MENU

अन्तर्राष्ट्रिय

​जेडीएस फुटाउन एक जना सांसदलाई बीजेपीको सय करोडको अफर !

जेठ २ – कर्नाटक विधानसभा चुनावमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सरकार गठन प्रक्रिया रोमाञ्चक मोडमा पुगेको छ । 

भारतीय जनता पार्टीले जनता दल सेक्युलर(जेडीएस) का सांसदलाई एक सय करोड र मन्त्री पदको अफर गरेको जेडीएस नेता तथा मुख्यमन्त्रीका दाबेदार एचडी कुमारस्वामीले बताएका छन् । 

२२४ सिटमध्ये २२२ सिटमा भएको चुनावमा १०४ सिटमा जित हात पारे पनि भारतीय जनता पार्टी(बीजेपी) एक्लैले सरकार बनाउन नसक्ने भएको छ । बीजेपीलाई सरकार बनाउन थप आठ सिट आवश्यक हुन्छ । ७८ सिटमा जित हात पारेको कांग्रेस र ३८ सिट जितेको जनता दल सेक्युलर(जेडीएस) ले गठबन्धन बनाएर सरकार बनाउने घोषणा गरिसकेका छन् । तर पनि बीजेपीले आफू सबैभन्दा ठूलो पार्टी भएकाले सरकार आफूले बनाउन पाउनु पर्ने भन्दै कर्नाटकका राज्यपाल वजुभाइ वालासामु सरकार बनाउने दावी पेस गरेको छ ।

बीजेपीले मुख्यमन्त्रीका उम्मेदवार बीएस येदियुरप्पालाई विधायक दलको नेतासमेत छनोट गरिसकेको छ । कांग्रेसले बेंग्लोरको एउटा सुविधासम्पन्न रिसोर्टमा १२० ओटा कोठा बुक गरेको छ । जहाँ कांग्रेसका ७८ जना विधायकलाई राखिनेछ । त्यहीँ नै कांग्रेसको विधायक दलको बैठक बस्ने बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार कांग्रेस र जेडीएसका केही सांसद गायब भएको खबर छ । ती सांसदहरु बीजेपीको सम्पर्कमा भएको बताइन्छ  ।

बीजेपीले कांग्रेस र जेडीएसलाई फुटाएर भए पनि सरकार बनाउने दाउमा रहेको छ । कांग्रेसका तीन र जेडीएसका दुई सांसद पार्टीको सम्पर्कमा नरहेको बताइएको छ । 

उता जेडीएस–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बन्ने दाउमा रहेका एचडी कुमारस्वामीले भने आफ्नो पार्टीका सबै सांसदमा सम्पर्कमा रहेको बताउँदै आफूहरुले कांग्रेसको समर्थनमा नै सरकार बनाउने स्पष्ट गरेका छन् । 

अब मतादाताले भोट हालिसकेका छन् । आफ्नो म्यान्डेट दिइसकेका छन् । सरकार बनाउने दाउमा सबै लागेका छन् । कांग्रेस र जेडीएस मिल्दा स्पष्ट बहुमत पुग्छ । तर कांग्रेस र जेडीएसका केही सांसदले फ्लोर क्रस गरे भने बीजेपीले पासा पल्टाउनेछ  ।

त्यसैले अब कर्नाटकको राजनीतिमा देखिएको नाटकीय रुपलाई साम्य पार्ने जिम्मेवारी राज्यपालको हातमा रहेको छ । राज्यपालको विवेकले नै अब कर्नाटकको राजनीतिमा विशेष भूमिका खेल्ने देखिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया