प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडाैं - विद्युतीय स्वचालित कारोबार प्रणाली प्रस्थान बिन्दुको रुपमा रहेको अनलाइन प्रणाली विधिवत उद्घाटन भएर कारोबार सुरु भएको एक साता नाघेको छ । तर सोचेजस्तो अनलाइन प्रणाली नआएको भन्ने गुनासो पनि आएको छ ।
सुरुवात भएको र नेपालको सन्दर्भमा नयाँ प्रणाली भएको हुँदा यसमा अभ्यस्त हुन नसक्दा साताको कारोबार विभिन्न अनिश्चितताको भुमरीमा हराए झैँ भएको छ । एक्कासी नयाँ प्रणालीमा फड्को मार्दा त्यसमा हुने असहजता स्वाभाविक हो ।
विस्तारै अभ्यस्त हुँदै जाने हुँदा यसले निकट भविष्यमै भने जस्तो प्रणालीको विकास हुनेमा विश्वस्त हुन सकिन्छ ।
वर्षौंदेखि शेयरबजारले प्रतिक्षा गरेको स्वचालित विद्युतीय कारोबार प्रणालीको सुरुवात गराउन नेपाल स्टक एक्सचेन्ज प्रयासरत रहे पनि अनेकौं बाधा व्यवधान (मुद्दा, नियामकको असहयोग) को बावजुद पनि जडान भएर सञ्चालनमा आएको छ ।
एक वर्ष समाप्त भएर पहिलो त्रैमासिक बितेर दोस्रो त्रैमासिक पनि एक महिना बित्न लाग्दा पनि कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले अझसम्म पनि लाभांश घोषणा नगर्दा र घोषणा गरेकाले साधारणसभा आह्वान नगर्दा शेयरधनी अलमलमा परेको देखिन्छ ।
दसैं तिहार खर्च नदिए पनि मंसिर थन्क्याउने खर्च देलान् भनेर चल्ने ठट्टा अब जाडोमा न्यानो किन्न दिने होलान् भन्नेमा पुगेको छ ।
त्रैमासिक बितेको एक सातामै वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने वाणिज्य बैंक समूहले ३०अाैं दिनमा सार्वजिनक गरेका छन् ।
अघिल्लो वर्षको लाभांशको प्रतिक्षामा बसेका शेयरधनीलाई पहिलो त्रैमासिकको लोभलाग्दो प्रतिवेदन कागलाई बेल जस्तो भएको छ ।
नाडेप लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि मंसिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।त्यस्तै आईएमई जनरल इन्सुरेन्सले पनि ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि मंगसिर ८ गते बुक क्लोज गर्ने भएको छ ।
जारी भइरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।
हिमालय उर्जा विकासको साधारण शेयर दोलखा जिल्लाका साविकका श्यामा, माली, शहरे, च्यामा र रामेछापका साविकका चुचुरे, ठोसे, रसनालु, बेताली, नामाडी र फुलासीवासीले मात्र आवेदन गर्न पाउनेछन् ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर कर्मचारी संचय कोषका बचतकर्ताले मात्र आवेदन गर्न पाउनेछन् ।
एभरेष्ट, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड बाहेक अन्य वाणिज्य बैंकले लाभांश घोषणा गरेका छैनन् ्र घोषणा भएका तर साधारणसभा आह्वान नभएका कम्पनीको सूची तालिकामा दिइएको छ ।
कम्पनीहरुले साधारणसभा समेत शुरु गर्न थालेका छन् ।
छिमेक लघुवित्तले प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीको कार्यकाल एक वर्ष थप गरेको छ । लक्ष्मी लघुवित्तमा सञ्चालक हेरफेर भएका छन् । प्रबर्द्धक लक्ष्मी बैंकले अजयविक्रम शाहको सट्टा अमित शर्मा र चाँदनी झाको बदलामा अनिता उपाध्यायलाई मनोनित गरेको छ ।
पोखरा फाइनान्सका सर्वसाधारण तथा संस्थापक समूहका संचालक क्रमशः माया गुरुङ र डा। दीर्घमान गुरुङले राजिनामा गरेका छन् ।
त्यस्तै आरम्भ लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले राजिनामा गरेका छन् ।
आरम्भले रिक्त पदमा पुस्कर घिमिरेलाई निमित्त तोकेको छ । राधी विद्युत कम्पनीले ध्रुबराज मिश्रलाई अध्यक्षमा चयन गरेको छ । राधी विद्युत कम्पनीमा लमजुङ विद्युत विकास कम्पनीले विनय भण्डारीलाई फिर्ता बोलाएर कुलविक्रम शाहलाई मनोनयन गरेको छ ।
धितोपत्र बाेर्डले जोशी हाइड्रोपावरलाई १४ लाख ४८ हजार ४ सय ६० कित्ता साधारण शेयर जारी गर्न स्वीकृति दिएको छ । चौतारी लघुवित्तले स्वीकृति पाएर पनि प्राथमिक शेयर जारी नगरी विशेष सभा गरि पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, शुभम् पावर कम्पनी, रुरु जलविद्युत परियोजना, माउन्टेन हाइड्रो, युनियन हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जनसेवी लघुवित्त, आशा लघुवित्त, स्पर्श लघुवित्त, भैरवकुण्ड हाइड्रोपावरले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् ।
सिद्धार्थ बैंकले सिद्धार्थ बैंक ऋणपत्र २०८२ (१० दशमलव ५ प्रतिशत ब्याज) जारी गर्न बाेर्डसँग अनुमति मागेको छ । ऋणपत्रको रकम २ अर्ब रहेको छ ।
सूर्य लाइफ इन्सुरेन्सले ७० प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको छ । बरुण हाइड्रोपावर, सिर्जना फाइनान्स, मिथिला र उन्नति लघुवित्तले पनि हकप्रद जारी गर्न अनुमति मागेका छन् ।
ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, एनएमबी -५०, एनआईसी एसिया ब्यालेन्स फण्ड र नबिल व्यालेन्स फण्ड-२ ले बिभिन्न आकारका म्युचुअल फण्डको लागि अनुमति मागेका छन् ।
ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, ले अनुमति मागेको धेरै समय बिते अनुमति पाएको छैन । बाँकी हालै दर्ता भएका हुन । त्यस्तै एनआईबीएल क्यापिटलले खुलामुखी म्युचुअल फण्डको अनुमति मागेको भए पनि अनुमति पाएको छैन ।
लाइफ इन्सुरेन्स कर्पोरेसनको कर्पोरेट कार्यालय पुतलीसडकमा रहेके स्टार मलमा स्थानान्तर भएको छ ।
अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ ।