MENU

अर्थ

ujyaalo forign call inside

कमल फूलकाे जरा बेचेरै गाउँपालिकाले कमायो ८० हजार

राजु लामिछाने/उज्यालो।

रुकुम पूर्व, वैशाख १३ – रुकुम पूर्वमा रहेको कमल तालबाट यो सिजनमा सात लाखको कमल फूल बिक्रि भएको छ । करिब डेढ महिनामा सात लाख बराबरको कमल बिक्रि भएको हो ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटमा पर्ने कमल तालबाट गएको फागुन २७ देखि अहिलेसम्म निकालिएको कमलबाट करिब सात लाख बराबरको कारोबार भएको कमल निकाल्न ठेक्का लिएका ठेकेदार दीपक शाहीले जानकारी दिनुभयो । स्थानीयले दैनिक दुई सयदेखि पाँच सयको टिकेट काटेर कमल निकाल्ने गरेका थिए । महिला तथा बालबालिकाले दुई सयको र पुरुषले दैनिक पाँच सयको टिकेट काटेर कमल निकालेर बिक्रि गरेका हुन् ।

कमल फूलको जरा औषधिका लागि उपयोगी हुने भएपछि गाउँपालिकाले कमल पोखरीको कमल फूल ठेक्का लगाएको थियो  । ८० हजारमा गाउँपालिकाले ठेक्कामा लगाएको कमलको फूलबाट ठेकेदारले सात लाखको कारोबार गरेको जनाएका छन् । 

कमल किन्नका लागि मान्छेहरु तालमै आइपुग्ने स्थानीयको भनाई छ । कमल महँगोमा बिक्रि हुने गरेको छ । मूल्यमा भने एकरुपता छैन । सुकाएर चाना बनाइएको कमलको मूल्य तोकिए पनि काँचो कमलको मूल्य भने बेच्ने व्यक्ति अनुसार फरक फरक हुने गरेको छ । 

कुनै नाप तौल नगरी अनुमानका भरमा बिक्रि गर्ने गरिएको ठेकेदार शाहिले बताउनुभयो । पाँच सयभन्दा माथिकै मूल्यमा कमलको मात्रा अनुसार बिक्रि हुने गरेको छ । कमल फूलको चाना बनाएर पनि बिक्रि गरिने गरिएको छ । चाना भने प्रति माना पाँच सयको हाराहारीमा बिक्रि हुने गरेको छ ।

कमलपित्त जण्डिस रोगको लागि अत्यन्त फाइदाजनक मानिएको कमल फूलको जराको माग दिनुहुँ बढिरहेको स्थानीय जनक बिसीले बताउनुभयो । उहाँका अनुसार कमल किन्नका लागि रुकुम पूर्व र रुकुम पश्चिमका साथै अन्य विभिन्न जिल्लाबाट मान्छेहरु रुकुमकोट पुग्ने गरेका छन् । त्यस्तै चिनजानका आधारमा यहाँको कमल विभिन्न ठाउँमा पठाउने गरिएको छ ।  

कमल फूलबाट गाउँपालिकालाई ८० हजार आम्दानी 

गाउँपालिकाले कमलबाट ८० हजार आम्दानी गरेको छ । कमल तालबाट कमल निकाल्नका लागि पहिलो पटक टेण्डर आह्वान गरिएको थियो । सुरुमा डेढ लाखको टेण्डर आह्वान गरिए पनि पछि घटाएर ८० हजारमा गाउँपालिकाले कमल निकाल्ने ठेक्का दिएको थियो । यसअघ स्थानीयले आफूखुशी कमल निकालेर बिक्रि गर्ने गरेका थिए । 

कमल फूल संरक्षणमा टेवा पुग्ने विश्वास

निश्चित समय तोकेर गाउँपालिकाले कमल निकाल्नका लागि टेण्डर आह्वान गरेकाले यो वर्षदेखि कमलको संरक्षणमा टेवा पुग्ने देखिएको छ । यो भन्दा अगाडि स्थानीयले आफूखुशी मनलाग्दो तरिकाले फूल खेल्ने समय भैसक्दा पनि कमल निकाल्ने गर्थे । तर यो पटक भने गाउँपालिकाले कमल निकाल्न निश्चित समय तोकेको छ । गएको फागुन २७ गतेबाट कमल ताल फुकुवा गरिएकामा वैशाख १० गते बन्द भएको छ । यसले गर्दा अर्को सिजनदेखि कमल थप बढ्ने अनुमान गरिएको छ ।   

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया