‘शिक्षाका लागि विश्व अभियान’को सम्मेलन काठमाडौंमा सुरु

 कात्तिक ३०, २०७५ शुक्रबार १४:०:५२ | उज्यालो सहकर्मी

काठमाडौं – ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु हुने भएको छ ।

सार्वजनिक शिक्षालाई विश्वभर गुणस्तरीय बनाउने गरी आवश्यक रणनीति तय गर्ने मुख्य एजेन्डासहित शुक्रबारबाट काठमाडौंमा ‘शिक्षाका लागि विश्व अभियानको सम्मेलन’ सुरु भएको हो ।

तीन दिनसम्म चल्ने सम्मेलनले विश्वभर सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक नीति तय गर्ने ‘शिक्षाका लागि विश्व अभियानको सम्मेलन’ नेपाल अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक शिक्षाको माध्यामबाट राष्ट्रको समग्र विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले राष्ट्रको समृद्धिको मुख्य आधार शिक्षा भएकाले सबैलाई शिक्षाको दायरामा ल्याउन नेपाल सरकारले विशेष अभियान नै सञ्चालन गरिरहेको स्पष्ट पार्नुभयो ।

विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा सञ्जालको रुपमा रहेको यो अभियानको सम्मेलनमा सयभन्दा बढी देशका २ सय ५० जनाभन्दा बढी शिक्षाप्रेमीहरु सहभागी भएका छन् ।

सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना मोहम्मदले पनि सम्बोधन गर्नु भएको छ । अभियानले न्याय, समानता र समावेशीताको लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ ।

सम्मेलनले अभियानको नयाँ नेतृत्व पनि चयन गर्ने ‘शिक्षाका लागि विश्व अभियान’, नेपालका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया