MENU

राजनीति

ujyaalo forign call inside

अस्ताए सबैका प्रिय ‘हरि गुरु’, सरकारी सम्मानका साथ अन्त्येष्टि

भक्तपुर, वैशाख ३१ – भक्तपुरमा सबैका प्रिय ‘हरि गुरु’ भनेर चिनिने प्रदेश नं.३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज दिउँसो एक बजे निधन भएको छ ।

५१ वर्षीय लामिछाने प्रदेशसभा उद्योग पर्यटन समितिका सदस्य एवं नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिवसमेत हुनुहुन्थ्यो । 

गएको मंसिर २१ गतेको प्रदेशसभा चुनावमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश नं. ३ का प्रदेश सदस्य निर्वाचित हुनुभएका लामिछानेको प्रदेशसभा सदस्यको यात्रा भने पाँच महिनामै टुङ्गिएको छ । 

एक साता लामो रारा भ्रमण सकेर शनिबार साँझ घर आइपुग्नुभएका उहाँलाई आइतबार टाउको दुखेपछि काठमाडौंकाे मेडिकल कलेज सिनामंगल ल्याइएकोमा चिकित्सकले मस्तिष्कघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा उहाँको निधन भएको बताइएको छ ।

२०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका वडा नं.–६, नगरकोट तेलकोटमा पिता हरिप्रसाद लामिछाने र आमा देवमाया लामिछानेको कोखबाट जन्मनुभएका उहाँले २०३९ सालमा नेकपा मालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीति यात्रा सुरु गर्नुभएको थियो ।

२०४६ सालको आन्दोलनका क्रममा घाइते हुनुभएको उहाँ प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार हुनुभएको थियो ।  

राजनीतिमा एक आदर्श व्यक्तिका रुपमा परिचित उहाँलाई भक्तपुरमा एमालेले मात्रै नभई अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि एक आदर्श व्यक्तिको रुपमा आदरका साथ ‘हरि गुरु’ भनेर सम्बोधन गर्ने गर्दथे । उहाँका एक श्रीमती, एक छोरा र तीन छोरी रहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजे अस्पताल पुगेर लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । सोमबार नै रक्षा मन्त्री इश्वर पोखरेल र आइतबार एमालेका नेता माधवकुमार नेपाल, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । 
प्रधानमन्त्री ओलीले मष्तिस्कघातका कारण लामिछानेको निधन भएकोप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोक वक्तव्य प्रकाशित गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो ।  

लामिछानेको सरकारी सम्मानका साथ अन्त्येष्टि

श्रद्धाञ्जली अर्पणका लागि पशुपति परिसरमा राखिएको लामिछानेको पार्थिव शरीरलाई पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको झण्डा ओढाउनुभयो । त्यस्तै अर्का पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले देशको झण्डा ओढाउँदै श्रदाञ्जली अर्पण गर्नुभयो ।  

त्यसैगरी रक्षामन्त्री इश्वर पोखरेल, कानून मन्त्री शेरबहादुर तामाङ्ग, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले पार्टी सचिव योगेश भट्टराई, भीम आचार्य, एमाले पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डेलगायतले पशुपति पुगेर लामिछानेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

यसै क्रममा प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणि पौडेलले लामिछानेको पार्थिव शरीरमा नेपालको झण्डा ओढाउनुभयो भने प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङ्ग, गृहमन्त्री शालिकराम जमरकट्टेल, प्रदेश नं. १ का कानून मन्त्री हिक्मत कार्की तथा प्रतिनिधिसभाका सदस्य एवं युवा नेता महेश बस्नेतले पनि पशुपति पुगेर स्वर्गीय लामिछानेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक रामेश्वर फुयाँल, प्रदेश सभा सदस्यहरु शशीजंग थापा, राजेन्द्रमान श्रेष्ठ, बसुन्धरा हुमागार्इं, चन्द्र लामा, माधव पौडेल, राजिव पहाडी लगायत उपत्यकाका अधिकांश प्रदेश सदस्यहरुले पशुपति पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

त्यसैगरी पशुपति पुगेर नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य दीलिप प्रजापति, एमाले जिल्ला कमिटी भक्तपुरका कार्यवाहक अध्यक्ष वचन देउजा, एमाले ३ नं.सदस्य राजेन्द्र राजथला, राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य रविन्द्रप्रताप शाह, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, नेपाली काँग्रेस, माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरु, एमालेका जिल्लादेखि केन्द्रीय कमिटीसम्मका नेताहरुले पशुपतिमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

स्वर्गीय लामिछानेको पार्थीव शरीरमा उहाँका पुत्र कृष्णशरण लामिछानेले दागबत्ती दिनुभयो । लामिछानेलाई बहालवाला प्रदेश सदस्यको निधन भएको अवस्थामा नेपालको संविधानले व्यवस्था गरेअनुरुप नै सलामी दिएर सरकारी सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया