MENU

समाज

ujyaalo forign call inside

हातमा नेपाली लालपूर्जा तर जमिन एसएसबीको कब्जामा

दुर्गा उपाध्याय/उज्यालो ।

कञ्चनपुर, जेठ १ – बेलौरी नगरपालिका–१०, का कृष्णदत्त पन्तले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जग्गा भोगचलन गर्न रोकेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पन्तसँग भएको जग्गाको लालपुर्जा नै गलत भएको भन्दै जग्गा भोगचलन गर्न रोकेको हो । सोमबार साँझ खेतमा माटो सम्याइरहेका बेला आएका एसएसबीले त्यो भूमी भारतको भएको दावी गर्दै उहाँलाई काम गर्न रोकेका हुन् । 

सीमा क्षेत्रसँग जोडिएको १३३ देखि १३४ नम्बर सीमा स्तम्भसँग जोडिएको नेपाली भू–भागमा भारतीय सीमा सुरक्षा बलले हस्तक्षेप गरेको पीडित कृष्णदत्त पन्तले बताउनुभयो ।

‘नहरको छेउको जमिन उचोनिचो थियो । पानीले खेतको मल बगाएर लाने भएकोले जमिनलाई सम्याइरहेका थियौँ’, पन्तले भन्नुभयो, ‘त्यहीबेला एसएसबी आएर भारतको भूमि दावी गर्दै काम गर्न रोक्यो ।’

पन्तसँग जग्गा धनीपुर्जा हुँदा पनि भारतीय पक्षले भोगचलन गर्न रोक लगाएको वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले पुष्टि गर्नुभयो । ‘एसएसबीले आफ्नो भूमि भनेर दावी गरेको जमिनको नेपालीसँग जग्गा धनीपुर्जा पनि छ’, वडा अध्यक्ष चौधरीले भन्नुभयो, ‘तर उनीहरुले भोगचलन गर्न रोक लगाएका छन् ।’ 

१४६६ नम्बरको कित्ता पिताम्बर पन्तको नाममा रहेको छ । जसलाई एसएसबीले भारतीय भूमि भएको दावी गर्दै आएका छन् । आफूहरुले बर्सेनि जग्गाको मालपोत र पानीपोत समेत तिर्दै आएको पीडित पन्तले बताउनुभयो ।

‘हामीसँग त्यो जग्गाको नक्सा र जग्गाधनी पुर्जा दुवै छ’, उहाँले भन्नुभयो ‘बर्सेनि सरकारलाई मालपोत र पानीपोत तिर्दै आएका छौ । अहिले एसएसबीले त्यो भारतको भूमि भन्दै भोगचलन गर्न रोकिरहेको छ ।’

लालपुर्जा नै गलत भएको दावी

भारतीय पक्षले हस्तक्षेप गरेपनि छलफलका लागि एसएसबीको क्याम्पमा पुगेका नेपाली टोलीलाई लालपुर्जा नै गलत भएको आरोप लगाएको छ । 

पन्तका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली छलफलका लागि मंगलबार एसएसबीको क्याम्पमा पुग्यो । टोलीमा रहनुभएका पन्तले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा भारतीय पक्षलाई देखाउनुभयो । तर, आफूहरुको गल्ती स्वीकार गर्नुको साटो उनीहरुले नेपाल सरकार र नापी विभागले नै जग्गा धनीपुर्जाको प्रमाण गलत दिएको आरोप लगाए । 

‘स्थानीय प्रशासनको रोहवरमा वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको नक्सा र जग्गा धनी पुर्जाको प्रमाण हामीले मंगलबार एसएसबीलाई देखायांै’, पन्तले भन्नुभयो ‘सबै प्रमाण हेरेपछि उल्टै तिमीहरुको सरकार र नापीले नै तिमीहरुलाई गलत लालपुर्जा र नक्सा दियो भन्दै हामीलाई फर्काए ।’ 

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले पटक पटक हस्तक्षेप गर्दै आएका छन् । महिनैपिच्छे एसएसबीको ज्यादती खेप्दै आएका त्यस क्षेत्रका स्थानीयलाई प्रशासन भएको आभाससमेत हुन छोडेको छ । 

सीमा सुरक्षाका लागि खटिएको सुरक्षा निकाय (सशस्त्र प्रहरी) नै भारतीय पक्षसँग डराउने गरेको स्थानीय सरकारको आरोप छ भने सुरक्षा निकाय र प्रशासनको बेवास्ताप्रति स्थानीयबासी भने आक्रोशित बनेका छन् । 

एसएसबीले खेतमै आएर हस्तक्षेप गरेपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई खबर गर्दा बेवास्ता गरेको पन्तको गुनासो छ । ‘हामीले सोमबार साँझ नै सशस्त्रलाई खबर गर्यौँ’ पन्तले भने, ‘भोलि बिहानै आउँछौँ भन्दै टारेको सशस्त्र मध्यान्ह साढे १२ बजे मात्र घटनास्थल पुग्यो ।’

भारतीय हस्तक्षेपका बारेमा छलफल गर्न भन्दै (एसएसबी) को क्याम्पमा पुगेका सुरक्षा निकायका पदाधिकारी र स्थानीय सरकाका प्रतिनिधिसहितको टोलीले समस्या समाधान गर्नुको साटो सर्भे टोलीले नयाँ सीमा स्तम्भ नबन्दासम्म सो जमिन भोगचलन गर्न नपाउने सहमति गरेर फर्किएपछि साथमा लालपुर्जा हुँदा पनि पन्तले आफ्नै जमिन भोगचलन गर्न नपाउने हुनुभएको छ । 

‘मंगलबार दुवै पक्षबीच सहमति भयो’, वडा अध्यक्ष चौधरीले भन्नुभयाे, ‘अब नयाँ सीमा स्तम्भ नबनुञ्जेल दुवै पक्षले भोगचलन नगर्ने भन्ने कुरा भयो ।’

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया