१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन हुन्छ, बढी भएको भारतलाई बेचिन्छ : मन्त्री पुन

 कात्तिक ३०, २०७५ शुक्रबार १८:०:१५ | नवीन गुरुङ
unn.prixa.net

शुक्रबार संखुवासभाको तुम्लिङ्गटारमा बोल्दै ऊर्जा मन्त्री वर्षमान पुन

संखुवासभा – संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले १० वर्षमा १५ हजार मेगावाट  विद्युत्त उत्पादन हुने बताउनुभएको छ । 

शुक्रबार संखुवासभाको तुम्लिङ्गटारमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पुनले    तीन वर्षमा तीन हजार मेगावाट, पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत्त नेपालकै खोलानालाबाट उत्पादन हुने दावी गर्नुभएको छ । उत्पादन भएको १५ हजार मेगावाट विद्युत्तमध्ये १० हजार मेगावाट विद्युत्त देशभित्रै खपत गर्ने वातावरण तयार गर्ने पनि उहाँले बताउनुभयो ।  त्यसपछि दुई अंकले आर्थिक वृद्धि हुने मन्त्री पुनको दावी थियो । मन्त्री पुनले भन्नुभयो, ‘अब देशभित्रै ८ देखि १० हजार मेगावाट विद्युत्त खपत गर्ने वातावरण बनाउन लागि पर्ने र बाँकी रहेको ५ हजार मेगावाट विद्युत्त क्षेत्रीय बजार भारततर्फ निर्यात गरिनेछ ।’

नेपालको बजार र कलकारखानाबाट बढी भएको पाँच हजार विद्युत्त छिमेकी देश भारत मात्रै नभएर उत्तरी छिमेकी राष्ट्र चीन र बंगलादेशमासमेत निर्यात गर्न सकिने मन्त्री पुनले बताउनुभयो । विद्युत्तमा आत्मर्निभर भएपछि विद्युत्तको सञ्जाल अथवा नेपाललाई विद्युत्तको हब नै बनाउन सकिने समेत मन्त्री पुनले दावी गर्नुभयो ।

नेपाल सरकारले १९ वटा जलविद्युत्त आयोजनाहरुको अध्ययन गरिरहेको जानकारी दिँदै सरकार आफैले उत्पादन गर्ने योजना बनाएको समेत मन्त्री पुनले जानकारी दिनुभयो । १९ वटा जलविद्युत्त आयोजनामध्येको संखुवासभाको अपर अरुण नेपाल सरकार आफैले बनाउने निर्णय गरिसकेको र यसमा विश्व बैङ्कले लगानी गर्ने सहमति भएको समेत कार्यक्रममा जानकारी दिनुभयो । 

कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमिरेले आयोजना निर्माणका लागि प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो ।

जोगबनी—विराटनगर—किमाथाङका (कोशी राजमार्ग) सडक अन्तर्गत भोटेखोला गाउँपालिकाको गोला र वरुण बजारनजिकै आयोजनाको बाँधस्थल बस्नेछ । यो आयोजना अहिलेसम्म विश्वमै सस्तो रुपमा बन्ने आयोजना भएको बताइएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थ मन्त्री डा. युवराज खतिवडा, विश्व बैंकका उपाध्यक्ष  हाटविग साफेर, ऊर्जा सचिव दिनेश घिमिरे, कुलमान घिसिङलगायतको टोली आयोजनास्थलको स्थलगत अध्ययन र अनुगमन गर्नुभएको हो । 

अपर अरुणबाट ७ सय मेगावाटभन्दा बढी विद्युत्त उत्पादन हुनेछ भने आयोजनामा ९० करोड अमेरिकी डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । आयोजना निर्माण स्थलमा नदीको वार्षिक बहाव दर उच्च रहेकोले ऊर्जा बढी प्राप्त हुने र उच्च हिमाली क्षेत्रमा रहेका कारण खेतीयोग्य जमिन, मानव बस्ती कम भएकाले वातावरणीय प्रभाव कम पर्ने समेत बताइएको छ । 

कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कार्की, प्रतिनिधि सभाका सांसद राजेन्द्र गौतम, राष्ट्रिय सभाका विधान व्यवस्थापन समितिका सभापति पर्शुराममेघी गुरुङ, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलगायतका जिल्लाका राजनैतिक दलका प्रतिनिधि उपस्थित थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया