MENU

समाज

ujyaalo forign call inside

तीन वर्षपछि विद्यालयको भवन बन्यो, हट्यो सास्ती, छायो खुशी

अर्जुन श्रेष्ठ/उज्यालो । 

धादिङ, जेठ २ – उत्तरी धादिङमा प्रायः सधै कठ्याङ्ग्रिदो जाडो हुन्छ । खुल्ला चउर । हावाहुरी । कति बेला पानी पर्छ पत्तै हुँदैन । अस्थायी टहरा र खुल्ला चौरमा बसेर विद्यार्थीहरुले तीन वर्ष बिताए ।
 
भूकम्पले विद्यालय भवन भत्किएपछि यसरी नै आफ्नो पठनपाठन गर्दै आइरहेका उत्तरी धादिङको खनियाँबास गाउँपालिका वडा नम्बर १ र २ मा रहेको ९ वटा विद्यालय पुनर्निर्माण भएको छ । विद्यालय पुनर्निर्माणको काम सम्पन्न भएपछि विद्यार्थी, शिक्षक तथा अभिभावकहरु खुशी भएका छन् । 
‘तीन वर्ष त निकै सकसले वितायाैँ । पानी र चिसोका कारण धेरै दिन त पढाइ नै हुन सकेन । अहिले विद्यालय बन्यो । ढुक्कले पढ्न पाएका छौ ।’ बेन्दिदेवी माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा लिडिया तामाङले बताउनुभयो ।
 
त्यस्तै, झार्लाङ माध्यामिक विद्यालयमा अध्ययनरत छात्र कान्छा तामाङ पनि विद्यालय भवन बनेकोमा खुशी व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘खुल्ला चौरको बसाइले हामी विद्यार्थी कति विरामी भयौँ भनिसाध्य छैन । विद्यालय बालबालिकाको दोस्रो घर हो अनि ज्ञानको मन्दिर । विद्यालय भवन बनेसँगै हामी विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउन थालेका छौँं । पठन–पाठनमा पनि सुधार आएको छ ।’
 
विद्यालयको भौतिक संरचना बनेपछि विद्यार्थी मात्र होइन शिक्षकहरु पनि उत्तिकै खुशी छन् । लेकाली आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज गिरी अस्थायी टहरामा विद्यार्थी पढाउँदाका ती दिनलाई सम्झिँदै भन्नुहुन्छ, ‘विद्यार्थी स्कुल आएदेखि कसरी दिनभरी विद्यालयमा पढाउनेभन्दा कसरी सुरक्षित राख्ने भन्ने चिन्ता हुन्थ्याे ।’
युनाइटेड मिसन टु नेपाल धादिङको साझेदारीमा हिमालय सामुदायिक मुक्ति समाज हिम्स नेपालले खनियाँबास गाउँपालिकाको वडा नम्बर १ र २ साविकको झार्लाङमा ९ वटा विद्यालयमा ११ वटा भवन निर्माण गरेको हो ।
 
विद्यालय भवनको अभावमा खुल्ला चौर तथा अस्थायी टहरामा दुखजेलो गरेर विद्यालय सञ्चालन भैरहेको देखेर विद्यालय भवन निर्माण गरेको हिम्स नेपाल धादिङका अध्यक्ष जीवन तामाङले बताउनुभयो । सुनौला भविष्यको कल्पनामा विद्यालय पुगेका बालबालिका चिसो, हावाहुरी तथा अभावको भूमरीमा थिए । अहिले हामीले साविकको झार्लाङ गाविसमा ३ करोड ४ लाख २२ हजार १३ रुपियाँको ९ वटा विद्यालयमा भवन बनायौं । 
 
त्यस्तैगरी, युनाइटेड मिसन टु नेपाल धादिङले री, शेर्तुङ र तिप्लिङमा ८ वटा विद्यालयमा १८ वटा विद्यालय भवन निर्माण गर्दैछ । उत्तरी धादिङमा हामीले विद्यालय बनाएका र बनाउँदै गरेका साविकका गाविसहरुमा सडक सञ्जाल पुगेको छैन ।
 
निर्माण सामाग्री ढुवानीमा निकै समस्या छ । मानिसलाई पुग्न मात्र ३ दिन लाग्छ । एक बोरा सिमेन्टको २५ सय पर्दछ । त्यस्तो ठाउँमा विद्यालय भवन बनाउन निकै चुनौति हो । तामाङ भन्नुहुन्छ, ‘निर्माण सामाग्री सडक सञ्जाल पुगेको डुन्डुरेबाट पनि केजीको १ सय १० रुपैयाँसम्म ढुवानी भाडा तिरेर विद्यालय बनाउँदैछौ ।’ 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया