मलेसियाबाट फर्किएका भुवनको ठेलागाडा व्यापार : ‘विदेश जाने रहर छैन, पढेर नि सेकुवा पोल्छु’

 कात्तिक ३०, २०७५ शुक्रबार ९:३३:३२ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – ‘विदेश जाने रहर छैन, देशले कर गरेको नि छैन, पढेर नि सेकुवा पोल्छु आफ्नै देशमा । मलाई लाज लाग्दैन ।’ नाङ्लोमा यस्तो आकर्षक मेमो लेखेर ठेलागाडाको बाहिर झुण्ड्याइएको छ । बाटोमा हिँड्नेहरु एकछिन टक्क रोकिन्छन् र हेर्छन्, बसको झ्यालबाट चियाउनेहरु पनि हुन्छन् । कसैले फोटो खिच्छन् ।नेपाली नबुझ्ने विदेशीहरु पनि के लेखेको रहेछ भनेर अरुलाई सोध्छन् । कसैले बुझाइदिएपछि मख्ख पर्छन् । अनि यति राम्रो सन्देश लेखेको ठाउँभित्र के रहेछ भनेर ठेला भएतिर जान्छन् । 

ठेलाभित्र राखिएका खानेकुराका परिकार देखेर मन नरसाउने कुरै भएन । मःम को अर्डर गरिहाल्छन् । काठमाडौं ठमेलको पिपलको चौताराबाट कपुरधारातर्फ थोरै ओरालो लागेपछि सडकको बायाँपट्टि राखेको यो ठेलागाडा काभ्रेपलाञ्चोकका २७ वर्षीय भुवन हुमागाईँको हो । चार वर्षअघि मलेसियाबाट फर्किएका हुमागाईंले ठेला सञ्चालन गर्नुभएको धेरै समय पनि भएको छैन । यसपालीको दसैँमा उहाँले ठेलागाडा किनेर काम थाल्नुभएको हो ।

ठेलागाडामा मःम बेच्नु कुनै नौलौ काम त होइन । तर उहाँले भने त्यही सामान्य कामलाई नौलो तरीकाले प्रस्तुत गर्नुभयो । उहाँको दिमागमा ग्राहकलाई आकर्षण गर्ने एउटा नयाँ विचार फुर्यो । जुन विचार उहाँको लामो समयको संघर्ष र अनुभवले जन्माएको हो । त्यही भएर त लेख्न मन लाग्यो, ‘विदेश जाने रहर छैन, देशले कर गरेको नि छैन, पढेर नि सेकुवा पोल्छु आफ्नै देशमा । मलाई लाज लाग्दैन ।’

एकलाखको लगानीमा चिटिक्कको तयारी   

महिनाको सात हजार भाडा दिने सम्झौतामा ठमेलमा दुई आना जति खाली जग्गा भेटियो । ठेलागाडा, चुलो, मःम पकाउने भाँडा, ग्यास सिलिण्डर, बस्नको लागि केही थान कुर्सी र आवश्यक सामान जोडेर उहाँले करिब एकलाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गर्नुभयो ।

दिउँसो एक बजेदेखि राति १० बजेसम्म उहाँको ठेलामा व्यापार चल्छ । ठमेल क्षेत्रमा मान्छेहरुको चहलपहल अरुबेला भन्दा साँझ र राति बढी हुने भएकाले त्यतिबेला व्यापार पनि बढी हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँको ठेलागाडामा बफ मःम, आलुचिप्स, चिकेन ललिपप, ससेज लगायतका परिकार पाइन्छन् । 

दैनिक पाँचदेखि सात हजार रुपैयाँसम्म कारोबार हुँदै आएको छ । बिस्तारै ग्राहकले यहाँका खाजाको स्वाद चाखेपछि व्यापार बढ्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

भुवनले पहिले पनि होटेल क्षेत्रमा नै काम गरेकाले खाजाका परिकार बनाउन समस्या नै भएन । काममा उहाँलाई भाइ र श्रीमतीले सघाउनुहुन्छ । भुवन आफू पनि व्यस्त हुनुहुन्छ । उहाँ तीन बजेदेखि राति १० बजेसम्म सानेपाको एउटा रेष्टुरेण्टमा  व्यवस्थापन हेर्ने काम गर्नुहुन्छ । बिहानभरि मःम तथा स्न्याक्सका अन्य सामानहरु तयार गर्ने काम हुन्छ । त्यसपछि  दिउँसोको एक बजेतिर ठेला तयार पारेर आफ्नो कामको लागि उहाँ सानेपा जानुहुन्छ ।

भाइ पनि ठमेलकै कुनै रेष्टुरेण्टमा दिनभरी काम गर्नुहुन्छ । श्रीमती बिहानको समय क्याम्पस पढ्न जानुहुन्छ । दिउँसो एक बजेदेखि साँझ पाँच बजेसम्म ठेलागाडा उहाँले नै हेर्नुहुन्छ । त्यसपछि रातिको समयमा भुवनको भाइले । 

तीनैजना कहीँ न कहीँ व्यस्त भए पनि ठेला व्यवसायको लागि समय छुट्याउन सफल भएका छन् । ‘काम गर्ने भनेको तर समय नै मिल्दैन’ भन्नेहरुका लागि उहाँको ठेला व्यवसाय अपवाद हो ।

‘विदेश गएर के नै हुन्छ र ?’ 

भुवनको परिवारमा बुवाआमा, श्रीमती र भाइ हुनुहुन्छ । गाउँमा बुवाआमा मात्र बस्नुहुन्छ । भाइ र श्रीमतीसँगै भुवन काठमाडौंमै बस्नुहुन्छ । 

घरको आर्थिक अवस्था कमजोर भएकाले उहाँले धेरै पढ्न पाउनुभएन । स्कुल जाने उमेरमा कमाउन हिँड्नुपर्यो । ११ वर्षकै उमेरमा उहाँ घरबाट काठमाडौं आउनुभयो । यहाँ विभिन्न होटेलमा काम गर्दै कमाउन थाल्नुभयो । केही पैसा घर पठाउने गर्नुभयो । यति कमाइले उहाँलाई चित्त बुझेन । उहाँ भारतको चेन्नई कलकत्ता, बैंगलोरसम्म पुग्नुभयो । जहाँ गए पनि होटेल क्षेत्रमा नै काम गर्दै जाँदा उहाँलाई यसमा राम्रो अनुभव भयो । खानाका विभिन्न परिकारहरु बनाउने काम सिक्नुभयो ।

सबै साथीहरु विदेश गए । भुवनलाई पनि विदेश गयो भने यताको भन्दा राम्रो कमाई हुन्छ भन्ने लाग्यो । वि.सं २०७१ मा भुवन मलेसियाको लागि उड्नुभयो । त्यहाँ गएर होटेलमा काम त मिल्यो, तर भनेजति पैसा भने मिलेन । ‘नेपालबाट नेपाली ५० हजार तलबको सम्झौता भएको थियो । तर त्यहाँ एयरपोर्टमा झर्नेबित्तिकै सम्झौतापत्र र पासपोर्ट नै गायब पारियो’ उहाँले दुखेसो पोख्नुभयो, ‘११ महिना जसोतसो काम गरेपछि नेपाली राजदूतावासबाट विभिन्न प्रक्रिया गरेर पासपोर्टबिना नै नेपाल आइयो ।’

मलेसियामा दुःख खेपिरहँदा नेपाल फर्किन पाए मात्र पनि नेपालमै केही गर्थें भन्ने उहाँको सोच थियो । ‘यस्तो गर्नुपर्छ भन्ने कुरा पनि उतै हुँदा सोचेको हो’ उहाँले हाँस्दै भन्नुभयो । 

विदेशमा भन्दा स्वदेशमै बसेर आफ्नो काम गर्न पाउनु ठूलो उपलब्धी हो भन्नुहुन्छ, भुवन । एकपटक वैदेशिक रोजगारीमा दुःख झेलेर फर्किएका उहाँ भन्नुहुन्छ, ‘के छ र विदेशमा ? दुःख गर्न सक्यो भने यहाँ नै राम्रो कमाई गर्न सकिन्छ ।’

श्रीमतीको साथ

भुवनको गएको असारमा मात्रै बिहे भएको हो । उहाँकी श्रीमती कविता बीबीएस तेस्रो वर्षमा पढ्दै हुनुहुन्छ । आफूले पारिवारिक समस्याले गर्दा राम्रो पढाई गर्न नसके पनि श्रीमतीको पढाई राम्रो होस भन्ने चाहनुहुन्छ, भुवन । 

पढाईसँगै काम गर्दा यसले पढाइमा असर नगर्ने तर उल्टै सजिलो हुने कविता बताउनुहुन्छ । बिहेपछि श्रीमानको कमाइमा निर्भर हुने कतिपयको तुलनामा कविता फरक हुनुहुन्छ । ‘मोवाइलमा रिचार्ज कार्डको लागि पनि अरुलाई माग्न मन लाग्दैन’ उहाँ भन्नुहुन्छ, ‘स्नातक सकिएपछि एलएलबी गर्ने सोच छ, त्यतिबेलासम्म श्रीमानको काममा नै सहयोग गर्छुँ, कुनै पनि काम सानो ठूलो हुँदैन ।’ 

कविता आफू शाकाहारी हुनुहुन्छ । तर पनि बफ मःम र चिकेन परिकारहरु बनाउने र बेच्ने गर्नुहुन्छ । साथीहरुले सोध्ने गर्छन्, भेजिटेरियन भएर पनि ननभेजको काम गर्दा अप्ठ्यारो लाग्दैन भनेर । त्यस्तालाई उहाँले प्रतिप्रश्न गर्नुहुन्छ, ‘काम गर्न पनि कतै अप्ठ्यारो हुन्छ र ?’

काम गर्दै मिलेको शिक्षा

‘एघार वर्षको उमेरमा घरबाट भागेर काठमाडौं आएदेखि होटलमा काम गर्न थालियो । पछि अरु काम गर्ने मनै लागेन’ भुवनले भन्नुभयो, ‘एउटै क्षेत्रमा लामो समय काम गरेर होला खाना बनाउनेदेखि लिएर व्यवस्थापनसम्मको प्रायः सबै ज्ञान छ ।’ 

भुवनले यही ज्ञानको प्रयोग गरेर आफ्नो व्यवसाय गर्ने सोच बनाउनुभयो । एकै पटक धेरै लगानी गर्न उहाँको मनले मानेन । एकैपटक ठूलो लगानी गरेर डुब्नुभन्दा सानो लगानीबाटै ठूलो आम्दानी गर्नुपर्छ जस्तो उहाँलाई लाग्छ । ‘राम्रो लगानी गरेका होटेलहरु पनि डुबेको आफैंले देखेको छु’ उहाँले भन्नुभयो । 

सानै उमेरदेखि काम गर्दै हुर्केका भुवन भारतदेखि मलेसियासम्म पुग्नुभयो तर अर्काकै होटलमा काम गर्न । ‘यति घुमेर मलाई एउटा कुराको ज्ञान मिल्यो’ उहाँले भन्नुभयो, ‘अर्काकोमा जति काम गरे पनि सन्तुष्टी त आफ्नै कामले दिनेरहेछ । काम सानो होस् या ठूलो खासै फरक नपार्दो रहेछ ।’ 

 

अन्तिम अपडेट: मंसिर २९, २०७५

बेदानन्द जाेशी

समसामयिक विषयमा कलम चलाउने बेदानन्द जाेशीलाई फेसबुकट्वीटरमा भेट्न सकिन्छ । 

तपाईको प्रतिक्रिया