्किनुभयो तर बिउँझिनुभएन । त्यसपछि बा एउटा झोला बोकेर घरबाट निस्किए ।    
 
रात ढल्किएपछि गाउँबाट निस्किएर बा र फूलमाया केउरानी बजार पुगे । उज्यालो भुइँमा नखसी त्यहाँबाट महेन्द्र राजमार्ग हुँदै उनीहरू पूर्वतिर पैदलै हिँड्न थाले । बाटोमा मोटर फाट्टफुट्ट मात्र चलेका थिए । मुकुन्दे खोला, झरे खोला र बेल्डिया खोला तरेर बेल्डिया बजार पुग्दा बिहानको चार बजेको हुँदो हो । असारको मिर्मिरेमा बजार निदाइ रहेकै थियो तर चिया पसलकी एउटी बज्यै भने बिउँझिसकेकी रहिछिन् । पेटिकोटमाथि गम्सा बाँधेर कुचो लगाउँदै गरेकी बजैले मेरा बा र फूलमायालाई एकाबिहानै राजमार्गमा हिँड्दै आएको देखेर नजिकै गएर हेरिन् । नौलो अनुहार देखेर उनले जिज्ञासा राखिन्— “काँ जान लाउनुभो यति ब्यान्नै ? काँबाट आउनुभो ?”
 
बाले भने— “केउरानीतिरबाट आएका, गाँजापुर जान हिँडेका हौँ ।”
 
“यति ब्यानै त सिख्रौली घाट खुल्दैन, घाम नलाएसम्म बोटेहरू आउँदैनन् । च्या खाने भए पकाइदिम्ला क्यारे !”
 
बाले एकपटक फूलमायाको मुखतिर हेरे अनि बजैतिर हेरेर भने— “हुन्च, पकाउनु ।”
 
बज्यै भित्र पसेर चोलो र धोती लगाएर आइन् । बा र फूलमाया बाहिर उभिइरहेकै थिए । उनी चुलोमा दाउरा सजेर आगो बाल्न थालिन् । सिल्टेको दिउरीमा चियाको पानी बसाल्दै गर्दा बजैले सोधिन्— “के थरी पर्नुभो बाबु ?”
 
बाले भने— “ढकाल”
 
“पहाड घर काँ नि ?”
 
“म्याग्दी ।”
 
“म्याग्दी काँ ?”
 
“ताकुम ।”
 
“कैले झर्नुभो मधेस ?”
 
“बा झर्नुभएको, म त यतै जन्मेको ।”
 
“ए हो र ! अनि नानी ?”
 
“उनी मेरी जहान ।”
 
बजैले फूलमायालाई हेर्दै सोधिन्— “माइती काँ नि नानीको ?”
 
फूलमायाले बालाई पुलुक्क हेरिन्, बाले नै जवाफ दिए— “गाँजापुर ।”
 
“ए ससुराली पो जान लाग्नुभा’को ?”
 
“हजुर ।”
 
“गाँजापुरतिर पनि बाहुनहरू थुप्रै भा छन् रे अचेल त !”
 
“हजुर ।”
 
“च्या त पाक्नै आँटो, चना पनि भुटिदिम् कि ?”
 
“हुन्छ भुटिदिनु न ।”
 
“उसो भए भित्रै बस्नुहोस्, म बना’र ल्याम्चु ।”
 
भित्र खाटको छेउमा एउटा सिमलको काठले बनाएको टेबल थियो । बा भित्र पस्न थाले, फूलमायाले धक मानिन् । बाले फूलमायाको हात समाएर तान्दै भित्र लगे । धकाउँदै–धकाउँदै फूलमाया भित्र पसिन् । 
 
चिया र चनाको पाँच रुपैयाँ तिरेर बा र फूलमाया बेल्डियाबाट तल झरे । बेल्डिया बजार आँखा मिच्दै थियो । राजामार्ग तल थारू बस्तीका अल्छी भालेहरू भर्खर बास्दै थिए । नयाँ बाहुन बस्ती हुँदै उनीहरू नारायणीको तीरतिर झरे । कैलाश आश्रमको सालघारीनेर पुग्दा बिहानको घाम जन्मियो । बा र फूलमाया कैलाश आश्रमको महादेव मन्दिरमा गए । कलिलो घाम र महादेवलाई साक्षी राखेर बाले आफ्नो दायाँहातको बूढी र चोरी औँलाले मूर्तिको अबिर च्यापेर फूलमायाको सिउँदो भरिदिए ।
 
त्यसरी मन्दिरमा बिहानै विवाह सम्पन्न गरेर बा र फूलमाया सिख्रौली घाट पुग्दा पनि बोटे आएका थिएनन् । सायद, पहाडतिर मुसलधारे पानी परिरहेको थियो होला ! नारायणीको पानी धमिलो थियो । बा पारि निकुञ्जको सिसौघारीतिर हेरिरहेका थिए, फूलमाया धमिलो पानी हेरेर टोलाइरहेकी थिइन् । एक छिनपछि एउटा हातमा बहना र अर्को हातमा प्लास्टिकको सानो ग्यालिन बोकेर दुईजना बोटेहरू सुनवर्षाको फाँट हुँदै घाट आए । उनीहरू दुवैले कन्धनीमा लगाँैटी घुसारेर सानो फुर्कोले आफ्नो गोप्य अङ्ग छोपेका थिए अनि टाउकोमा सानो गम्सा बाँधेका थिए । उनीरूको शरीरमा त्यसबाहेक अरू कुनै लुगा थिएनन् । घामले डढेर उनीहरूको जिउ भेलीजस्तै कालो भएको थियो । 
 
घाटको ढिकमा बसिरहेका बा र फूलमायालाई हेर्दै केही नबोली ढिकतल झरेर उनीहरू एकआपसमा कुरा गर्न थाले । उनीहरू थारू रहेछन् । जर्किनबाट पानी निकालेर एक–एक गिलास पिए अनि किनारामा घोप्ट्याएर राखिएको डुङ्गा सुल्ट्याएर धकेल्दै लगेर उनीहरूले नारायणीको पानीमा हेले । एकजना डुङ्गामा चढे, अर्काेले एक हातले डुङ्गा समातेर बा र फूलमायातिर हेरेर सोधे— “बाबु नानी पारि जाने हो ?”
 
बा र फूलमाया नाउतिर जाँदै गर्दा एकजना गाइने दाइ पनि छोरो लिएर हयास्ङफस्याङ गर्दै आइपुगे । बोटे दाइहरूले बहना खियाउन थाले स्वार्रस्वार्र, छप्ल्याङ–छप्ल्याङ !
 
माैसम सफा भए पनि दक्षिणतिरको आकाशमा भने कालो बादलका थुम्काहरू देखिएका थिए । पारिको निकुञ्ज र वारिको सुनवर्षा दुवै आकर्षक देखिएका थिए । एक हुल डाङ्ग्रेको बथान निकुञ्जबाट उडेर वारि आँउँदै थिए, बा र फूलमाया भने पारि जाँदैथिए । उनीहरूको मनमा एकसाथ हजार कुरा खेलिरहेका हुदाँ हुन् ! गाइने दाइ नाउमै सारङ्गी निकालेर रेट्न थाले, छोरो पनि सुर मिलाउन थाल्यो— “ए बरै !
 
बगिजाने खोलाजस्तै दुई दिनको चोला
हाँस्दै खेल्दै मुया लाउँदै बाँचे कसो होला !
एउटा फूल बगाएर यै खोलीमा आजै 
बगाइदेऊ फूलसँगै पिर–बेथा दाजै... ।”
 
नारायणी बगिरहेकै थियो, डुङ्गा चलिरहेकै थियो अनि सारङ्गी पनि बजिरहेकै थियो तर बा र फूलमाया केही बोलेका थिएनन् ।
 
पारि पुगेर डुङ्गाबाट उत्रिनेबित्तिकै बोटे दाइतिर हेरेर फूलमाया बोलिन्— “दाजै, घाट कहिले बन्द हुन्छ ?”
 
बर्खामा नारायणी उर्लिएपछि घाट चल्दो रहेनछ, यो कुरा फूलमायालाई पहिले नै थाहा रहेछ । बोटेदाइले भने— “त्यो बीचको मजुवा नडुबेसम्म हामी डुङ्गा चलाउँछ, आज डुब्यो भने भोलिबाट बन्द गर्छ ।”
 
डुङ्गाबाट निस्कँदै गर्दा बानी परेको बाको नाकले थाहा पायो, पारि बोटे दाइहरूले पिएको त पानी नभएर ठर्रा पो रहेछ । बोटे दाइहरूसँग बिदा भएर चारैजना यात्री सिसौघारीको पैदल बाटो हुँदै गाँजापुरतिर लागे । गाँजापुर पुगेपछि गाइने दाइ र उनको छोरा पनि बिदा भएर बाटो लागे । उनीहरू सत्य घटनामा आधारित लोकगाथा गाएर सुनाउँछन्, धेरैलाई रुवाउँछन्, गाउँ घुम्छन्, केही अन्न पात र पैसा बटुल्छन्, धेरैका जीवनका घटनाहरू सुन्छन् र मन छुने घटनालाई सारङ्गीको धुनमा उन्छन् । उनीहरूले मेरा बा र आमाको कहानी पनि थाहा पाएका भए पक्कै गाउँथे !
 
फूलमायाको मीतदाइ गोरे तामाङको घरमा बस्ने योजना थियो । बा फूलमायाको पछिपछि गोरे तामाङको घरतिर लागे । फूलमायाकी मीतभाउजू सुत्केरी भएर माइत गएकी रहिछन् । जेठी छोरी जुना दस वर्षकी भएपछि मात्रै उनीहरूको दोस्रो सन्तान भएको रहेछ । बर्खे बिदा भएकाले जुना पनि मामाघर गएकी रहिछ । घरमा गोरे तामाङ एक्लै थिए । मीतबहिनीलाई कुनै अपरिचित मान्छेसँग देखेर गोरे तामाङ छक्क परे तर उनले केही सोधेनन्, किनकि फूलमायाको सिउँदो बोलिरहेको थियो । गोरे तामाङले बातिर हेरेर भने— “लु तँ चिन्ता नगर् ज्वाइँ, तेरो मीतदाइ छँदै छ नि !”
गोरे तामाङको कुराले बालाई ठूलो राहत मिल्यो । 
 
दिउँसो त्यो दक्षिणी आकाशको कालो बादल बर्खे झरी बोकेर आयो । खाना खाएर खाटमा पल्टिएका बा, झरीको आवाजले उठे । एकाएक दिउँसै अँध्यारो भएर आयो । पानी बढ्दै जान थाल्यो । हेर्दाहेर्दै झरी मुसलधारे वर्षा बन्यो । साँझपख वर्षा सिमसिम झरीमा परिणत भयो तर रोकिएन । सायद, त्यो सातदिने झरी थियो !
 
खाना खाएर राति बा र फूलमाया फट्टाले बारेको सानो कोठामा रहेको एउटा सिमलको खाटमा बिस्तरा लगाएर पल्टिए । बाहिर झरी झरिरहेकै थियो, गाँजापुरमा बिजुली बलेको थिएन, त्यसो त बाको गाउँमा पनि थिएन । ढिब्रीको उज्यालोमा बाको छातीमा टाउको राखेर फूलमाया पल्टिरहेकी थिइन्, बा सिरानीमाथि पनि हातको सिरानी बिछ्याएर कतै टोलाइरहेका थिए । बाहिर पानी दर्किरहेकै थियो ।
 
बर्खे झरीसँगै खेत जोत्ने, मकै भाँच्ने र धान रोप्ने कामको चटारो सुरु हुनेवाला थियो । मानो रोपेर मुरी फलाउने त्यो समयमा बाको घरमा गोरु नार्ने कुनै मर्द थिएन । बिचरा ! तीन पुस्ताका तीन निरीह महिलाले के गर्लान्, कसरी हातमुख जोर्लान् ?
 
बिहान घरमा बालाई नदेख्दा आमाले के गर्लिन्, कहाँ खोज्लिन् ? हजुरआमा पनि भौतारिनुहोला ! दिदी पनि बा, बा भन्लिन् ! उठ्नेबित्तिकै बाले पिएको चियाको थिउरो खान खोज्लिन् ! बालाई नदेख्दा रोलिन् पनि । अर्काे दिन पक्कै बा र फूलमाया भागेको हल्ला गाउँभरि फैलिनेछ । बेल्डियामा चिया पिलाएकी बज्यैले पनि साँचो कुरा थाहा पाउने छिन् । गाउँमा पक्कै खबर पुग्नेछ ।” होमेले कमिनी भगायो” भनेर गाउँलेहरू ढोल पिट्न थाल्नेछन् । बाको नाम लिएर बाहुनहरू थुक्नेछन् । त्यो सबै सुन्दा र देख्दा आमाको मनमा के बित्ला ! हजुरआमालाई दमको बिमार छ, त्यहाँमाथि त्यस्तो खबरले उहाँको के हविगत होला ! भक्कानिएर मूर्छा नै पर्नुहोला । आमा र हजुरआमाले त मुटुमा ढुङ्गा राखेर जसोतसो मन बुझाउलान् तर छोरी त नाबालक छिन््, कसरी बुझ्लिन् ? बा खोई भनेर हजार पटक सोध्लिन् ! गोठका हलगोरुले पनि आफ्नो हली खोज्लान् ! खेतले पनि खोज्ला ! आकाशमा कालो बादल मडारिए जसरी नै बाको मनमा यस्तै कुराहरू मडारिइरहे । एक्कासि बादल मडारिएपछि मुसलधारे पानी परेजस्तै बाको आँखाबाट पनि आँसु बर्सिन थाल्यो । बा त्यो रातभरि नै रोइरहे, फूलमाया पनि हाँस्न सकिनन् । 
 
बिहान भयो । न बर्खेझरी थामिएको छ न त घाम नै लाग्न सकेको छ । भिजेको जमिन र बाको मन, दुवै ओभाउने छाँटकाँट देखिएन । दिन बित्यो, रात बित्यो फेरि अर्काे बिहान उदायो तर न झरी रोकियो न त बाको मन नै स्थिर भयो । 
 
गाँजापुरमा रोपाइँ सुरु भयो । गोरे तामाङ बाउसे गर्न मेला गए । फूलमाया चुलोमा आगो फुकेर केही पकाउन लागिन् । बा पिँढीको खाटमा बसेर आकाशबाट परेको पानी हेर्दै टोलाइरहेका थिए । आँगनमा पानीका फोका उठ्दै फुट्दै गरिरहेका थिए, बालाई पनि पानीको फोकाजसरी नै प्वाट्ट फुटूँ लाग्यो तर फूलमाया र उनको पेटको कोपिलालाई सम्झेर त्यो सोच मनबाटै हटाए । जिन्दगी त्याग्न पनि कहाँ सजिलो रहेछ र ! बा दिदीलाई सम्झिएर झस्किए । सायद, साउँको भन्दा ब्याजको माया बढी भनेको त्यही होला ! फूलमायाको गर्भको बच्चाले र दिदीको मायाले बालाई रोक्यो नत्र बा नारायणीका माछाको चारो बनिसक्थे । बिस्तारै बाको मनमा आमा, हजुरआमा, स्वामीको चौतारो, चुवाडी, बर्सेनि गर्भवती भइरहने खेत, सिसौघारी, सिँगाने घोल, बौलाहा खोलो सबै आउन थाले । जे–जे उनको जीवनसँग जोडिएका थिए ती सबै एक–एक गरी आउन थाले अनि सबैले उनलाई बोलाउन थाले । 
 
बाले फेरि समाज, रीतिथिति, परम्परा, धर्म, संस्कार र सामाजिक चालचलन सम्झिए, जुन उनले तोडेर हिँडेका थिए । जातीय विभेदको पर्खाल सम्झिए, जुन उनले भत्काएका थिए । उनको बाँकी जीवनको यात्रा त्यति सजिलो थिएन । खै के सोचेर मान्छेहरुले जिन्दगीलाई दुई दिनको चोला भनेका होलान् ! सायद ती भन्नेहरुले दुःखको पहाड उठाएर कहिल्यै हिंडेनन् होला, व्यथाको भेलमा कहिल्यै बगेनन् होला, पीडाको भूमरीमा कहिल्यै डुबेनन् हाृला, झरीसंगै आँसु भएर कहिल्यै खसेनन् होला, बाले कुनै पाइलामा पनि सहजता देखेनन् । उनी खरको बलेसीबाट खसिरहेको पानीलाई हेर्छन् अनि घर सम्झिन्छन्, फेरि फूलमायालाई हेर्छन्, उनको गर्भको बच्चा सम्झिन्छन् । दिदी सम्झिन्छन्, आमा सम्झिन्छन्, हजुरआमा सम्झिन्छन् अनि आँसु झार्न थाल्छन् । 
 
एक हप्तापछि झरी थामियो । गोरे तामाङ पनि घरै थिए । घाम भने लागेको थिएन, आकाशको कालो बादल पनि हटेको थिएन । साँझ पर्न लागेको थियो । बा र गोरे तामाङ जङ्गल नजिकैको पानी भर्ने कुवादेखि थोरै मास्तिर सालको रूखमुनि सालकै ठुटोमा बसिरहेका थिए । खल्तीबाट बाँसको चिलिम निकालेर बाले जिम्वाल हजुरबालेजस्तै भुसा सल्काएर धुवाँ पुत्ताए । एकछिन त के तान्दै छ भनेर गोरे तामाङले चालै पाएनन् । चाल पाएपछि भने बातिर हेर्दै बोले— “लु, ज्वाइँ तैँले भाङ पनि खान्छस् ? यो राम्रो भएना है, नुखा यस्तो कुरो, बरु छ्याङ खा न ज्वाइँ, तुँलाई ठीक गर्छ ।”
बाले कुनै प्रतिकृया दिएनन्, तानिरहे । गोरे तामाङले फेरि भने— “घरकै जाँड हो ज्वाइँ, खान्छस् ? पार्दिम ?”
 
बा फेरि पनि केही बोलेनन् । एक छिनपछि फेरि गोरे तमाङ नै बोले— “लु नुखाने भा नुखा तर यो पनि नुखा ज्वाइँ, मुनको पीडा यसले ठीक गर्दैन । तेरो दुःख म बुझ्छु तर दुःख फाल्ने अरू थोक पनि छ ।”
 
बा टोलाइरहेका थिए, केही बोलेका थिएनन् । एक छिनमा पानी पर्न थाल्यो, फेरि पनि गोरे तामाङ नै बोले— “लु लु पानी पो प¥यो त, हिँड् जाऊँ ज्वाइँ ।”
 
त्यतिबेला भने बा बोले— “दाइ हजुर जानुहोस्, म पछि आउचु ।”
 
सायद, गोरे तामाङले मेरा बाको हाल बुझे, उनी जान तयार भए र जाँदाजाँदै भने— “ज्वाइँ, खाँट्टी घरै पालेको भाले छ, तैँले खान्छस् भने मारिदिन्छु ।”
बाले केही जवाफ फर्काएनन् तर गोरे तामाङ केही बुझेझैँ गरी मुन्टो हल्लाउँदै हिँडे । अलि पर पुगेर उनले फेरि भने— “आइहाल् है ज्वाइँ, धेरै रुझे बिरामी हुन्छ ।”
 
गोरे तामाङ गए तर पानी गएन । बाको मन त पहिले नै भिजिरहेकै थियो, त्यो पानीले ओभानो तन पनि भिजायो । चिलिममा बचेको भुसाको आगो पनि निभ्यो । सालका पातहरू पानीलाई गाली गर्न थाले । पानी बग्न थाल्यो तर बाको मनको पिर बगाएन । बा भिजिरहे, सोचिरहे । अँध्यारो हुन लागिसक्दा पनि नफर्किएपछि भोर्लाको पातले सापेर बनाएको सेखु ओढेर फूलमाया बालाई लिन पुगिन् । बा सोचाइकै तन्द्रामा हराइरहेका थिए ।
 
चुलामा भालेको मासु र भात पाकेको रहेछ । बा जैसी बाहुनका छोरा, उनले कुखुराको मासु कहिल्यै खाएका थिएनन् । फूलमायाले भनिन्— “दाइले जिद्दी गर्नुभो, मैले त हजुरलाई चल्दैन भनेकी थेँ ।”
 
बाले के सोचे कुन्नि “खाना पस्क, म खान्छु” भने । बाको कुरा सुनेर फलमायाले आश्चार्यभावमा हेरिन् तर केही भनिनन् । उनले गोरे तामाङ र बाका लागि भालेको मासु र भात पस्किइन् । 
 
घरधन्दा सकिएपछि फूलमाया कोठामा गएर तन्ना मिलाउँदै थिइन्, बा पनि कोठामा पसे । बाहिर झरी थामिएको थियो । बाले खाटको छेउमा उभिएर तन्ना मिलाउँदै गरेकी फूलमायातिर हेर्दै भने— “भोलि गाउँ फर्किंने हो, कपडा मिलाइराखे ।”
 
बाको कुरा सुनेर फूलमाया टक्क रोकिइन् अनि बाको आँखामा हेरिन् । उनी बाको नजिकै गइन् र बालाई खाटमा बसाइन् अनि आफू पनि बाकै छेउमा बसेर भनिन्— “गाउँ फर्किंदा हामीलाई मार्दैनन् र ?”
 
बाको अनुहार गम्भीर तर शान्त देखिएको थियो । मानौँ, हजारौँ ज्वारभाटा र सुनामीलाई आफूभित्रै लुकाएर शान्त छ समुन्द्र । बाले भने— “म त्यै गाउँमा जन्मिएँ, हुर्किएँ । तँ पनि त्यहीँ जन्मिस्, हुर्किस् । जस्ता भा पनि तिनै गाउँलेहरूसँग यत्रो जिन्दगी बित्यो । त्यै कुवा र चुवाडीको पानी पियौँ, त्यही मुरीफाँटको अन्नले पेट भर्याैँ। त्यो बाल्खादेखि नै खेलेको सिसौघारी, पहाडी जङ्गल, बौलाहा खोलो, चौतारो र आफ्ना आफन्ती ती सबैलाई चटक्कै माया मार्नु भनेको मर्नुसरह नै त हो । मारेछन् भने पनि तिनीहरूकै काखमा मरौँला !
 
हामी मर्दा कोही नरोए पनि ती खोला, जङ्गल र फाँटहरू रुनेछन् । हाम्रो मलामी कोही नगए पनि, बाल्खादेखि नै हामी हिँडेको बाटेले हामीलाई बोकेर मसान घाटसम्म लैजानेछ, हाम्रो चिता तिनै हामीले खेलेका बौलाहा खोलाका ढुङ्गाहरूले सजाउनेछन् । सिसौघारीका सिसौका दाउरा र पहाडी वनका सालका मुढा आफैँ आएर हाम्रो चिता बन्नेछन् अनि नाकेडाँडोबाट बिहानै झुल्किने घामले आगो लगाएर दागबत्ती दिनेछ । जाऊँ फूलमाया, आफ्नै गाउँ जाऊँ । मलाई अन्त कतै गएर बस्न सकुलाँजस्तो नै लाग्दैन ।”
 
बोल्दाबोल्दै बाका आँखाको तलाउ भरिएर गालामा बग्न थाल्यो । फूलमायाले गालामा बगेको तातो आँसुलाई पुछिदिइन् अनि भुइँतिर निहुरी रहेका बाको चिउडोलाई उठाएर आँखामा हेरेर बिस्तारै सोधिन्— “हजुरलाई छोरीको याद आयो हो ?”
 
फूलमायाको मनमा कति निश्चल माया रहेछ, उनको गर्भको त्यो अबोध बच्चाजस्तै । मायामा पग्लिएर दुवै एकसाथ बग्न थाले त्यो नारायणी बगेजसरी नै । 
 
भोलिपल्ट गोरे तामाङ घाटसम्म छोड्न आए । वारि मान्छे देखेर पारिको डुङ्गा आयो । बा र फूलमाया डुङ्गा चढ्ने बेलामा गोरे तामाङले भने— “लु ज्वाइँ, पछि उता दुःख भयो भने मीतदाइ सम्झेर यतै आएस् !”
 
बाले मुन्टो हल्लाएर ‘हुन्छ’ को इशारा मात्र गरे, उनी केही बोल्न सकेनन् । फूलमायाले हात जोडेर बिदा मागिन् । बोटेदाइहरू डुङ्गा खियाउन थाले । गोरे तामाङ डुङ्गा पारि पुग्दासम्म हेरिरहेका थिए । 
 
हप्तादिनको झरीले नारायणी निकै ठूलो भइसकेकोे थियो । बीचको मजुवा लगभग डुबिसकेको थियो, मजुवामा उम्रिएको सिरु मात्र देखिएको थियो । त्यो सिरुघारी पानीमै उम्रिएर खडा भएजस्तो देखएको थियो । बीचतिर पुगेपछि अगाडिपटिका बोटेदाइले भने— “तपाईंहरू आज आयो डौले भयो, भोलिबाट त हामी घाट बन्द गर्छ, मजुवा डुबिसको ।”
 
त्यसपछि पछाडिका बोटेदाइ बोले— “आन्दिने से, खेत जोते जाए के बडै रे भाटु ।”
 
उनीहरू सालाभेना रहेछन्, भेनाले भने— “आन्दिने मो त नाइँ जेबंही, मोधारी कर्बहीँ ।”
 
डुङ्गा सिख्रौलीको घाटदेखि थोरै तल पुग्यो । नारायणी ठूलो भएको हुनाले डुङ्गा तल उत्रिएको थियो । ती थारू बोटेदाइसँग छुट्टिएर बा र फूलमाया कैलाश आश्रमको बाटो हुँदै बेल्डियातिर लागे । 
 
राजमार्गमा फाट्टफुट्ट सवारीहरू चलिरहेका थिए । चिया बेच्ने बजै चुलामै व्यस्त देखिन्थिन् । बा र फूलमाया पैदल हिँड्दै बेल्डिया खोला भन्दा थोरै पश्चिम पुगेका थिए, पछाडिबाट नीलो साझा बस आउँदै गरेको देखियो । बाले हात हल्लाएर बस रोके । खलासीले सोध्यो— “काँ पुग्ने दाइ ?”
 
बाले भने— “यैँ नजिकै केउरानी हो, लैदिनु न है, हिन्न गाह्रो भयो ।”
 
खलासीले भन्यो— “यो साझा बस हो, सप्पैका लागि, ल आउनुहोस् ।”
 
साँझ पर्न लागे पनि असारे घाम चहकिलै थियो । बा र फूलमाया सिँगाने घोल नजिक पुगेका थिए । पर खेतमा काम गरिरहेका पर्मालुहरू हत्केलाको छाता पार्दै कामै छोडेर बा र फूलमायालाई हेर्न थाले । उनीहरू गाउँ जाँदै गरेको देखेर माथि ढिकबाट कोही गाउँतिर फर्किएर हात हल्लाई–हल्लाई केही भनिरहेको देखिन्छ । उसले भनेको कुरा बा र फूलमायाले सुनेनन् । बा र फूलमायाले सिँगाने घोल पार गरिसकेका थिए, त्यतिबेलासम्ममा ढिकको तल, विकटोल जाने बाटोको ठीक माथि मान्छेहरूको भिड लागिसकेको थियो । बा र फूलमाया पाइला अगाडि बढाइरहेका थिए, भिड बढ्दै गइरहेको थियो । बा र फूलमाया ढिकतलको विकटोल जाने बाटोमा पुग्दा भिड ठूलो भइसकेकोे थियो । केटाकेटीदेखि बूढाबूढीसम्म गाउँका धेरै मान्छेहरू जम्मा भएका थिए । केटाकेटीहरू हाँसीमजाक गरिरहेका थिए भने पाकाहरू खासखुस, गुनगुन गरिरहेका थिए । 
 
जम्मा भएका सबैको आँखा बा र फूलमायातिरै थियो । बाले एकपटक सबैलाई सर्रर हेरे । त्यो भिडका आँखाहरूले भिन्न–भिन्न भाव बोकेर उनीहरूलाई नै हेरिरहेका थिए । साना केटाकेटीका आँखाहरू निर्दोष भावले हेरिरहेका थिए, जसरी उनीहरू अरू दुलाहादुलहीलाई हेर्ने गर्थे । सायद, तिनीहरू बाजा, जन्ती, र भतेर कता होला भनेर सोच्न थाले हुन् । अर्काथरी आँखाहरू हीनभावले हेरिरहेका थिए । केही आँखाहरू खुसी पनि व्यक्त गरिरहेका थिए, जो बाको काम, इज्जत र चर्चाले पहिले जल्ने गर्थे । ढिकमा उभिएर उनीहरूका आँखा मज्जा लुटिरहेका थिए । त्यतिबेला बाले त्यो उमेरसम्म कमाएको इज्जत, प्रतिष्ठा र चर्चाको सामाजिक दाहसंस्कार भएको थियो । 
 
त्यहाँ अर्काथरी आँखाहरू क्रोधित भावले हेरिरहेका थिए, ती तिनीहरूका आँखा थिए, जसले धर्म र संस्कारको पगरी गुथेर हैकम चलाएका थिए । सामाजिक कुरीतिलाई कायम राखेका थिए, जातीयताको आधारमा सामाजिक स्तर कायम गरेका थिए र तल्लो जातकालाई दास बनाएका थिए । जानी–नजानी बाले उनीहरूको आडम्बरमा ठेस पुर्याए । उनीहरुको गाँसमा ढुङ्गो लाग्यो, त्यसैले क्रोधित भएका थिए । त्यहाँ अर्काथरी आँखाहरू पनि थिए जो नितान्त मनोरञ्जन मात्र लिइरहेका थिए । तिनीहरूलाई केही दिनका लागि नयाँ खुराक मिल्यो ।
 
भिडमा गाइँगुइँ हल्ला चलिरहेको थियो तर कसैले स्पष्ट रूपमा केही भनेको थिएन । बा र फूलमाया बाटोबाट पश्चिम मोडिनै लागेका थिए, त्यो भिडको पछाडिबाट कसैले जोडले चिल्लायो— “आयो, कमिनीको पोइ !”
 
त्यो आवाज घनश्याम कामीको घरमा रक्सी खाने जैसी बाहुनको थियो । सबैजना जोडजोडले हाँस्न थाले । केही नबोली बाले केही पाइला अगाडि बडाए । अर्को कसैले भन्यो— “थुक्क, डाङ्ग्रे !”
 
आधा भिडले बालाई थुक्यो तर बा केही बोलेनन् । थोरै अगाडि पुगेपछि महिलाको आवाज आयो— “त्यस्ती राम्री स्वास्नी र छोरीलाई बितारा पारेर कमिनी भगाउने, मर्न नसकेको असती टुहुरो, थुक्क !”
 
अर्को आवाज आयो— “यो आरनेकी छोरीले मोहनी लाएकी हो, यसका जगल्टा त आज मै लुछ्ने हो ।”
 
बा र फूलमाया कुनै ठूलो अपराधीजस्तो शीर झुकाइरहे । भिड झनै आक्रोशित हुन थाल्यो । जोडजोडले आवाजहरू आउन थाले— “यी अपराधीहरूलाई त चारपाटा मुडेर राजमार्ग कटाउनुपर्च ।”
 
“ढुङ्गैढुङ्गाले हानेर मार्नुपर्च यस्ता पापीहरूलाई त !”
 
“बाहुन जातिको इज्जत माटोमै फाल्यो, यो बिध्वैको छोरोले ।”
 
“कालो मोसो दलेर गाउँ निकाला गर्नुपर्च, हाम्रा केराल्टी बिग्रिन्चन् नत्र ।”
 
“लाज पनि नभ’र गाउँ आइच्चन्, मुर्दार–मुर्दार्नी ।”
 
बा केही बोलेका थिएनन्, भिड झनै आक्रोशित हुँदै गइरहेको थियो । पछाडिबाट कसैले माटोको चपरी उठाएर बाको टाउकोमा हान्यो । आफ्नो टाउको छाम्दै बाले फूलमायालाई समाते । फेरि अर्काे चपरी आएर बाको ढाडमा लाग्यो । फूलमाया आत्तिएर बाको छातीमा टाँसिइन् । बाले फूलमायाको टाउकोलाई आफ्नो चिउँडो तल लुकाए अनि उनलाई छातीमा च्याप्प टाँसे । फेरि कसैले ढुङ्गाले हान्यो, त्यो ढुङ्गो आएर बाको खुट्टामा बजारियो । बाले के सोचे कुन्नि ! फूलमायालाई आफ्नो छातीमा जोडले टाँसेर आफ्नो आँखा बन्द गरे । सायद, उनले आफूलाई भिडको आक्रोशमा सुम्पिदिए ! उनीमाथि माटोको चपरी र ढुङ्गा बर्सिने क्रम जारी थियो ।
 
अचानक सबै रोकिए, भिड पनि शान्त भयो । बाले बिस्तारै आँखा उघारे । भिडको अगाडि जिम्वाल हजुरबा उभिएर बालाई हेरिरहेका थिए । जिम्वाल हजुरबाका आँखा शान्त थिए । केही निमेष बा र फूलमायातिर आँखा पुर्याएपछि जिम्वाल हजुरबा भिडतिर फर्किएर बोले— “यसको फैसला कचहरीमा हुन्छ, अहिले तपाईंहरू सप्पै जानुहोस् ।”
 
जिम्वाल हजुरबाको कुरा सुनेर भिड ढिक उक्लिन थाल्यो । जिम्वाल हजुरबा पनि केही नबोली भिडको पछिपछि उकालो लागे । ढिकमा पुगेर जिम्वाल हजुरबाले एकपटक फर्किएर बा र फूलमायातिर हेरे अनि स्वामीको चौतारातिर लागे ।
 
साँझ आरने कामीको घरमा बिक टोलका मान्छेहरूको आवतजावत चलिरहेको थियो । कोही आएर “लौ ज्वाइँ नारन !” भन्दै बालाई ढोगिरहेका थिए । कसैले फूलमायालाई चुरापोते ल्याइदिएका थिए । भुराभुरीबाहेक त्यहाँ कसैको अनुहारमा हाँसो थिएन, न त क्रोध नै । थियो त केवल दुःख भाव, भय र आशङ्का । युगदेखि दलितकै रूपमा दलिएर आएका बिकहरूले आफ्नो अगाडि घटिरहेको त्यो घटनालाई सायद, आमन्त्रित कुनै दुर्घटनाको रूपमा लिएका थिए । बा मौन थिए, फूलमाया खासै बोलिरहेकी थिइनन्, दुवै गम्भीर थिए । त्यो रात फूलमाया र बालाई खाने र बस्ने व्यवस्था लुरे कामीको घरमा मिलाइएको थियो । 
 
दुईचार गाँस खाना खाएर बा कोठामा गएर सिरानी ठाडो पारेर अडेस लाग्दै के–के सोच्न थाले । केही बेरपछि पानीको अम्खरा बोकेर फूलमाया पनि पुगिन् । बा मौन भएर नै फूलमायालाई हेरिरहेका थिए । सायद, उनी त्यो गर्भको बच्चाका बारेमा सोचिरहेका थिए । फूलमाया नाडीका चुरा फुकाल्दै बेलाबेलामा पुलुक्क बालाई हेरिरहेकी थिइन् । त्यतिखेरै माथि ढिकबाट ऋषिङे चौकिदारको ठूलो आवाज आयो— “ल है, सबैले सुन्नुहोला ! भोलि बेलुका आठ बजे स्वामीको चौतारामा कचरी बस्दैछ । सबैजना हाजिर हुनुहोला ! ल है, सबैले सुन्नुहोला... !”
 
चौकिदारको आवाज मधुरो हुँदानहुँदै फूलमायाका आँखा पिलपिल गर्न थाले । बातिर हेरेरे उनले रुँदै भनिन्— “यो सब मेरै गल्तीले भा’को हो । त्यो दिन म बुडीफाँटको साटो माथिको जङ्गलाँ गाकी भा, यो दिन त आउने थेन । मेरा कारणले हजुरको यत्रो बदनामी भो, उता दिदीलाई कस्तो भा होला ? हे ! भागवान्, मलाई मर्न पनि दिएनौ ! हजुरले त्यतिबेला मलाई नरोकेको भए हुन्थ्यो ।”
 
रोइरहेकी फूलमायाको हात समातेर बाले भने— “जे भयो, त्यो भैगयो । अब तेरो र मेरो दुःखसुख एउटै हो । कचरीले जे भन्ला तै गरम्ला ! मैले जे गरेँ त्यसको मलाई कुनै पछुतो छैन, अब पछुतो गरेर पनि केही हुँदैन । भगवान्ले मलाई सजाय दिऊन्, सकुन्तलाकी आमालाई मैले विधुवाजस्तै बनाएँ । बाउ भएर पनि सकुन्तला टुहुरीजस्तै हुने भै ।
 
बुढेसकालाँ आमाको आँसु पुछ्ने छोरो साथमा नरहने भयो, यसको सजाय भगवान्ले मलाई दिउन् ! म भोग्न तयार छु । फूलमाया, जे भयो भैसक्यो मलाई कुनै पछुतो छैन । मलाई तेरो जिन्दगीको मात्र पिर होइन, तेरो गर्भमा रहेको हाम्रो सन्तान जसलाई भगवान्ले धर्तीमा आउने अनुमति दिसकेका छन्, यसलाई म कसरी मार्न सक्छु ? यसले पनि यो धर्तीमा आँखा खोलेर भगवान्ले दिएको अमूल्य जिन्दगी जिउन पाउनुपर्च । जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् । बाहुन समाजले पचाउन नसकेको यही एउटा कुरा न हो । दुइटी स्वास्नी कामीहरूले पनि ल्याएका चन्, पोइला पनि ग’का चन् तर आफ्नै जातमा । फरक यत्ति न हो, तँ बाहुनसँग आइस् ।”
 
फूलमायाले बाको कुरा सुनिरहिन् तर केही बोलिनन् । धेरै बेरसम्म बाले फूलमायालाई सम्झाइरहे । त्यो रात निन्द्रादेवी पनि उनीहरूको कोठामा प्रवेश गर्न सकिनन् ।
 
-बुलबुल पब्लिकेशनद्वारा प्रकाशित उपन्यास एक सर्काे मायाकाे अंश । जीएस पाैडेलद्वारा  लिखित याे उपन्यास शनिबार काठमाडाैंमा एक कार्यक्रमका बीच विमाेचन हुँदैछ ।
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया