फ्राइडे रिलिज : दैलो, गुनगुन र अनुग्रहसँगै हिन्दी चलचित्र पिहु एकैसाथ प्रदर्शनमा

 कात्तिक ३०, २०७५ शुक्रबार १२:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – फ्राइडे रिलिजअन्तर्गत आज ३ चलचित्रहरु एकैसाथ प्रदर्शनमा आएका छन् । यस्तै दसैँको घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले पनि ३८ औ दिनमा प्रदर्शन सुरु गरेको छ । 

नेपालका कतिपय हलहरुमा अझै पनि चलचित्र ‘छक्का पञ्जा ३’ ले राम्रो व्यापार गरिरहेको बताइएको छ । यता आजबाट प्रदर्शनमा आएका ३ चलचित्रहरु हुन् दैलो,गुनगुन र अनुग्रह । यसै गरी आजैबाट हिन्दी चलचित्र पिहु पनि प्रदर्शनमा आएको छ । 

 नेपाली चलचित्र दैलोमा समाजमा हुने गरेका विभिन्न सामाजिक घटनाहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । त्यस चलचित्रमा अविभावकको सन्तानप्रतिको जिम्मेवारी, समाजमा कुरीतिका रुपमा रहेको दाइजो प्रथालगायतका कुराहरुलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । 
 
जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको त्यस चलचित्रमा सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको छ । चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयुक्त रुपमा उक्त चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापागाई, दीपक डोटेल, मुना प्रसाईं लगायतको अभिनय रहेको छ । 

चलचित्र दैलोसँगै आजैबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र हो गुनगुन । चलचित्र गुनगुन पुकार भट्टराईको निर्देशनमा तयार पारिएको हो । चलचित्र क्षेत्रमा लामो समय बिताए पनि पुकारले चलचित्र गुनगुनबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्र गुनगुनमा नायिका सञ्चिता लुइँटेल, सुवास मेचे, नवीन श्रेष्ठ, रविनप्रताप सेन, देशभक्त खनाल, राधा दाहाललगायत निर्देशक भट्टराईको समेत मुख्य अभिनय देख्न सकिन्छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व र सौरभ लामाको छायांकन रहेको छ । चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् । चलचित्र प्राथना फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अनुग्रह । अन्य २ चलचित्रको तुलनामा चलचित्र अनुग्रहको प्रचारप्रसार केही कम भएको देखिन्छ । ‘अनुग्रह’सामाजिक कथा बोकेको पारिवारिक चलचित्र हो । चलचित्रको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित चलचित्रमा तन्नेरी प्रेमकथा र परिवारको मायालाई समेटिएको छ ।

जोनिका सेन्चुरीको प्रस्तुतिमा  सन्तोष खबासले निर्माण गरेको चलचित्रमा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको अभिनय रहेको छ । राजु दोङ्ग, ज्ञानेद्र गिरि र ड्रोकास विश्वास चलचित्रको सह–निर्माता हुन् । चलचित्रमा विक्रम डीसीको छायांकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको छ । चलचित्र लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको हो । 

आजैदेखि बलिउड चलचित्र पिहु पनि प्रदर्शनमा आएको छ । विनोद कापडीको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा २ वर्षकी बालिका मायरा विश्वकर्मा मुख्य भूमिकामा छन् । यो चलचित्रलाई विनोदले सत्य घटनामा आधारित रहेर निर्माण गरेका हुन् ।

चलचित्रमा २ वर्षकी बालिका अर्थात पिहुले घरभित्रै फन्दामा परेपछि भोगेका कुराहरुलाई समेटिएको छ । समस्यामा परेकी २ वर्षकी बालिकाको आँट यो चलचित्रमा देखाइएको छ । यस चलचित्रमा मायारासँगै  प्रेरणा शर्मा मुख्य भूमिकामा छन् ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया