MENU

बातावरण-कृषि

ujyaalo forign call inside

डेढ गुणा बढी उत्पादन हुने दुधे च्याउ

विष्णु विश्वकर्मा/उज्यालाे । 

काठमाडौं, वैशाख २० – न धेरै बोसो, न धेरै चिल्लो पिरो । प्रशस्तै मात्रामा प्रोटिन, भिटामिन र खनिज तत्व भएको च्याउ सबैले खान मिल्ने तरकारी हो । झन् शाकाहारीका लागि च्याउ मासु जत्तिकै स्वादिलो र फाइदाजनक मानिन्छ ।

शहर बजारमा च्याउ खानेको संख्या बढ्दै गएपछि च्याउ खेतीमा किसानको आकर्षण पनि बढ्दो छ । उसो त औषधीय गुण भएको च्याउले मधुमेह र उच्च रक्तचापका बिरामीलाई औषधि जत्तिकै काम गर्ने डाक्टरहरु बताउँछन् । 

किसानले डल्ले च्याउ, कन्या च्याउ, गोब्रे च्याउ, रातो च्याउको खेती गर्दै आएका छन् । यसैमा अहिले थपिएको नयाँ जातको च्याउ हो, दुधे च्याउ ।

झण्डै दुई गुणा बढी उत्पादन 

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले विकास गरेको दुधे च्याउ उत्पादनका दृष्टिले निकै नै फाइदाजनक छ । नार्कका च्याउबाली विज्ञ हरि बास्तोलाका अनुसार तीन हप्तादेखि एक महिनासम्मा यसबाट उत्पादन लिन सकिन्छ । अरु च्याउ भन्दा यसले डेढ गुणभन्दा बढी उत्पादन दिन सक्छ । नार्कले बीउ वितरण नगरे पनि तराईका किसानले प्रविधि पाएपछि आफैँले बीउ विकास गरेर खेती गरिरहेका छन् ।

झण्डै डेढ वर्षअघि भारतबाट ल्याइएको प्रविधिबाट विकास गरिएको यो च्याउ सेतो हुनाले यसलाई मिल्की अर्थात दुधे च्याउ भनिएको हो । 

कसरी लगाउने ? 

दुधे च्याउ लगाउने तरिका कन्या च्याउ खेती गरे जस्तै छ । टनेलभित्रको जमीनमा टुक्रा टुक्रा काटिएको परालमा कन्या च्याउ जस्तै गरी च्याउ उमारिन्छ । च्याउ उम्रिसकेपछि ढुसी फैलिन्छ । यति गर्दा कन्या च्याउ तयार हुन्छ । तर ढुसीमाथि माटोले छोपेपछि दुधे च्याउ उत्पादन गर्न सकिने नार्कका वैज्ञानिक बास्तोलाले जानकारी दिनुभयो ।

२५ देखि ३० डिग्री सेल्सियस तापक्रममा दुधे च्याउ उत्पादन गर्न सकिन्छ । गर्मी याममा मात्रै लगाउन सकिने दुधे च्याउको बीउ नार्कले वितरण नगरे पनि च्याऊ खेती गर्ने किसानले नै बीउ उत्पादन गरी कम्तीमा पनि साढे ४ सय रुपैयाँमा बिक्री गर्ने गरेको बास्तोला बताउनुहुन्छ । 

‘अनुसन्धानकै चरणमा रहेकाले हामीले बीउ वितरण गरेका छैनौँ । तर किसानले हामीबाट लिएको प्रविधिबाट बीउ लिएर उत्पादन तथा विक्री थालिसकेका छन् ।’ उहाँले भन्नुभयो ।

दुधे च्याउ अरु च्याउको तुलनामा ठूलो हुने भएकाले पनि यसबाट मनग्य आम्दानी गर्न सकिने विज्ञको भनाइ छ । 

राम्रो उत्पादन हुने भएपछि अहिले धेरै युवा किसानको आकर्षण च्याउ खेतीमा बढेको छ । बढीमा एक महिनामै उत्पादन गरेर आम्दानी लिन सकिने भएपछि च्याउ खेतीमा किसानको आकर्षण बढेको हो ।

काठमाडाैं उपत्यका र बाहिर गरी वार्षिक झण्डै १५ हजार टन च्याउको उत्पादन भइरहेको छ । तर यसले माग धान्न नसकेकाले भारतबाट पनि च्याउ आयात हुने गरेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया