MENU

समाज

ujyaalo forign call inside

विदेश गएका आफन्तका बारेमा जानकारी राख्नुभएको छ ?

रीना श्रेष्ठ/सिन्धुपाल्चोक

जेठ ४ – भगवती नेपालीका दुई जना छोरा विदेश गएका छन् । साइँलो र कान्छो छोरा साउदी अरब गएको थाहा छ उहाँलाई । तर साउदीको कुन ठाउँमा छन् अनि के काम गर्छन भन्ने चाहिँ थाहा छैन । 

छोराहरु गएको एक महिना भन्दा धेरै भयो । तर उनीहरुले घरमा जान लागेको ठाउँका बारेमा जानकारी गराएनन् । के काम गर्न कुन कम्पनीमा जान लागेको भन्ने पनि सुनाएनन् । ‘मलाई त छोराहरुका बारेमा यस्तो जानकारी राख्नुपर्छ भन्ने केही त थाहा थिएन’ भगवती भन्नुहुन्छ । 

भगवतीलाई केही थाहा थिएन अनि छोराहरुले पनि केही भनेनन् । चौतारा साँगाचोकगढी नगरपालिका–१२ को आर्थिक सहयोगमा वडा स्तरीय महिला सञ्जालले वैदेशिक रोजगारीमा जानेका परिवारसँग गरेको छलफलमा भगवतीले परदेशीका परिवारले धेरै कुरा बुझ्नुपर्ने रहेछ भन्ने थाहा पाउनुभयो ।

त्यति मात्रै होइन भगवतीसँग छोराहरुका कुनै कागजपत्र पनि छैनन् । विदेश जानेका कागजपत्र घरमा राख्नुपर्ने रहेछ भन्ने पनि भगवतीले कार्यक्रममा बसेपछि थाहा पाउनुभयो । तर उहाँसँग छोराहरुका कुनै कागजपत्र छैनन् । 

कागजपत्र नराख्दा के समस्या हुन्छ भन्ने उदाहरण उहाँसँगै हुनुहुन्थ्यो लक्ष्मी गिरी । लक्ष्मीका श्रीमान् शिवहरी गिरी मलेसिया गएको ६ वर्ष भयो । विदेश पुगेको केही समयदेखि नै उहाँको अत्तोपत्तो छैन । श्रीमान हराउँदा लक्ष्मीले खोज्न सक्नुभएन । कारण, उहाँसँग श्रीमानका कुनै कागजपत्र थिएनन् । 

कार्यक्रममा देखाइएको वैदेशिक रोजगार सम्वन्धी वृत्तचित्र हेरेपछि विदेश जानेहरु परिवारका सदस्यमध्ये धेरैले अहिलेसम्म आफूलाई कागजपत्र र जानकारी राख्नुपर्ने भन्ने कुरा थाहा नभएको बताएका छन् । 

विदेश जानेका अभिभावकलाई जानु अघि सीप सिकेर मात्रै जानुपर्छ भन्ने पनि थाहा छैन । यस्तै मध्येकी एक हुनुहुन्छ फुलमाया तामाङ । उहाँकी छोरी विदेश जाने तयारीमा हुनुहुन्छ । तर विदेश जानु अघि तालिम लिएर जानुपर्छ भन्ने थाहा नपाएकी फुलमायालाई तालिम कहाँ र कसले दिन्छ भन्ने पनि थाहा छैन । 

७५ जना सहभागीमध्ये धेरैले वैदेशिक रोजगारीका धेरै कुराका बारेमा जानकारी नभएको बताएपछि जिल्ला बाल कल्याण समितिका सदस्य ललित राना, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोकका उपाध्यक्ष हरीकुमार श्रेष्ठ लगायतले त्यस बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा वैदेशिक रोजगार र मानव बेचविखन, वैदेशिक रोजगारमा जानु अघि  ध्यान दिनुपर्ने कुरा र जिल्लामा सुरक्षित आप्रावासन परियोजना सामीले गरिरहेका कामसँगै व्यक्तिगत घटना दर्ता, नागरिकता, सूचनाको हक, लैंगिक हिंसा, बारे जानकारी गराइएको थियो । 

वडाका अनुगमन समितिका संयोजक धामो तामाङले आफूले सिकेका कुरा समुदायमा पुर्याउन अनुरोध गर्नु भएको थियो । मनिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सिता पौडेलले सन्चालन गर्नुभएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया