लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल

 मंसिर १, २०७५ शनिबार १०:३५:५३ | रासस
unn.prixa.net

नारायण अधिकारी/रासस ।

चितवन – भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले भरतपुरलाई तराईको मिनी लुक्ला भनेर पाइलटहरुले भन्ने गरेको बताउनुभयो । तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुरलाई लिने गरिएको पनि उहाँको भनाई थियो । 

धेरैजसो विमानस्थलको दक्षिणपूर्वबाट धावनमार्गमा जहाज अवतरण गर्ने र त्यही दिशाबाटै उडान गर्ने गरिन्छ । उत्तर पश्चिमबाट पनि कहिलेकाहीँ जहाज उडान र अवतरण गर्ने गरिन्छ । उहाँका अनुसार धावनमार्गमा तारबारपछि दक्षिणपूर्व ठूला घर र विद्युतका तारहरु टाँगिएका छन् । उत्तर पश्चिममा नेपाली सेनाको गणका साथै अग्ला रुखहरु छन् । 

प्रमुख गौतमले पाइलटको भनाई उद्धृत गर्दै भन्नुभयो, ‘उनीहरुले जहाज अवतरण गर्दा धावनमार्गमै आएर सोझै झर्नुपर्ने बाध्यता छ । उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले पाइलटहरुले भरतपुर विमानस्थलाई उच्च जोखिमको भन्दै तराईको मिनी लुक्लाको संज्ञा दिने गरेका हुन् ।’ लुक्ला विमानस्थल हिमाली क्षेत्रको जोखिमपूर्ण विमानस्थल हो । 

बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । उडान र अवतरण अप्ठ्यारो हुने भएपछि बुद्धको ४७ सिटको एटिआर ४२ ले ४० हाराहारी यात्रु मात्रै उडाउँछ भने यतीले ३० र जेट स्टिमले २० यात्रु मात्रै बोक्ने गर्दछ । 

बुद्ध एयरलाइन्सका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले जुन मापदण्ड हुनुपर्ने हो त्यसो नहुँदा सिटअनुसारको यात्रु बोक्न नसकिएको बताउनुभयो । उहाँले दक्षिणपूर्व र उत्तर पश्चिम क्षेत्रका अवरोध घटाएर धावनमार्ग बढाउन सके ठूला जहाज अवतरण गर्न सकिने बताउनुभयो । अहिले भरतपुर–काठमाडौं जहाज भाडा तीन हजार ७५० रुपैयाँ छ । ठूला जहाज चलेमा तीन हजार रुपैयाँभन्दा कममा उडाउन सकिने उहाँले जानकारी दिनुभयो । 

यती एयरलाइन्स भरतपुरका निमित्त प्रबन्धक अनुप ढकालले जहाजको अवतरण र उडान क्षेत्रमा अवरोध भएका कारण तापक्रम हेरेर यात्रु राख्नुपरेको बताउनुभयो । तीस जना क्षमताको जेट स्टिममा २० हाराहारी यात्रु पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । 

भरतपुर–काठमाडौं दैनिक १० जहाज उड्ने गर्दछन् । भरतपुरबाट पोखरा दैनिक एउटा उडान हुने गरेको छ । बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्दै आएका छन् । नारायणगढ मुग्लिन सडकमा समस्या हुँदा भरतपुर विमानस्थलमा यात्रुको चाप उच्च भएको थियो । सो समयमा दैनिक १८ वटासम्म विमानले उडान भरेका थिए । प्रदेश नम्बर ३ को राजधानी एवं छिमेकी जिल्ला मकवानपुर र नवलपुरमा समेत विमानस्थल नभएकाले ती जिल्लाबाट काठमाडौँ आवतजावत गर्ने यात्रु पनि यही विमानस्थल प्रयोग गर्ने गर्छन् । 

प्रमुख गौतमले भरतपुर विमानस्थल उच्च जोखिममा रहेको भन्दै भरतपुर महानगरपालिकालाई पत्राचार गरी सोको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँ र जिल्ला प्रशासन कार्यालयलाई दिइएको भए पनि सुनुवाइ नभएको बताउनुभयो । 

जिल्लामा विशिष्ट व्यक्तिको आवागमन बढी हुने गर्दछ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद हुनुहुन्छ । यही जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गृहमन्त्री रामबहादुर थापा पनि चितवनवासी हुनुहुन्छ । पूर्वउपप्रधानमन्त्री अमिक शेरचन, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री विक्रम पाण्डेलगायत नेता पनि यही जिल्ला भएर आवत–जावत गर्दा पनि विमानस्थलको समस्याबारे चासो नदिएको प्रमुख गौतमले गुनासो गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया