वडाध्यक्षको जथाभावी सिफारिस, एउटै वडाका २० बालबालिका बालगृहमा

 बैशाख २४, २०७५ सोमबार ९:४७:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम, वैशाख २४ – मुसीकोट नगरपालिकामा रहेको नरसिङ हिमालय अनाथ बालगृहमा जुम्ला जिल्लाको एउटै वडाका २० बालबालिका रहेका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–१ का २० जना बालबालिका र त्यही गाउँपालिका वडा नम्बर २ का ४ जना गरी २४ जना बालबालिका रहेका छन् ।

अनाथ बालगृहमा ल्याइएका २२ जना बालबालिकाका आमा–बुबा छन् । २ जना बालबालिका मात्रै अनाथ छन् ।

जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले अनुगमनको क्रममा अभिभावक सहितका एउटै वडाका १९ र अर्को वडाका ३ जना बालबालिका रहेको पाइएको बताउनुभयो । बाल गृह सञ्चालकले पारिवारिक र आर्थिक अवस्था नाजुक भएकाले पठन पाठनका लागि भन्दै बालबालिका ल्याएको बताए पनि यसको विषयमा अनुसन्धान भैरहेको बाल अधिकार अधिकृत ओलीले बताउनुभयो । 

 

वडा अध्यक्षको हचुवा सिफारिस

पातारासी गाउँपालिका–१ जुम्लाका अध्यक्ष दत्तबहादुर बुढा र २ नम्बर वडा अध्यक्ष कर्ण बोहोराले आर्थिक अवस्था कमजोर रहेको तथा बालबालिकाहरु जोखिममा रहेको भनेर सिफारिस पठाए पनि एउटै वडाका धेरै बालबालिकालाई यसरी हचुवाको भरमा सिफारिस गरेको देखिन्छ ।

पातारासी गाउँपालिका जुम्लाका अध्यक्ष लछिमन बोहोराले यस बारेमा आफूलाई थाहा नभएको बताउनुभएको छ । बालबालिकाका अभिभावकहरु सिफारिस लिन गाउँपालिकामा आएको भए पनि आफूले विस्तृत विवरण नबुझेर सिफारिस नदिने बताएपछि वडाबाट लिएको सिफारिस लिएको हुनसक्ने अध्यक्ष बोहोराले बताउनु भयो । 

 

मापदण्ड नपुगेको बालगृह 

नरसिङ हिमालय अनाथ बालगृहले कानुनी प्रक्रिया पूरा गरेता पनि बाल गृह सञ्चालनका लागि आवश्यक न्युनतम मापदण्ड पूरा गरेको छैन । उक्त बालगृहले खान, बस्नको राम्रो प्रबन्ध गरेको छैन । 

बालगृह सञ्चालनका लागि आर्थिक स्रोत पनि देखाउन नसकेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले जनाउनु भयो । यस अघि पनि मुसिकोट नगरपालिकाको अनुमगमन समितिले यने बालगृहको अनुगमन गरेको थियो ।

नगरपालिकाका उपमेयर प्रेमकुमारी सुनारको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनको क्रममा कानूनी प्रक्रिया तथा मापदण्ड कायम गर्न निर्देशन दिएको थियो । बालगृह सञ्चालक विवेक बुढाले जोखिममा परेका कारण जुम्लाका बालबालिका बालगृहमा ल्याएर पठनपाठन गराउन थालिएको बताउनु भयो ।
 
उहाँले वडा कार्यालयको सिफारिस र अभिभावकको सहमतिलगायत सबै प्रक्रिया पूरा गरेरै बालबालिका ल्याएको जनाउनुभयो । बालगृहको मापदण्ड पूरा गर्ने प्रक्रियामा रहेको बुढाले प्रतिक्रिया दिनुभयो ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया