MENU

साहित्य/ कला

ujyaalo forign call inside

ग्रेटवालको बहादुर आरोही

लक्ष्मी लम्साल ‘लक्ष्मीपूजा’ 

नेपालमा वि.सं.२०७२ वैशाख १२ को भूकम्पले जनधनको ठूलो क्षति भएको थियो। भग्नावशेष भएका भौतिक संरचनाजस्तै मानिसका मनबाट आत्मविश्वाश्वास डग्न नदिन गीतसंगीतका माध्यमबाट कलाकारहरुले हामी फेरि उठ्ने उद्घोष गर्दै सान्त्वनाका शब्दहरु प्रस्फुटन गरिरहेका थिए। 

उदय सोताङ् र मनिला सोताङ्को आवाजमा रहेको एउटा गीतमाथि संसारका विभिन्न देशमा रहेका नेपालीहरुमाझ छायांकन गरिँदै थियो– ‘हामी उठ्नेछौँ !’

चीनको ग्रेटवाल अर्थात् लामो पर्खालबारे एउटा भनाइ छ– ‘चीन पुगेर लामो पर्खाल आरोहण गर्न चुक्ने मानिस बहादुर होइन, कायर हो ।’ यदि कुनै विद्वानले ग्रेटवाल चढ्नुलाई कुनै विदेशीको पुरुषार्थको संज्ञा दिन्छ भने म दोश्रोपटक त्यो दूर्जेय पर्खाल पार गर्ने बहादुर नै थिएँ । भूकम्पले भग्न भएका नेपाली मनहरु पुनः जागृत गर्नका लागि ‘हामी उठ्नेछौँ’ बोलको गीत लिएर बेइजिङ्गमा रहेका केही नेपालीहरु वैशाख, जेठको त्यो चर्को घाममा रापिन पुगेका थियौँ ।

संयोग नै मान्नुपर्छ त्यस दिनको गर्मी यति उखरमाउलो थियो कि फर्केर आउँदा त अनुहार नै हाँडीभित्र डढ्नै लागेको मकैजस्तो भएको रहेछतथापि देशका लागि एउटा साहस जुटाउने अभियानमा तीन/चार जना बच्चा र बूढी आमासँगै केही तन्नेरीहरुले ज्याद्रो घाम र बहादुर पर्खाललाई पाखा लगाएका थिए।  

त्यो चर्को घामलाई बिर्सिने हो भने सन् २०१३ को नोभेम्बर अन्तिम साताको अतिक्रमणकारी चिसोलाई पनि सम्झनुपर्छ जतिखेर लामो पर्खालले पहिलोपटक मेरो पाइला चुम्ने मौका पाएको थियो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) ज्ञानविज्ञान प्रतियोगिताका दक्षिण एशियाली विजेताहरु ऐतिहासिक पर्खाल चढ्नका लागि बेइजिङ्ग निम्त्याइएका थिए। दक्षिण एशियामा हिमाल, पहाड र समथर भूमिले बनेका देशहरु रहेकाले त्यहाँका स्थानीयलाई बेइजिङ्गको यो लामो पर्खालको हाउगुजी ठूलो कुरा थिएनतर ठूलो कुरा थियो, बेतोडसँग चल्ने चिसो सिर्सिराहट। 

चिस्सिँदो मौसम अनि पहाडी चुचुरामा ठोक्किनका लागि गहिरा समथर भूमिबाट हुँइकिएको चिसो बतासले त्यस दिन त्यहाँ पुग्ने सबैको हुर्मत लियो। पर्खालका केही खुड्किला नाघ्न नपाउँदै हावाको गति बढ्दै गयो। चिसो र रन्किएको वायुलाई चुनौती दिन सबै विदेशी वीरहरुवीराङ्नाहरु त तम्तयार नै देखिन्थे तर विदेशीहरुका दोभाषे चिनियाँहरु भने खुत्रुकै हुन थाले । बेइजिङ्गमा जन्मिएर, यहीँको सुखसयल, सुकुमार जीवनमा हुर्किएका कलिला युवतीहरु मुटु छेड्ने वतासले हतासिन थाले । 

चिटिक्क पारेर कोरिएका कपालहरु छरपष्ट भए, ठिहिराहटले हातहरु यस्तो बोधो बनाइदियो कि नाकबाट बग्दै गरेको पातलो सिँगान पुछ्ने ताकत पनि बाँकी रहेन। चिसो हावाको झोक्काले सुन्दरीहरु विरुप हुन थाले तर विदेशीका लागि स्वर्णिम अवसर बनेको थियो, यत्रो मनोवैज्ञानिक त्रासदी भरिएको पर्खाल पार गर्ने । त्यसैले चुनौतीहरु आत्मसात् गर्दै एकोहोरो पाइला नापेपछि अन्ततः शिखरसम्म पुगियो। त्यो चिसो हावाले निधारमा टल्किएका पसिनालाई बहाउन पनि सकेन, सुकाउन झन् सक्दै सकेन।

देश विदेशबाट आउने उच्च खानदानीदेखि सर्वसाधारण चिनियाँ पाहुनाको एउटा गन्तव्य थ्यानआनमन चोकपछि यो पर्खाल पनि हो। यहाँ लगेर पाहुनासामु वीरताको प्रमाण पेश गर्नचिनियाँहरु लागिपर्छन्। धेरैका नजरमा यो लामो पर्खाल सगरमाथा चढ्नुजत्तिकै सासहिक हो। त्यत्रो प्रशंसा कमाएको पर्खाल पार गरेपछि जो कोहीमा आत्मविश्वासको पारो चढ्नु र उत्साहको उन्माद बढ्नु अस्वाभाविक पनि होइन। मलाई यस पर्खाल नाघ्नका लागि धेरै कुराहरुले कौतुहलता जगाइरहेका थिए, एक त मानिसहरु चीन भन्ने बित्तिकै ग्रेटवलको उपनाम दिने गर्दछन् ।दोश्रो, मानवनिर्मित विश्वका सात आश्चर्यमध्येको एक पनि हो।तेश्रो, अन्तरिक्षबाट पृथ्वीमा देखिने नगण्य मानव निर्मित वस्तुमा एक ग्रेटवाल भनेर फैलाइएको हल्ला पनि हो।चौथो, राष्ट्रसंघीय युनेस्कोद्वारा सन् १९९७ मा यस पर्खाललाई विश्वको धरोहरको रुपमा नामांकन गरिएको छ। 

लामो पर्खाल आफ्नो स्थापनाकालदेखि यहाँसम्म आइपुग्दा एक लामो इतिहासको साक्षी बनेको छ। पाँचौँशताव्दीको पूर्वदेखि लिएर सोह्रौँशताव्दीको समय लगाएर निर्माण गरिएको यो पर्खालको मुख्य उद्देश्य युद्धकालीन शत्रुहरुको आक्रमणको ढाल बन्नु थियो । शुरुमा ६४ सय किलोमिटर क्षेत्रफलमा रहेको यो पर्खालको विस्तृत क्षेत्रफल ६७सय किलोमिटर पुगेको थियोयद्यपि आधिकारिक रुपमा चिनियाँ पुरातत्व सर्वेक्षण विभागले पर्खालका शाखा आदि जोडेर ८ हजार ८ सय ५१ दशमलव ८ किलोमिटर क्षेत्रफल निश्चित गरेको छ। 

शताव्दी लामो विकास अवधिमा यस पर्खालले मिङ्ग राजवंशकालमा २० देखि ३० लाख मानिसको भोग लिएको थियो भने यसको सुरक्षाकै खातिर १० लाख मानिस तैनाथ गर्ने गरिएको थियो। वर्तमानमा त्यस पर्खालमा चिनियाँ विशेष दिनहरुमा नयाँ नयाँ जोडीहरुको वैवाहिक गतिविधिले पनि इतिहास रच्ने गरेको छ कारण, यस पर्खालले अनेक प्रेमपूर्ण वलिदानका लोककथाहरु पनि सिर्जना गरेको छ।

एउटा लोककथाले रचेको प्रेमको गाथा

छिङ्गराजवंशकाल ईशापूर्व२२१–२०६ को अवधिमा मङ्गनाम गरेका बूढा आफ्नी श्रीमती च्याङ्गसँग बस्थे। एक वसन्तमा निःसन्तान दम्पतीले बगैँचामा लौकाको बीउ रोेपे । बूढाबूढीको हेरचाह पाएर लौका यस्तरी बढ्यो....यस्तरी बढ्यो कि राज्यले देख्ला भनेर उनीहरुले काटेर आधा बनाए । काटेपछि लौकाभित्र एक सुन्दर बालिका देखापरिन्, जसको नाम मङ्गच्याङ्ग न्हुँ भनेर राखियो। समय बित्दै जाँदा बालिका सुन्दर यौवनावस्थामा परिवर्तन हुँदै गइन्, तिक्ष्ण, परिश्रमी, सुशीला । उनी बूढा बाआमाको राम्रो सेवा गर्थिन्, उनको सुन्दरताको वास्ना सर्वत्र फैलिन थाल्यो । एक दिन आँगनमा खेलिरहेका बेला उनले देखिन्, बगैँचामा कोही लुकिरहेको छ। आत्तिएर उनले बुबाआमालाई बोलाइन्, त्यो जवान पनि बगैँचाबाट निस्कियो। 

छिङ्ग राजवंशका प्रथम सम्राट छिङ्ग श्ह्वाङ्गले लामो पर्खाल बनाउन उर्दी जारी गरेपछि प्रत्येक घरबाट एक एक जनालाई बलजफ्ती पक्राउ गरेरश्रम शिविरमा लैजान थालिएको थियो। फान छिलियाङ्गनामका त्यो युवा सरकारी अधिकारीद्वारा समातिने डरले लुक्न मङ्ग परिवारको बगैँचामा घुसेको थियो। केही समय बितेपछि मङ्ग परिवारले केटो इमान्दार र शालीन ठानेर छोरीसँग विहा गराइदिए।

बिहेको तीन दिनमै राजाका प्रतिनिधिहरुले फानलाई पक्रिहाले र उत्तरी चीनमा लगेर लामो पर्खालको निर्माणमा खटाए। मङ्गच्याङ्ग न्हुँको लागि यो घटना असैह्य पीडादायी भयो । उनले बाक्लो कपडा बुनिन् र आफ्ना श्रीमानको खोजीमा घरबाट निस्किइन् । उनले हिमाल चढिन्, नदी तरिन्, रात र दिन, चिप्लिँदै र पच्छारिँदै अन्ततः शानहाइक्वान नामक पर्खालसम्म पुगिन्।आफ्ना पति भेट्न आतुर मङ्गच्याङ्ग न्हुँलाई मजदुरहरुले सुनाए– कामको थकानले फान त मरिसके र उनको शव पर्खालमुनि गाडिएको छ। 

वेदनाले विह्वल भएकी मङ्गच्याङ्ग न्हुँ यति रोइन्, यति रोइन् कि ४०० किलोमिटर पर्खाल त उनका आँशुले नै बगाइदियो । यो देखेर छिङ्गसम्राटले सजाय दिनका लागि मङ्गच्याङ्ग न्हुँलाई हाजिर गराए तर सजाय दिनुको साटो उनको रुपमा मोहित भएर विवाहको प्रस्ताव राख्नपट्टि लागे । उनले तीनवटा शर्तमा विवाह गर्ने मञ्जुरी दिइन् । 

मङ्गच्याङ्ग न्हुँको सौन्दर्य माधुरीमा पागल भएका सम्राटले मङ्गच्याङ्ग न्हुँको शर्तबमोजिम उनका पति फान छिलियाङ्गको शव खोज्न लगाए, राजकीय अन्त्येष्टिगराए र फानको शोकमा सम्राटले कालो वस्त्र लगाएर अन्त्येष्टिमा भाग लिए । 

अनिच्छापूर्वक शर्त पूरा गरिसकेपछि सम्राटले मङ्गच्याङ्ग न्हुँुलाई दरबार भित्राउन खोज्दैथिए। राजाका सुरक्षाकर्मीको आँखा छल्दै उनले पोहाइ समुद्रमा हामफालेर तुरुन्तै प्राण आहुति दिइन् ।

त्यसकारण तत्कालीन राजशाहीको क्रूरता, प्रेमप्रतिको निष्ठा एवं सर्वसाधारणको परिश्रमको बुट्टा भर्दै लामो पर्खालबाट दाम्पत्य यात्राको कसम खानेहरुको भीड नै लाग्ने गर्दछ । 

ईशापूर्वको आठाैँ शताव्दीदेखि चीनमा राज्य सुरक्षाका लागि भनेर पर्खाल बनाउने काम तीव्र पारियो। यो क्रम अनेकन राजाहरुका पालामा निरन्तर रह्यो, त्यसरी पूर्वपश्चिम, उत्तरदक्षिण आदि दिशाहरुबाट पर्खालले घेरेर एउटा चीन भन्ने देशको नक्शांकन गरिएको थियो। कालान्तरमा पर्खाल बन्ने र भत्किने क्रम जारी रह्यो, अन्ततः तिनै पर्खालहरुको अवशेष हालसम्म पनि छ जुन अहिले मानवनिर्मित सम्पदाका रुपमा ख्यातिप्राप्त छ।

चीनको पवित्र र साहसिक ड्रागनजस्तै लामो पर्खाल पनि पहाडका शिरैशिर पूर्वको ल्याउनिङ्ग प्रान्तको यालु नदीदेखि पश्चिमको कान्सु प्रान्तको च्याउक्वानसम्म दौडिएको छ। यसरी यसको लम्बाई१२ हजार ७ सय किलोमिटर पुगेको छ यद्यपि बीच बीचका टुक्रिएका भाग नजोड्दा यसको लम्बाइ आधा जति मात्रै पुग्नेछ। लामो पर्खालको सामरिक, रणनैतिक तथा कुटिल भूमिका धेरै रहेको पाउन सकिन्छ। 

चीन भ्रमण गर्न जो कोहीले यसको कुटिलता र सामरिक महत्वका केस्रा केलाउने हो भने यस पर्खाललाई विद्वान वा जाली कपटीको संज्ञा दिन छोड्ने छैन। पहिलो कुरा त यो पर्खाललाई चीन एकीकरणको सूत्रधार मानियो। 

छिङ्ग वंशका प्रथम सम्राटले दशौँ वर्षसम्म लाखौँ नागरिकलाई यसको निर्माणमा खटाए भने यसको निरन्तरता अन्य राजाहरुका पालामा पनि रह्यो। 

छिङ्गपछि मिङ्ग वंशकाल सन् १३६८ – १६४४ को अवधिमा धेरै भाग निर्मित भएको पर्खालको भाग नै हाल पर्यटकका लागि खुल्ला गरिएको भाग हो। 

त्योभन्दा पनि देशलाई चारैतिरबाट पर्खालले घेरेर शत्रुहरुबाट जोगाउने, शत्रुहरुले आक्रमण गर्नलागेको सूचना एक ठाउँबाट अर्को ठाउँमा आगोको धूवाँ जसरी फैलाउने एक अस्त्रका रुपमा चीनले यसलाई लिएको पाइन्छ। 

यो पर्खाल चीनलाई अन्य मुलुकसँग जोड्ने अर्को सुत्रधार हो किनभने कान्सु प्रान्तको च्याउक्वानमा पुगेपछि यसको यात्रा रेशमी मार्गतर्फलम्किएको पाइन्छ। प्राचीनकालमा चीन र विश्व समुदायको सम्पर्कसूत्र नै रेशमीमार्गथियो। 

विभिन्न राजवंशकालमा निरन्तर बनिदै गएका कारण यसको संरचनामा फेरवदल भएको पाइन्छ। चीनको शान्सी प्रान्तबाट पूर्वर पश्चिमतर्फको पर्खाल संरचनाको उचाइ र चौडाइमा भिन्नता छ भने शान्सीबाट पश्चिमतर्फको पर्खाल माटोद्वारा करिव५.३ मिटरदेखि पूर्वी भाग ७.५ मिटरको उचाइमा बनाइएको छ। भनिन्छ कि पूर्वी भागलाई धेरै चौडा पारेर पकाइएका इँटा र आयाताकार ढुङ्गा सम्मिश्रण गरिएको छ। यो पर्खाल सुरक्षा रणनीति अन्तर्गत तयार पारिएको थियो। युद्ध, आक्रमण र सुरक्षाका सिद्धान्तबाट उत्प्रेरित यस पर्खालका केही सय मिटरका अन्तरमा अग्ला कोठाजस्ता छाइएका भाग बनाइएका छन् । 

त्यहाँ भित्रपट्टि स–साना प्वालहरु छन जसबाट शत्रुको गतिविधि नियालेर आक्रमणको तयारी तथा प्रतिरक्षा गर्ने गरिन्थ्यो। शत्रुका गतिविधि नियाल्ने र सोहीअनुरुप युद्ध रणनीति तयार पार्ने काममा पर्खालले ठूलो भूमिका निर्वाह गरेको छ। 

यो पर्खाल धार्मिक पनि छ। पर्खालको पूर्वदेखि यात्रा सुरु गर्‍यो भने च्याउक्वानप्रवेशद्वार पुग्दा धेरै धार्मिकताको अनुभूति हुन्छ । 

सन् १३४५ मा निर्मित यो पर्खाल हालको राजधानी बेइजिङ्गबाट ५० किलोमिटर उत्तरपश्चिममा पर्दछ । त्यहाँ ठाउँ ठाउँमा ढोकाहरुमा बुद्धका, राजा महाराजाका अलावा शाक्यमुनि बुद्धका अनेकन् आकृति, बुद्धसूत्रहरु खोपिएका छन् ।

ती सूत्रहरु संस्कृत, तिब्बती, मङ्गोलियन, युगुर, चिनियाँ आदि भाषामा खोपिएका छन् जसले यो पर्खालले धार्मिक आस्थालाई पनि बोकेको देख्न सकिन्छ । विशेषतः बौद्ध धार्मिक मूल्यमान्यता पर्खालले अङ्गीकार गरेकाले पर्खाल आरोहीले कम्तीमा शान्तिको उत्प्रेरणा पनि लिन सक्नेछ। 

इतिहासको एउटा कालखण्ड बोकेको लामो पर्खालका बारेमा कत्तिले कथा, कविता र उपन्यास लेखे होलान्, कत्तिले गीत, संगीत र विद्यावारिधि पनि पाए होलान् तर पनि यसले विश्वभरका मानिसका मनमा एक गहिरो छाप छोडेको छ सदा सदाका लागि। हुन त लामो पर्खाल चढ्न पैचिङ्ग नै पुग्नुपर्छभन्ने छैन। यसले चीनका धेरै क्षेत्र छोए पनि यसको महत्ता पैचिङ्गमै देखिन्छ, यसको संरक्षित स्तरीय आकृति पनि पैचिङ्गमै कुँदिएको छ। अन्यत्र धेरै ठाउँमा संरचनाहरु भताभुङ्ग वा अवशेषका रुपमा मात्रै रहेकाले पैचिङ्ग आउने संसारका उच्चपदस्थ अधिकारीदेखि सर्वसाधारणको गन्तव्य पैचिङ्ग ग्रेटवालमा आकर्षित हुने गरेको हो।

ऐतिहासिक पर्खालले चिनियाँ गौरवलाई उजागर गरेको छ। कुनै पनि विदेशी चीनमा आएपछि आफ्नो स्मृतिपटलमा सुरक्षित राख्न चाहने चिनियाँ मौलिकतामध्ये एक लामो पर्खाल पनि हुनुपर्छ । त्यसका अलावा यसले व्यापारिक तथा पर्यटन प्रवद्र्घनमा पनि योगदान गरी आर्थिक समृद्धिमा पनि भूमिका खेल्दै गएको छ। लामो पर्खाल कुँदिएका हस्तकलाका सामग्री, लत्ता कपडा, सम्झना चिनो, खेलौना आदि संसारभरि पुगेका छन् जसबाट सिङ्गो चीनको महिमा फैलिएको छ भने आर्थिक उन्नतिको माध्यम पनि बन्दै गएको स्पष्टै हुन्छ । 

–लक्ष्मी लम्सालद्वारा लिखित संस्मरण ‘निहाउ नमस्ते'बाट । बुलबुल प्रकाशनद्वारा प्रकाशित यो पुस्तक आउँदो बुधबार काठमाडौंमा सार्वजनिक हुँदैछ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया