MENU

खेल

रहेनन् चर्चित नेपाली फुटबलर मणि शाह

काठमाडौं, वैशाख ३१ – नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निधन भएको छ ।

लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ४२ मिनेटमा निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुष्टि गरेका छन् ।

एक्कासी ज्वरो आएपछि आइतबार साँझ उनलाई अस्पताल भर्ना गरिएको थियो । आन्तरिक रक्तश्रावका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको महासचिव इन्द्रमानले जानकारी दिएका छन् ।

शाहको निधनमा अखिल नेपाल फुटबल संघ एन्फाले शोक व्यक्त गरेको छ । एन्फा महासचिव तुलाधरले उनको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति भएको प्रतिक्रिया दिएका छन् । ‘उहाँ नेपाली फुटबलकै सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँको सम्मानमा मरणोपरान्त पनि हामीले कुनै कसर बाँकी राख्ने छैनौँ’, तुलाधरले भने ।

सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झण्डा बोक्ने अहिलेसम्म नै एक मात्र फुटबल खेलाडी हुन् । उनका श्रीमती र १ छोरी छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया