Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

362_Desh Paradesh 2019_06_04

कार्यक्रम देश परदेशको ३६२ औं वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई जानु अघि दिइने अभिमुखिकरण र यसको प्रभावकारितामा केन्द्रित छ । अभिमुखिकरणमा के सिकाइन्छ अनि नेपालमा सिकाइएका कुरा विदेशमा पुगेपछि कत्तिको काम लाग्दो रहेछ भन्ने विषयमा तयार पारिएको रिपोर्ट सुन्न सक्नुहुनेछ । अभिमुखिकरण किन प्रभावकारी हुन नसेकेको होला भन्ने विषयमा वैदेशिक रोजगारीबाट फर्किएका जेपी सापकोटाले आफ्नो भोगाइसहितको कारण बताउनुभएको छ । गैरकानुनी रुपमा जानेहरुले त यही अभिमुखिकरण पनि लिन पाउँदैनन् । उनीहरुलाई कस्ता समस्या पर्छन त ? केही महिलाका अनुभव पनि प्रस्तुत गर्नेछौं । पहिलेको अभिमुखिकरण प्रभावकारी नभएपछि वैदेशिक रोजगार बोर्डले अभिमुखिकरणको पाठ्यक्रम परिमार्जन गरेको छ । के परिमार्जन भए भन्ने बारेमा बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका कुरा प्रस्तुत गर्नेछौं । अनि नियमित स्तम्भ दिदीबहिनीका कुरामा मलेसिया गएका श्रीमानलाई कमाउन सघाइरहेकी सुनसरीकी मञ्जु मेहताका कुरा पनि आजको कार्यक्रम देश परदेशमा समेटेका छौं ।