प्रचण्डको भुँडी सन्देश !

 मंसिर १, २०७५ शनिबार ७:५०:१५ | मिलन तिमिल्सिना
unn.prixa.net

ठूलो मान्छेका ठूलै भुँडी । आश्चर्य, अचम्म र उदेकलाग्दो कुरो त हैन । तर पहिलोपटक ठूलो मान्छेका पुटुक्क परेको ठूलो भुँडी देख्दा देख्नेहरुलाई अचम्मै लाग्यो ।

ओहो प्रचण्डको भुँडी त कति ठूलो ! अझ बादलको त झन् घ्याम्पो जत्रो ! यो भुँडीभित्र के होला ? यति ठूलो भुँडी कसरी बोकेर हिँड्न सकेको होला ? के खाएर भुँडी त्यत्रो भएको होला ? 

केही काम नपाउनेहरुका भुँडी छेउको मनभित्र भुँडीबारे नानाभाँतीका कुरा खेले । घ्याम्पे भुँडी भएका अरु भुँडीवालहरुलाई आरिस लाग्यो । भुँड्के भुँडीहरुलाई डाहा लाग्यो । ख्याउटे भुँडीहरुलाई त अचम्म र उदेग मात्रै लाग्यो–बडेमानको भुँडी देखेर ।

कपडाले छोपेको भुँडी हतपती देखाउन हुँदैनथियो, देखिहाल्यो । भुँडी देखियो भनेर मान्छेले कुरा काटे । तातोपानीमा नुहाउन गए भनेर पनि रिस गरे । त्यसमाथि हेलिकप्टर नै चढे भनेर पनि खेदो खने ।  

त्यति ठूलो भुँडी भएका मान्छे काठमाडौंदेखि तातोपानीसम्म लखरलखर हिँडेर जान पनि मिल्दैनथियो । बसमै गएका भए पनि कुरा काट्नेले कुरै काट्थे – यति ठूलो भुँडी भएका मान्छे पनि के बस चढेर आएको होला भन्थे । हिँडेर गएको भए पनि कुरै काट्थे, गुडेर गएको भए पनि कुरै काट्थे ।

यसै पनि कुरा काट्ने, उसै पनि कुरा काट्ने भएपछि भुँडीवाललाई हेलिकप्टर नै चढ्नु ठीक लाग्यो । त्यसमाथि हेलिकप्टरले प्रायः भुँडीवालहरुलाई नै बोक्छ । अझ भनौं भुँडीवालहरुकै लागि हेलिकप्टर उड्ने गर्छ । हेलिकप्टरको अविष्कार नै भुँडीवालहरुका लागि त भएको हो । त्यसैले हेलिकप्टरले भुँडीवाललाई बोकेर नुहाउने ठाउँमा पुर्‍यायाे ।

ठूलो मान्छेले पनि नुहाउनुपर्छ, मैलोधैलो बस्न मिल्दैन । शरीरलाई सञ्चो गर्छ भने तातोपानीमा पनि डुबुल्की मार्न पाउनुपर्छ । ठूलो मान्छे भयो भन्दैमा कपडा लगाएरै नुहाउन मिल्दैन, खोल्नुपर्छ । कपडा खोलेपछि भुँडी देखिन्छ । धन्न भुँडी मात्र देखियो । समान प्रकारका दुई भुँडी ।

तातोपानीमा डुबुल्की मार्दा छर्लंग भएको भुँडी देखेर धेरैले भैरव अर्यालले ‘जय भुँडी’ पनि सम्झे । अर्यालले ‘जय भुँडी’ मा भुँडीलाई मुख्यतः चार भागमा वर्गीकरण गरेका छन् । हाँडीघोप्टे भुँडी, घ्याम्पे भुँडी, टाकनटुकन भुँडी र ठण्डाराम भुँडी ।

भैरव अर्यालको व्याख्या अनुसार हाँडीघोप्टे भुँडी सधैं हाँडीजस्तो मुख बाइरहेको हुन्छ । घ्याम्पे भुँडी हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्रायः उस्तैउस्तै हुन्छ । अनि टाकनटुकन भुँडीलाई चाहिँ नवैद्य अर्थात आहारा जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी हुँदैन । अनि ठण्डाराम भुँडी चाहिँ प्रायः खोक्रै रहन्छ । हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका यी ठण्डाराम भुँडीहरु सधैं भकुन्डिरहेका छन् । 

तातोपानीमा बडेमानको भुँडी देखेर तीनछक पर्नेहरुलाई त्यो भुँडीको प्रकार कुन हो भनेर छुट्याउन मुश्किल पर्ला । भुँडी देखेर आश्चर्य मान्ने टाकनटुकन र ठण्डाराम भुँडी भएकाहरुले त हाँडीघोप्टे या घ्याम्पे भुँडीकै जात हो पनि भनेका छन् । तर मेरो ठम्याई छ, तातोपानीमा सार्वजनिक भुँडी भैरव अर्यालको जय भुँडीमा छुट्याइएको कुनै वर्गको भुँडीसँग मेल खाँदैन । यो अर्कै जातको भुँडी हो । 

सबैले बुझ्दा हुन्छ पुटुक्क उठेको त्यो भुँडी समृद्धिको प्रतीक हो । सबैका भुँडी यसैगरी पुटुक्क भयो भने सुख र समृद्धि छिटै आउँछ भन्ने सन्देश हो । जनताको भुँडी र पेट भर्छु भनेर लागेकाहरु पहिले आफैं उदाहरण भएर प्रस्तुत हुनुपर्छ । जे गर्छु भनेको छ, पहिले आफैंले त्यो कुरा गरेर देखाउनुपर्छ । अनि मात्र अरुलाई यस्तै हुनुपर्छ भनेर भन्न सुहाउँछ ।

यी दुई भुँडी मात्र ठूला होइनन् । यसअघि अरुको भुँडी र पेट भर्छु भनेर कसम खाएकाहरुको भुँडी पनि यस्तै पुटुक्क छन् । जितेर बालुवाटार पस्नेहरुलाई हेर्नुस् या हारेर बोहोराटार थन्किनेहरुलाई हेर्नुस्, सबैका भुँडी उस्तै छन् । यी सबै भुँडीहरु सबै नेपालीको भुँडी पुटुक्क पार्ने अभियानमा छन् । सबैको भुँडी पुटुक्क बनाउन पहिले आफू ठाउँमा पुग्नुपर्छ र आफ्नो भुँडीलाई त्यस्तै आकारको बनाउनुपर्छ । अनि मात्र अरुको भुँडीलाई उकास्न सकिन्छ । 

तातोपानीमा देखिएको भुँडी यस्तै अभियानमा लागेकाहरुको नमुना भुँडी हो । कुरा काट्नेहरुलाई चेतना भया !
 

अन्तिम अपडेट: मंसिर २९, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया