MENU

राजनीति

ujyaalo forign call inside

नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई

गोरखा, जेठ ४ – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

यो दुई पार्टीबीचको एकता नभै माओवादी केन्द्र एमालेमा विलय भएको अर्थमा बुझ्नु पर्ने कडा टिप्पणीका बीच भट्टराईले विचार मिल्ने पार्टीहरु बीचको धु्रवीकरणलाई भने सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । सत्तालिप्सामा डुब्दै गएको माओवादी केन्द्र त्यस्तै अर्को दलसँग मिल्नुलाई आफूले अस्वाभाविक रुपमा नलिएको भट्टराईको टिप्पणी छ । 

आफू माओवादी केन्द्रमा रहँदा पनि एमालेसँग पार्टी एकताको लागि पहल भएको स्वीकार्दै उहाँले तर त्यतिबेला एमालेलाई माओवादीका एजेण्डामा समाहित गराउन सकिनेमा अहिले भने ठिक उल्टो भएको दावी गर्नुभयो । 

पारिवारिक भ्रमणका सिलसिलामा छोरी मानुषी यमीको घर तनहुँको रिसिङ पुग्नुभएका भट्टराईले समाजिक सञ्जालमा प्रारम्भिक प्रतिक्रिया जनाउँदै जनयुद्ध गरेकोमा पश्चाताप गरेको हो भन्दै पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न समेत गर्नुभएको छ । 

आफूले झण्डै दुई दशकको राजनीतिक यात्रा गरेको पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतालाई भट्टराईले कुन रुपमा लिनुभएको छ ? उज्यालो सहकर्मी किरण लोहनीले भट्टराईसँग कुराकानी गर्नुभएको छ ।

तपाईँ त एकता हुँदै हुन्न भन्नुहुन्थ्यो, भयो त ? कसरी लिनुभएको छ ?

होइन, विचार मिल्ने शक्तिहरु एक ठाउँमा आउनु स्वाभाविक हो, आउनु पनि पर्छ । त्यसैले बाहिर कम्युनिष्ट ब्राण्ड र खोल उहाँहरुले प्रयोग गरे पनि अन्तर्यमा उहाँहरुले त्यो विचार धेरै पहिले नै छोडिसक्नुभएको छ । र सामान्य भाषामा भन्दाखेरी राज्य पुँजीवादको वाहक शक्तिका रुपमा एमाले अलि पहिले नै ५२ सालभन्दा पहिलेदेखि नै र प्रचण्डले नेतृत्व गरेको माओवादी पनि २०६४ पछि क्रमश त्यो दिशातिर उन्मुख हुँदै गएको थियो । त्यसैले उहाँहरुको एक ठाउँमा हुनुलाई अन्यथा मान्नु हुँदैन, त्यसले नेपालमा राजनीतिक ध्रुवीकरणलाई बलै पुर्‍याउँछ । 

तपाईँ माओवादी केन्द्रमा हुँदैमा पनि एमालेसँग एकताको प्रयास भएको थियो, त्यति बेला भएको भए र अहिले भएकोमा के तात्विक भिन्नता छ ?

एउटा उदारवादी लोकतन्त्रको पक्षमा नेपाली कांग्रेस पहिल्यै छँदैछ । अब कम्युनिज्मको नाममा चाहिँ छद्म पूँजीवादी विचार एमालेले बोक्दै आएको थियो र पछिल्लो चरणमा प्रचण्डजीले बोकिराख्नुभएको थियो । अब उहाँहरु एक ठाउँमा आएर मुखमा चाहिँ साम्यवाद, व्यवहारमा चाहिँ पूँजीवादको एउटा छद्म खालको अभ्यास उहाँहरुले गरिरहनु भएको थियो । 

हो, फरक हुन्छ । एउटा भनाई छ नि, गोरु अगाडि कि गाडा अगाडि भनेर । गोरु अगाडि भयो भनेर गाडालाई पछाडिबाट तान्छ, गाडा अगाडि भयो भने चाहिँ गोरुलाई तान्न सक्दैन । माओवादी आन्दोलन भनेको चाहिँ हिजोको कांग्रेस र एमालेभन्दा अगाडि बढेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताका मुद्धालाई लिएर बनेको पछिल्लो शक्ति हो । त्यसैले ६३/६४ सालमा भर्खरै शान्ति प्रक्रियामा आउँदा तत्कालीन एमालेसँग एकता गर्ने कुराकानी भएकै थियो । त्यतिबेला एकता भएको भए माओवादी एजेण्डा अन्तर्गत एउटा क्रान्तिकारी, अग्रगामी, प्रगतिशील दिशातिर एमाले जान्थ्यो । 

अहिले १० वर्षपछि माओवादीको खासगरी प्रचण्डले नेतृत्व गरेको माओवादी यति सत्तालिप्सामा डुबिसकेको छ, यो अवस्थामा चाहिँ प्रचण्ड माओवादी एमालेमा विलय भएको हो । त्यसैले अहिले १० वर्षपछिको स्थिति फेरियो । हिजो चाहिँ एमाले माओवादीमा विलय हुँदा त्यो अग्रगामी क्रान्तिकारी हुन्थ्यो । अब अहिले माओवादी एमालेमा विलय हुँदा चाहिँ त्यो यथास्थितिबादी र प्रतिगाामी हुन्छ । त्यस अर्थमा समय र परिस्थिति अनुसार यो फरक छ । हुनत साँकेतिक रुपमा मदन भण्डारी र जीवराज आश्रीतको स्मृति दिवसको दिन पारेर यो गरिएको छ, म उहाँहरुप्रति श्रद्धासुमन ब्यक्त गर्छु ।

तर जेठ ३ मै प्रचण्डले एमालेमा विलिन हुने निर्णय गर्नुभयो, त्यसले के देखाउँछ भने उहाँले आफूले उहिले हामीलाई नभनौं भन्दा भन्दै पनि जवरजस्ती प्रचण्डपथ भन्न लगाउनु भएको थियो अब अहिले त उहाँ विस्तारै मदनपथतिर जानुभयो । जेठ ३ मै एकता गर्नुको अर्थ प्रचण्डपथ र जनयुद्धलाई छोडेर प्रकारान्तरले त्यसप्रति पश्चाताप गरेर ५२ सालभन्दा अगाडिको मदन भण्डारीको बाटोमा गएको भन्ने यसले पुष्टि गर्छ । त्यस अर्थमा पनि प्रचण्डजीले चाहिँ जनयुद्ध र यसका उपलब्धीहरुलाई अब जोगाउन सक्नुहुन्न । यसको निम्ति गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता पक्षधर शक्तिहरु एक ठाउँमा आएर यो उपलब्धीलाई टेकेर लोकतन्त्रमा टेकेको समाजवादको दिशामा हामी जानुपर्छ । 

तपाईँले नयाँ शक्ति पार्टी गठन गर्दाको बेलामा पनि यही गर्नु थियो भने जनयुद्ध किन गर्नु परेको थियो भन्ने प्रश्न उठेको थियो । अहिले प्रचण्डलाई जनयुद्धप्रति पश्चाताप गरेको हो भनेर सोध्नु भएको छ । त्यतिबेला तपाईँले नयाँ शक्ति गठन गर्दा चाहिँ जनयुद्धप्रति पश्चाताप गरेको नहुने, अहिले प्रचण्डले चाहिँ हुने ? 

होइन, मैले त कहिल्यै पश्चाताप गरेकै छैन, मलाई त गर्व छ । त्याग र बलिदान नभै क्रान्ति हुँदैन । इतिहासका महान क्रान्तिहरु चाहे फ्रान्सको भन्नुहोस् चाहे बेलायतको भन्नुहोस्, अमेरिका, रुस र चीनको भन्नुहोस् , कहीँको पनि ठूलो त्याग र बलिदानबिना क्रान्ति सम्पन्न भएको छैन । हामीले अलिकति ढिलो सम्पन्न गर्‍यौँ । त्यस अर्थमा गर्व छ ।

नत्र यो गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता आउदै आउँदैनथ्यो । मैले नयाँ शक्ति भनेको त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताको जगमा टेकेर समावेशी र समानुपातिक सहभागीतामूलक लोकतन्त्रमा आधारित एउटा नयाँ समाजवादतिर आऔँ, नयाँ विचारले डोर्‍याऔं भन्ने मेरो भनाई हो । त्यसैले जनयुद्ध र मधेश आन्दोलनलगायतका आन्दोलनको जगमा टेकेरनै हामी अगाडि जाने हो । त्यस अर्थमा प्रचण्डजी त्यसलाई छोडेर पछाडि फर्किराख्नु भएको छ, हामी त्यसमा टेकेर त्यसको रक्षा गर्दै अगाडि जाने कुरा गरिरहेका छौं । फरक यहीँनेर छ । 

एकीकृत पार्टीको राजनीतिक दस्तावेजहरुमा जनयुद्धलाई पनि स्वीकारेको भनिएको छ नि त ?

त्यो त कागको पखेंटामा मयूरको प्वाँख हालेजस्तै हो । एकाध शब्द घुसाइदिनु भनेको त केटाकेटीलाई फुल्याएजस्तै हो । सारमा चाहिँ जनयुद्धको जगमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता प्राप्त भएको थियो तिनलाई परित्याग गरेर त्यसको विरोध गरेर जुन एमालेको मूल नेतृत्वसँग प्रचण्डजी समाहित हुन जानु भनेको चाहिँ यथास्थितिवाद र प्रतिगमनतिरकै यात्रा हो । यसमा कुनै भ्रम पाल्नु आवश्यक छैन । तैपनि उहाँहरु एक ठाउँमा आउनु चाहिँ राम्रो र सकारात्मक कुरा हो भन्ने ठानेको छु । किनभने कम्युनिष्ट नामधारी दुईवटा शक्ति रहेर जनतालाई भ्रम दिइरहनुको सट्टा एकै ठाउँमा आएपछि जनताले बुझ्ने अवसर पाउँछन् त्यो सकारात्मक कुरा हो भन्ने ठान्छु म यसले नयाँ धु्रवीकरणका लागि पनि बल पुग्छ । 

यो एकताले विचार र एजेण्डा मिल्ने नयाँ शक्तिलगायतका दलरुलाई दबाब अथवा उत्साह पैदा गरेको हो ? 

अब यसो भयो नि त, एउटा उदारवादी लोकतन्त्रको पक्षमा नेपाली कांग्रेस पहिल्यै छँदैछ । अब कम्युनिज्मको नाममा चाहिँ छद्म पूँजीवादी विचार एमालेले बोक्दै आएको थियो र पछिल्लो चरणमा प्रचण्डजीले बोकिराख्नुभएको थियो । अब उहाँहरु एक ठाउँमा आएर मुखमा चाहिँ साम्यवाद, व्यवहारमा चाहिँ पूँजीवादको एउटा छद्म खालको अभ्यास उहाँहरुले गरिरहनु भएको थियो ।

त्यो एक ठाउँमा आइसकेपछि सजिलो अर्थमा चाहिँ एउटा लोकतन्त्रमा आधारित समाजवादको जगमा टेकेर नयाँ विचारसहित अगाडि जाने शक्तिहरुलाई बाटो खुलेको छ । हाम्रो संविधानले पनि त्यही निर्दिष्ट गरेको छ । एउटा समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पूँजीको निर्माण गर्दै अगाडि बढ्ने भन्ने हाम्रो संविधानमा उल्लेख छ । संविधानको त्यो मूल मान्यतालाई कार्यान्वयन गर्ने गरी नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने र त्यसको निम्ति बृहत ध्रुवीकरण गर्ने वातावरण बनेको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । यो चुनौती त हो तर यसलाई ठूलो सम्भावनामा परिणत गर्न सकिन्छ र सक्नुपर्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया