वन मास्दै, बजार बसाल्दै

 मंसिर १, २०७५ शनिबार ९:४६:१० | विमल बिष्ट
unn.prixa.net

वन अतिक्रमण गरी व्यापारिक केन्द्रबिन्दु बनेको डोटीको पश्चिम चौकीको मौवा बजार

डोटी  – सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । 

डाँडापाखा खोस्रँदै सडक सञ्जाल बनाउँदा वन क्षेत्रमा व्यापक अतिक्रमण बढेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ । सडक विस्तार भएका क्षेत्रहरुमा बजार तथा बस्ती बसाल्न सार्वजनिक जमिन र जंगल अतिक्रमण भएको छ । 

डिभिजन वन कार्यालय डोटीका रेञ्जर सुरेश रोकायाका अनुसार २०५५ साल यतामात्रै ६५ हेक्टर वन अतिक्रमणमा परेको छ । अतिक्रमणको क्रम बढ्दै गए पनि जिल्ला वनले नियन्त्रणका लागि प्रभावकारी प्रयास गर्न सकेको छैन । सडक विस्तार हुनेबेला सुरुमा स–साना अस्थायी झुपडीबाट व्यापार सुरु गरे पनि बिस्तारै बजारको रुप लिन थालेको छ । सानो बजारको आकार बढ्दै गएर व्यापारिक केन्द्र बनेपछि जिल्ला वनले समेत हटाउन सकेको छैन । 

‘कसले कस्लाई अतिक्रमणबाट रोक्ने ?’, रोकायाले भन्नुभयो, ‘समुदाय मौन हुन्छ, वन कार्यालय थाहा नपाएझैँ गरी बस्छ । हामी जस्ता एक दुई जनाले वन अतिक्रमण रोकेर केही हुुँदैन ।’ चौखुट्टे–काडामाण्डौ, कुडीगडा–गाँजरी, बगरखान–पोखरी, शान्तिनगर–खिरसैन, पालेवन, सानागाउँ, स्याउले–देहीमाण्डौ, लडागडा–नारीदाङ्गमा सडक विस्तारसँगै बसेको बजारले ३० हेक्टर वन अतिक्रमण गरेको छ । त्यहाँ झण्डै एक सय २० भन्दा बढी स्थायी प्रकारका घरहरु अतिक्रमण गरी बनिसकेको रेञ्जर सुरेश रोकायाले बताउनुभयो ।

उहाँका अनुसार डोटीको क्षेत्र नं. २ मा पर्ने साविकको बर्छैन, मान्नाकापडी, घाङ्गल, तिखात्तर, चनुकाडा गाविसमा बनेका सडक क्षेत्रहरुमा बसेका बजारले ३५ हेक्टर वन अतिक्रमण गरी ७२ वटा स्थायी घरहरु बनेका छन् । त्यसबाहेक ६५ घरहरु अस्थायी रुपमा अतिक्रमण गरी बसेको तथ्यांक डिभिजन वन कार्यालयमा छ । 

राष्ट्रिय वन अन्तर्गत पर्ने अधिकांश क्षेत्रहरुमा स्थानीयले अतिक्रमण गरी घरटहरा बनाएको विषयमा डिभिजन वनले अझै उल्लेख गर्न सकेको छैन । घाङ्गलको पूर्वी क्षेत्र, बर्छैनको उत्तरी क्षेत्र, खातीवाडाको बर्थम र रानीवन इलाकामा ठूलो क्षेत्र फँडानी गरी स्थानीयले घरटहरा बनाएर बसेको भए पनि सम्बन्धित निकाय मौन छन् ।  

जिल्ला सदरमुकाम सिलगढी, दिपायल, राजपुरमा पनि सडक मिचेर घरटहरा बनाउने क्रम तीव्र छ । दिपायल सिलगढी नगरपालिका र नगर विकासको सार्वजनिक जमिन अतिक्रमणको चपेटामा भए पनि नियन्त्रण हुन सकेको छैन । स्थानीय राजनैतिक दलको संरक्षण र समाजमा पहुँच राख्ने व्यक्तिहरुबाटै सरकारी जमिन अतिक्रमण हुदै गएको स्थानीयको आरोप छ ।  

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया