MENU

मनोरञ्जन

जन्मदिन बिर्सने निखिल, कति वर्ष भए ?

काठमाडौं, जेठ १ – अभिनेता निखिल उप्रेतीको आज जन्मदिन परेको छ ।

कति वर्ष हुनुभयो ? भन्ने हाम्रो प्रश्नको जवाफमा निखिलले भने, ‘म उठ्ने हरेक दिनको बिहानी मेरो जन्मदिन हो । म कहिले जन्मिएँ भन्ने कुरा मलाई मतलब नै लाग्दैन । मलाई त जन्मदिन पनि याद थिएन । आज फेसबुकले याद दिलाइदियो ।’ 

निखिलले १८ वर्षअघि सिनेमा ‘पिंजडा’ बाट नेपाली सिनेमामा डेब्यू गरेका हुन् । पहिलो सिनेमामार्फत नै एक्शन अभिनेताको रुपमा दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका उनले त्यसपछि निरन्तर सिने क्षेत्रमा सक्रियता जनाएका छन् । पछिल्लो समय निखिल अभिनयका साथै निर्माण र निर्देशनमा सक्रिय रहेका छन् । उनलाई यी सबै काममा उत्तिकै सफलता पनि मिलिरहेको छ । 

बाल्यकाल

निखिलको बाल्यकाल जन्मस्थान सर्लाहीमा बित्यो । उनी आफ्नो बाल्यकाल सम्झदै भन्छन्, ‘बाल्यकाल मेरो निकै स्पेसल रह्यो । त्यो म कहिले पनि बिर्सिन सक्दिन । मेरो गाँउ निकै दुर्गम थियो । मेरो आमाबुवा किसान र हामी निम्न वर्गको परिवार थियौँ ।

अहिले पनि गाउँ जाँदा आमाबुवालाई सघाउन म खेतमै जान्छु । बाल्यकालमा स्कुल बिदा हुँदा भैँसी चराउन जान्थेँ । दिनभरी भैँसी चराएर घर फर्केको अनुभव पनि छ मसँग । मैले ‘भैरव’मा बाल्यकालमा त्यही भैँसी चराएको सम्झनामा भैँसी कुदाएको सिन राखेको हो । बाल्यकाल जीवनको निकै सुन्दर अनुभव हुँदो रहेछ भन्छु म त ।’

सिनेमा निर्माणको ज्ञान लिन मुम्बई

नेपाली सिनेमामा एक्नन हिरोको रुपमा चर्चित भएका निखिलले आफ्नो कामको अनुभवले मात्र नपुग्ने ठानेपछि सिनेमा निर्माणको ज्ञान लिनका लागि केही वषअघि मुम्बईको यात्रा तय गरे । 

उनले त्यहाँको चर्चित फिल्म एकेडेमी एक्टर्स स्टुडियोमा सिनेमा निर्माण पढे । मुम्बईमा एक्टर्स स्टुडियो चर्चित छ । बलिउड कलाकार पनि यही स्टुडियोमा सिनेमाको ज्ञान लिन आउँछन् । यही मेसोमा उनले त्यहाँ बलिउड कलाकारसँग सङ्गत गर्ने अवसर पनि पाए ।

बलिउड निर्देशक रोहित शेट्टी र अभिनेत्री रानी मुखर्जी त उनका क्लासमेट थिए । चाखलाग्दो कुरा निखिलले रोहितलाई एक्सन पनि सिकाउँथे । किनभने उनको त्यहाँको काम नै एक्सन सिकाउने थियो । सिनेमा निर्माणको ज्ञान बटुल्न त्यहाँ पुगेका उनले आफूलाई आर्थिक रुपमा सहज होस् भनेर एक्सन सिकाउने काम गर्थे । 

सर्टिफिकेट माग्नेलाई ठाडै रिजेक्ट

निखिल आफूलाई एकदमै धेरै अध्ययन गर्ने व्यक्ति भएको बताउँछन् । उनको आफ्नै पुस्तकालय पनि छ । अहिलेसम्म उनले आफ्नै पुस्तकालयबाट झण्डै ८ सय किताब पढिसकेका छन् । तर उनको एउटा यस्तो बानी पनि छ जुन थाहा पाउँदा धेरैलाई अचम्म पनि लाग्न सक्छ । अरु पुस्तकहरु पढ्ने निखिल कोर्षका किताब भने पढ्न रुचाउँदैनथे । 

उनले पढ्दै जाँदा त्यसको सार नुझेका कारण सबै किताबहरु च्यातेर फालेका थिए । आठ दश ओटा बुकको लागि एक वर्ष लगाउनुपर्ने ? भन्ने प्रश्न उनको मनमा हुन्थ्यो । यही प्रश्नको जवाफमा उनी आफूसँग भएका कोर्षका किताबहरु नै च्यातिदिन्थे । 

यति मात्रै हैन उनले त आफूसँग भएका सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु पनि च्यातिसकेका छन् । उनी आफूसँग जसले शैक्षिक योग्यताको प्रमाणपत्र माग्छ सबैलाई रिजेक्ट गरिदिने बताउँछन् । यसका बारेमा उनी भन्छन्, ‘अर्काले दिएको सर्टिफिकेट मलाई माने राख्दैन र म ती व्यक्तिहरुसँग कामगर्न पनि चाहन्न ।

म एजुकेसन सिस्टमको विरोधमा पनि छु । म अनुभवको लागि जन्मिएको हो त्यहीबाट मैले धेरै कुरा सिक्न सक्छु । म स्वतन्त्र हुन चाहन्छु भनेर मैले पढ्न पनि छोडे । पढ्न छोडेपछि बल्ल मैले किताबहरु च्यातेको हो ।’

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया