MENU

राजनीति

ujyaalo forign call inside

​मुख्यमन्त्रीसँग स्पष्टीकरण सोध्न माग

काठमाडौं, जेठ २ – संघीय संसदमा सत्तारुढ दलकै सांसदद्धारा प्रदेश नम्बर दुईका मुख्य मन्त्रीलाई स्पष्टीकरण सोध्नुपर्ने माग भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेका सांसदले प्रदेश नम्बर २ का मुख्य मन्त्रीलाई स्पष्टीकरण सोध्न सरकारको ध्यानाकर्षण गराएका हुन् । एमाले सांसद निरु पालले प्रदेश नम्बर २ का मुख्यमन्त्रीसँग स्पष्टीकरण सोध्न माग गर्नुभयो । 

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानविरुद्ध संघर्ष गर्नुपरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

नेपालको झण्डा बिगार्ने, रंग, आकार थाहा नहुने कर्मचारीलाई मन्त्रीले स्पष्टीकरण सोधेको प्रसंग उल्लेख गर्दै सांसद पालले मुख्य मन्त्रीलाई नै स्पष्टीकरण सोध्न माग गर्नुभयो । उहाँले भन्नुभयो– ‘यस्ता मुख्य मन्त्रीलाई प्रशिक्षण दिने कि नदिने म सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।

राष्ट्रियताको सवालमा पछिल्लो समय प्रधानमन्त्रीका बारेमा विभिन्न टिका–टिप्पणी भइरहेको भन्दै उहाँले तात्कालिन समयमा भएको नाकाबन्दीलाई होइन भन्नु र प्रधानन्त्रीले सम्बन्ध सुधार्नुपर्छ भनेर मित्रराष्ट्र भारतका प्रधानमन्त्रीलाई स्वागत गर्दा लम्पसारवाद भन्नु दुवै अतिवाद हुने टिप्पणी गर्नुभयो ।

काठमाडौं धुलो र धुवाँको शहर बन्दै गएको भन्दै उहाँले पाहुनालाई बोलाएर रातारात पिच गर्नुभन्दा नागरिकका साना, मसिना समस्या सम्बोधनमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दोधारा–चाँदनी सीमामा भारतले पटक–पटक नेपालीलाई दुःख दिने गरेको भन्दै तत्काल रोक्नका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद छक्कबहादुर लामाले हुम्लामा सडक सुविधा तत्काल पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सार्वजनिक सुरक्षा ऐनको शिकारमा तल्लो वर्गका मात्रै पर्ने गरेको र माथिल्लो वर्गलाई नछोएको भन्दै उहाँले ऐन खारेज गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । ‘यो राज्य नर्क हो कि के हो ? सार्वजनिक ऐनलाई खारेज गर्नुपर्र्छ । यो ऐनको शिकार निमुखा मात्रै हुने गरेका छन्’, लामाले भन्नुभयो, ‘पुलिसलाई मन नपर्ने बित्तिकै सार्वजनिक मुद्धा लगाउने काम भएका छन् ।’

सांसद दुर्गा पौडेलले प्यूठान जिल्लास्थित ओखरकोटबाट २ वर्षअघि राजदण्ड चोरी भएको भन्दै ऐतिहासिक राजदण्डको तत्काल खोजी सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद इन्दुकुमारी शर्माले चुरे संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आमाको नामबाट नागरिकता दिने भनिए पनि त्यसो हुन नसकेको भन्दै आमाको नामबाट सहज नागरिकता दिने विषयलाई गम्भिरताका साथ कार्यान्वयन गर्न माग गर्नुभयो ।

त्यसैगरी प्रत्येक गाउँपालिका, नगरपालिकामा बुढानिलकण्ठ स्कुल जस्तो स्कुल राखेर त्यही मोडलको शिक्षाको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो । बैठकमा सरकारले सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक २०७५ प्रस्तुत गरेको छ । गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले विधेयक पेस गर्नुभएको हो । अर्को बैठक जेठ ४ गते शुक्रबार १ बजेका लागि बोलाइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया