MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

नुवाकोटमा नेपालकै ठूलो सोलार प्लान्टको निर्माण सुरु

नवदीप अजनवी/उज्यालो ।

नुवाकोट, वैशाख १४ –उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ९ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आउँदो १० वर्षमा नेपालमै १० हजार मेगावाट विद्युत आवश्यक पर्ने बताउनु भएको छ ।

मन्त्री पुनले शुक्रबार नुवाकोटमा रहेको देविघाट जलविद्युत केन्द्र परिसरमा सोलार प्लान्टको शिलान्यास गर्दै आर्थिक वृद्धिदर बढाउनको लागि ठूला उद्योग स्थापना गर्नु पर्ने र त्यसको लागि विद्युतमा आत्मनिर्भर हुनु पर्ने बताउनुभयो ।

उहाँले देशको मागलाई धान्न सक्ने र विद्युत खपत हुने क्षेत्र विस्तार गर्न सकेमा मुलुकले व्यापार घाटालाई सन्तुलनमा ल्याउने समेत बताउनुभयो । ‘विद्युत धेरै खपत हुने उद्योगहरुको स्थापना गर्ने, खाना बनाउनेदेखि यातायात समेत विद्युतबाट सञ्चालन गर्ने वातावरण बताउने छौ’ उहाँले भन्नुभयो, ‘ग्यास, डिजेल, पेट्रोल र विद्युत आयातको लागि विदेसिने एक खर्ब भन्दा बढी रकम नेपालमै रहन्छ । यसले थोरै भए पनि व्यापार घाटा कम गराउँछ ।’

मन्त्री पुनले आउँदा दिनमा सरकारले जलाशययुक्त आयोजनाहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत जानकारी दिनुभयो । उहाँले अर्को वर्षको बर्खाको समयमा देश लगभग विद्युतमा आत्मनिर्भर हुने भएकोले सरकारले धेरै विद्युत खपत गर्ने ठूला उद्योग स्थापनामा जोड दिएको समेत बताउनुभयो ।

मन्त्री पुनले शिलान्यास गरेको २५ मेगावाट क्षमताको ग्रिड सोलार नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको प्राधिकरणका महाप्रबन्धक कूलमान घिसिङ बताउनुभयो ।

सोलार प्यालन सञ्चालनमा आएपछि सोलार प्लान्टबाट दिउँसो उत्पादित विद्युत  सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकोले दिउँसोको समयमा कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी,  चिलिमेजस्ता जलाशययुक्त तथा अर्ध–जलाशययुक्तको  जलविद्युतको पानी सञ्चित गरी बिहान र बेलुकीको समयमा सञ्चालन गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ ।

प्राधिकरणका महाप्रबन्धक घिसिङले कूल उत्पादनको १० देखि १५ प्रतिशत उर्जा सोलार प्लान्टबाट उत्पादन गर्ने योजना बनाउैको बताउनुभयो । उहाँका अनुसार अहिले बन्ने सोलार प्लान्ट पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै सञ्चालन गरी त्यसपछिमात्र प्राधिकरणलाई हस्तान्तरण गर्नेछ ।

प्राधिकरणको स्वामित्वमा रहेका  त्रिशूली र देवीघाट विद्युत केन्द्रको नाममा रहेको  खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

शिलान्यास कार्यक्रममा सहभागी नुवाकोटका सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बहादुरसिंह लामाले आयोजना समयमा सम्पन्न गराउन प्राधिकरणले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँहरुले माथिल्लो त्रिशूली थ्री ए, थ्री बी जस्ता आयोजनाहरुमा भएको ढिलाई सोलार प्लान्ट आयोजनामा नगरी तोकिएको समयमा सम्पन्न गराउन माग गर्नुभयो । सांसदत्रयले नुवाकोटमा बन्ने ठूला आयोजनाहरु समयमा सम्पन्न नगर्ने परिपाटी दोहारिएको उल्लेख गर्दै यो आयोजना समयमा सक्न आग्रह गर्नु भयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया