MENU

बातावरण-कृषि

ujyaalo forign call inside

मौरी पालेरै वार्षिक १४ लाख आम्दानी – ‘पैसा कमाउन विदेश जानु पर्दैन’

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, वैशाख १३ – बार्दली हालेको घर । वरिपरि मौरीका घारको चाङ । मुढे घारदेखि आधुनिक घारमा मौरीपालन । गाईभैँसीको गोठका झ्याल र बारीको डिलमा मौरीका घारको लस्कर । बेला बेलामा मौरीको हेरचाह । बिहानदेखि बेलुकासम्म मौरी र घारको रेखदेख । समय–समयमा मौरी छुट्याउने काम । अहिले यस्तैयस्तै काममा व्यस्त हुनुहुन्छ, म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्री । 

वैदेशिक रोजगारीबाट घर फर्किएर व्यवसायिक मौरीपालन सुरु गर्नुभएका उहाँले वार्षिक १४ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । 

स्वदेशमा केही काम पाइएन भन्दै विदेश पुगेका उहाँ त्यहाँ पनि सोचेजस्तो कमाई नभएपछि गाउँ फर्किनुभएको हो । गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट खत्रीले मौरी, मह, पोला र मौरीघार बिक्री गर्नुहुन्छ । त्यसबाट उहाँले वर्षमा १३र१४ लाख रुपैयाँ आम्दानी गर्दै आइरहनुभएको छ । 

इराकमा ७ वर्ष, साउदी अरबमा ४ र भारतमा साढे दुई वर्ष गरी झण्डै १४ वर्षको समय विदेशमा बिताएर फर्किनुभएका खत्री अहिले गाउँमै मौरीपालन व्यवसायमा रमाउनुभएको छ ।

उहाँले विदेशबाट फर्किएको चार–पाँच महिनाको अन्तरालमै सुरुमा ३ ओटा मौरीका घारबाट मौरीपालन व्यवसाय सुरु गर्नुभएको थियो । अहिले ८७ ओटा घारमा मौरीपालन गरेर मह उत्पादन भैरहेको खत्रीले बताउनुभयो । 

मौरीपालन व्यवसायमा जिल्लाकै अगुवा कृषक समेत बन्नुभएका खत्रीले चालु वर्षको फागुन चैतमा मात्रै झण्डै तीन क्विन्टल मह उत्पादन भएको दावी गर्नुभयो । उहाँले २५० केजीभन्दा बढी मह बिक्री गरेको जानकारी दिनुभयो । उहाँले घरबाटै प्रतिकेजी एकहजार पाँचसय रुपैयाँको दरमा मह बिक्री गर्दै आउनुभएको छ ।

मौरीसहितको एउटा घारलाई ८ हजार रुपैयाँ मूल्य पर्ने उहाँ बताउनुहुन्छ । खत्रीले हरेक वर्षको जेठ, कात्तिक र फागुन महिनामा मह काढ्ने गर्नुभएको छ । गाउँघरमा कात्तिक महिनाको मह राम्रो मान्ने गरिएको छ । उहाँले मह बिक्री गरेर एक सिजनमा मात्रै चार–पाँच लाख रुपैयाँ कमाउनुहुन्छ ।

मौसम अनुकूल भएमा र मौरीले राम्रोसँग मह उत्पादन गरेको खण्डमा मह बिक्री गरेरै वर्षमा १४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले ठोकुवा गर्नुभयो ।

विगत ४ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका कृषक खत्रीले वर्षमा न्यूनतम आठ–दश लाख रुपैयाँ मौरीबाटै आम्दानी हुनेहुँदा बर्सेनि पाँचलाख रुपैयाँ बचत गर्ने गरेको बताउनुभयो । उहाँले जिल्लाको भकिम्ली, राखु, पाँकु, कोत्राबाङ, पैयुँपाटालगायत ठाउँमा मौरीसहितका घारहरु बेच्नुहुन्छ । उहाँ हरेक वर्षको कात्तिक, मंसिर र फागुनदेखि जेठ महिनासम्म विशेष गरी मौरीको हेरचाह गरेर घरमै बस्नुहुन्छ । यो समयमा उहाँले मौरी छुट्याउने, घार सार्ने, रानो उत्पादन र मौरी हेर्ने जस्ता कामहरु गर्दै आउनुभएको छ । 

मह किन्न न्यायाधीशदेखि सर्वसाधारणसम्मः

खत्रीको घरमा मह खरीद गर्न भनेर जिल्लाबाट न्यायाधीश, सिडिओ र सेनाका मेजरसहित उच्च सरकारी अधिकारीहरु पुग्ने गरेका छन् । उहाँले घरबाटै प्रतिकेजी एक हजार पाँच सय रुपैयाँको दरमा मह बिक्री गरिरहनुभएको छ । उहाँ घरमा पुग्ने जो कोहीलाई पनि मह चखाएर मात्र पठाउनुहुन्छ । 

मह उत्पादन गर्नसके बजारको समस्या नभएको बताउँदै खत्रीले मह उत्पादन हुनुभन्दा पहिला नै फोन गरेर ग्राहकहरुले महको अर्डर गर्ने गरेको बताउनुभयो । 

कुहुँमा उत्पादित मह विदेशसम्मः

म्याग्दीको कुहुँ गाउँमा उत्पादित मह म्याग्दीसहित विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ भने विदेशमा समेत पुग्ने गरेको छ । कुहुँका कृषक खत्रीले उत्पादन गरेको मह जापान, अस्टे«लिया, अमेरिकासहित विभिन्न देशमा पुगेको छ ।

रोजगारीको सिलसिलामा विदेश पुग्ने, अध्ययन गर्न जाने विद्यार्थी र घुम्न जाने नेपालीहरुले मह खरिद गरेर लैजाने गरेको उहाँले बताउनुभयो । विदेशमा रहेकाहरुलाई उनीहरुका आफन्तहरुले कोसेलीका रुपमा मह किनेर पठाउने गरेका छन् ।

वार्षिक १४ लाखसम्म आम्दानी

व्यवसायिक मौरीपालन गर्नुभएका कृषक खत्रीले वर्षमा १४ लाख रुपैयाँसम्म मह बिक्री गरेरै आम्दानी गरेको अनुभव सुनाउनुभयो । उहाँले समय राम्रो परेमा, मौसमले साथ दिएमा कुनै रोग किरा नलागेको खण्डमा महको उत्पादन बढ्ने हुँदा आम्दानी पनि राम्रै हुने गरेको जानकारी दिनुभयो । 

कृषक खत्रीले सामान्यतयाः वर्षमा महबाटै न्युनतम आठदश लाख रुपैयाँ आम्दानी गर्ने र चार–पाँचलाख रुपैयाँ बचाउने गरेको बताउनुहुन्छ । 

मह र मौरीघार बिक्रीबाट आएको आम्दानीले उहाँले मोटरसाइकल किन्नुभएको छ । अन्य आम्दानी घरखर्च, बचत तथा छोराछोरीको पढाइमा लगानी गरेको बताउने उहाँले गाउँमा मौरीपालनबारे अरुलाई प्रशिक्षण दिने र सीप सिकाउने काम पनि गर्दै आउनुभएको छ ।

मह स्वास्थ्यका लागि फाइदाजनकः

महलाई स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाजनक मानिन्छ । महको प्रयोगले शरीर तथा मेरुदण्ड दुखेमा, रुघाखोकीलगायत स्वास्थ्य समस्याको समाधान गर्नमा सहयोग पुग्ने जानकारहरु बताउँछन् । धार्मिक हिसाबले पनि महलाई शुद्द मानिन्छ ।

धार्मिक कार्यमा पञ्चामृत बनाउँदा मह नभई नहुने चिज पनि हो । महलाई हरेक हिसाबले राम्रो मानिने हुँदा महको उत्पादन र व्यवसायिक प्रवर्द्धनतर्फ कृषकहरु आकर्षित हुने गरेको पाइएको छ । 

‘पैसा कमाउन विदेशिनु पर्दैन’:

विदेशबाट फर्किएर व्यवसायिक मौरीपालन गरिरहनुभएका कृषक खत्रीले पैसा कमाउनकै लागि विदेश जानुपर्ने बाध्यता नरहेको बताउनुभयो । उहाँ व्यवसायिक रुपमा काम गर्न सकेको खण्डमा विदेशमाभन्दा आफ्नै देशमा धेरै आम्दानी गर्न सकिने बताउनुहुन्छ ।

उहाँले स्वदेशमै पशुपालन, तरकारी खेतीलगायत कृषिको क्षेत्रमा लगानी गरेर व्यवसाय गर्न सके देशको अर्थतन्त्रलाई सघाउने धारणा राख्नुभयो । स्वदेशमा केही पनि काम पाइएन भन्दै बर्सेनि विदेसिने युवाहरुका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । अर्काको देशमा पसिना बगाउनुभन्दा यहीँ केही व्यवसाय गर्ने हो भने विदेशको कमाई आफ्नै गाउँघरमा गर्न सकिने खत्रीसँग अनुभव छ । 

सामाजिक क्षेत्रमा पनि क्रियाशील

व्यवसायिक मौरीपालकका रुपमा चिनिनुभएका खत्री व्यवसायका साथसाथै गाउँको सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँ म्याग्दीकाली केबुल नेटवर्क कुहुँको सञ्चालक, कुहुँ सामुदायिक ग्रामीण विद्युत उपभोक्ता समितिको अध्यक्ष र अँधेरीखोला–घट्टेखोला–रातमाटा सिंचाइ आयोजनाको पनि अध्यक्ष भएर काम गर्दै आइरहनुभएको छ ।

विदेसिने युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न सकिने हौसला दिने खत्रीले व्यापार, व्यवसायको साथसाथै सामाजिक काममा पनि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया