‘राजा महेन्द्रसँग घर नमाग्दा उनका सम्धीले तोरीको फूल देख्नेगरी चड्कन लगाए’

 मंसिर १, २०७५ शनिबार ११:३५:१६ | दीपा तिमल्सिना
unn.prixa.net

‘मेरो अनुहार देख्ने भाग्यमानी हुन्’, हामीसँगको भेटमा कड्किलो र गर्विलो स्वरमा कुमार बस्नेतले भने । 

अचेल जिन्दगानी कसरी चल्दैछ ? जवाफमा बस्नेत भन्छन्,  ‘कलाकार भनेपछि खकार, डकार, हाहाकार, धिक्कार भन्ने चलन छ । ठ्याक्कै त्यस्तै ।’

केही समयको अनौपचारिक भलाकुसारीपछि खुल्दै उनले भने, ‘कलाकार भनेपछि रक्सी खाने चलन छ । साथीहरुसँग बसेर खाइन्छ । युरिक एसिडले अलि दुःख दिन्छ । गाली गर्दछन् मलाई साथीहरुले यो उमेरमा यसरी खटिनु भएन, केही भइहाल्यो भने के गर्ने ?’ 

साथीभाइको कुरा त बस्नेतले सुन्ने मात्रै हो, निर्णय आफैले गर्ने ।  आफ्नो दैनिकीमा  कहिल्यै  आँच आउन नदिने । उनको विशेषता नै हो । 

उमेरले ७५ वर्ष । तर कतै पुग्नु पर्यो भने उनी मोटरसाइकलमा नै दौडिन्छन् । ‘छ नि छन  त गाडी  । तर अहिले यो जाम के–के, के–के । छिटो पुगिन्छ, त्यसैले म दुईखुट्टेमा नै दौडन्छु,  यमराजले अहिलेसम्म  भेउ पाएको छैन कि के हो ? म छेउ आइपुगेको छैन ।’

काठमाडौंको कमलपोखरीमा जन्मिएका अग्रज लोकगायक अहिले बालुवाटार बस्छन् । तर उनको बाल्यकाल बित्यो दोलखामा । सानो बेलामा साह्रै रोगी भएपछि हजुरआमाले सानैमा दोलखा लैजानुभयो । आमाको होइन, बस्नेत भैँसीको दूध खाएर गोठमा हुर्के । 

उनलाई गोठ र गोठालोको त्यसैले पनि औधी माया लाग्छ । दोलखामा मात्रै होइन सँगैका जिल्ला सिन्धुपाल्चोकका भिरपाखा आफ्नै बारी जस्तो लाग्छ उनलाई । भेदभाव त झन् गर्ने कुरै भएन । जसको घरमा भए पनि  पाकेको ‘ढिँडो’ र ‘तिहुन’ खासै छुटाउँदैनन् थिए उनी ।

दर्शक श्रोताको माया नै सबैथोक

पारिवारिक माहोल त्यति रमाइलो छैन । बस्नेत भन्छन्, ‘सबै आफ्नै काममा व्यस्त । दुइटा हातखुट्टा सग्लै छन् । हट्टाकट्टा छु । त्यसै नि म काम गरिरहन्छु । दर्शक श्रोताको मायाले नै म बाँचिरहेको छु । माया गर्दछन्, मलाई, भन्नेले त भने नि हग्ने पाद्ने र गाई गोठालाको गीत गाएर हिट् भइस् ।’

भिरपाखा डुल्नु धेरै ठूलो कुरो होइन तर सानो पनि छैन । जुकाले चुसेका रगत र काँडाले कोतरेको भनि साध्य नै छैन् । कहिले तामाङ, कहिले मगरगाउँ बास माग्यो, ढिँडो खायो, रात बितायो अनि भाले बासेसँगै सबैरै फेरि बाटो लाग्यो ।  

सञ्चय कोषमा जागिर । ३९ वर्षसम्म उनले त्यहीँ जागिर खाए । नियम कानुनमा बसेर नै काम गरे । मन जागिरमा भन्दा गीतसंगीतमा थियो । २००८ सालमा भैरवबहादुर थापा राष्ट्रिय नाच घरको नृत्य निर्देशक हुनुहुन्थ्यो । थापासँगको टोलीमा बस्दाबस्दै बस्नेतलाई गाउन र बजाउन रहर जाग्यो ।  त्यसपछि उनी गायनमा निरन्तर लागिरहे । 

‘अर्काको देशमा के छ, जे छ हाम्रो देशमा पो छ । हामी सानो देशका मान्छे तर संस्कृति र रीतिरिवाज धेरै । तर राजनीतिक अस्थिरताका कारण हामी उँभो भन्दा उँधोतिर लाग्दैछाैँ’, अमिलो मन बनाउँदै बस्नेतले देशको बेथितिमा बोले । 

देशमा समृद्धि आएको हेर्नु मन छ उनलाई ।  तर डाँडा पारिको घाम भइसकेका उनको यो चाहना पूरा हुने उनलाई शंकै छ ।

आर्शीवाद र स्याब्बासीले सँधै थप्यो उर्जा

आफूभन्दा अग्रजको आर्शिवाद र स्याब्बासीले बाटो बिराएन । रहर त शास्त्रीय संगीतमा पनि थियो । शास्त्रीय गुरुलाई भेटी नचढाएको पनि होइन । तर गुरुले नै तिमी जे हौ त्यही बन भनेर बाटो खुलाइदिए । ‘गुरुले जे गर्नु भयो ठीक गर्नुभयो, म शास्त्रीय संगीतमा लागेको भए अहिलेको कुमार बस्नेत कहाँ हुन्थेँ र ? अझै हाआ ..हाआ.. गर्दै बसिराखेको हुन्थेँ ।’

अग्रज श्रष्टाहरुको माया र आशीर्वादले नै आफू यहाँसम्म आइपुगेको बताउँछन् बस्नेत, ‘नाटककार बालकृष्ण समले उर्जा दिनुहुन्थ्यो ।  सम भन्नुहुन्थ्यो, अहो तैँले गाएको गीत राम्रो, गाइरहनु है।’ 

कुमार बस्नेत नेपालको पहिलो पप गायक !

हो, म त्यो व्यक्ति हुँ जसले पहिलो पटक ड्रम सेटमा गीत गाउन पायो । त्यो उपाधि त छैन तर त्यतिबेलाका उनका अग्रजले उनलाई पहिलो पप गायक भएको भन्दै स्याब्बासी दिएका थिए । बस्नेतले ड्रम सेट भारतको कोलकातामा देखेको । सुरुमा त ड्रम सेट देख्दा ‘अचम्मकै भाँडो’ जस्तो  लाग्थ्यो । ड्रम सेटमा गीत गाउन थालेपछि उनलाई विदेशीभन्दा आफू कम नभएको भान पनि भयो । 

गंगा गुरुङसँगको सहकार्यमा उनले “स्टेज किङ”को उपमा पाए । राष्ट्रिय नाचघरको स्टेज कार्यक्रममा गंगा गुरुङसित ‘ओइ नाना ओइ नाना...’ गीत गाएपछि महिलासित युगल गाउने यात्राको ढोका पनि उघ्रियो, सँगै गुरुङ गीतमा उनी ‘फिट’ पनि भए ।

राष्ट्रिय नाचघरमा नाचेर नै सांगीतिक यात्रा सुरु गरेका उनले २०२२ सालतिरदेखि नाच्न भने छोडे ।  

ड्राइभरसँग बिन्ती बिसाउँदा

खल्तीमा जाबो एक मोहोर । न बाटो खर्च पुग्ने, न पेट नै भर्ने  । काठमाडौंको जागिर गर्न, फर्कनु छ कालिञ्चोकदेखि । त्यो पहाडबाट सिन्धुपाल्चोकको बाह्रबिसे त हिड्ँदै झरे । तर त्यहाँबाट हिँडदै काठमाडौं आउन सकिएन । 

उनी एकछिन घोत्लिए । जहाँ इच्छा त्यहाँ उपाय । आइडिया फुरिहाल्यो । उनी गुरुजीको छेउमा गए, अनि बिसाए आफ्नो बिन्ती । 

श्रीमतीको नाममा रहेको सम्पत्ति लिन मुद्दा जित्न सात वर्ष लाग्यो । तर मेरो साथीहरुले ‘गाइनेले राजाको आर्शीवादमा घर पायो भने ।

‘उ बेला सित्तैमा कसले ल्याइदिन्थ्यो । एक छिन त ड्राइभर चुप बसे  । पछि उनले ल गायक रहेछौँ पछाडिको सिटमा बस भने, गाडीको पछाडि बसेर फर्किएँ म । ती ड्राइभर मेरा लागि त्यो दिन भगवान भए ।’ 

धेरै तामाङ सेलो कुमार बस्नेतले सिन्धुपाल्चोको यात्रा गर्दा सिके । एउटै सिटमा बसेका तामाङ दाजुभाइ उनका लागि गीतको स्रोत बन्थ्यो । यस्तै गाउँका तामाङ बस्ती, छ्याङ खाने थलो मात्रै होइन गीत सिक्ने मन्दिर बन्थ्यो ।  

गाउँघरका छोरी बिगारेको बात लाग्यो

छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले
लान्छ क्यार घुमाउन झिल्के डाइभरले ।।

कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष

लप्सीकोे गेडो चुसेर
ज्यामिर, निबुवा साँधेर
चटचट जिब्रो पड्काउँदै
घाममा सुतेर बिताउने
के रोग लाग्यो केटीलाई 

यस्तो, अमिलो मात्रै रुचाउने, जस्ता गीत लोकप्रिय भए । तर यो लोकप्रियतासँगै उनले धेरै आलोचना सहनुपर्यो । केहीले त उनलाई छोरी चेली बिगारेको आरोपसमेत लगाए । हुन त उनले २०१४ सालतिरै ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’ भन्ने जस्ता धेरै गीत गाए । तर यस्ता गीत खासै रुचाइएन । 

उनले स्थानीय जात्रा, मेलापातमा गाउने गीत जस्ताको त्यस्तै टपक्कै टिपेर राष्ट्रिय रुपमा चिनाए । ‘मेरो गीत मन पराउनु भनेर मैले भन्दैमा गीत लोकप्रिय हुँदैन । गोठाला र ठेलागाडाको गीत गाएर ठूलो भइस भने । हाम्रो खास संस्कृति त त्यही हो नि ।’

आफ्ना गीतबारे धेरैले आलोचना गरेको सुनाउँछन् उनी, ‘छोरीभन्दा आमा तरुनी भन्ने गीत गाउन पाएको छैन, ढोल पिटेभन्दा बढ्दा हुने अनि अरु गीत गाउँदा कसैले नसुन्ने । जसले जे भने पनि मैले लोकले रुचाएको गीत नै गाएँ ।’ 

ठट्टा गर्द लट्टा चाहिँ पर्‍याे की परेन ? भन्ने प्रश्नमा उनी भन्छन् , ‘पर्‍याे नि किन नपर्नु । तर गाउँका दिदीबहिनीले चाहिँ औधी माया गर्ने । कतिपयले काठमाडौंबाट आउँदा ‘क्लिप’ र ‘धागो’ ल्याइदिनु है सम्म भन्थे ।’

अपजसको भारी 

‘श्रीमतीको नाममा रहेको सम्पत्ति लिन मुद्दा जित्न सात वर्ष लाग्यो । तर मेरो साथीहरुले ‘गाइनेले राजाको आर्शीवादमा घर पायो भने ।’

पुराना कुरा सम्झँदै कुमार बस्नेत भन्छन्, ‘२०२६ सालतिर राजा महेन्द्रले कार्यक्रम गराएका रहेछन् । त्यो कार्यक्रममा म पनि पुगेको थिएँ । कुमार बस्नेत पनि आएको छ भन्ने हल्ला चलेछ । राजाले मलाई पनि गीत गाउन  लगाए । मैले तीन चारवटा गीत पनि गाएँ । उबेला चाकरी चल्ने क्या । राजा मेरो नजिक आएर र सोधे ‘कुमार तिमीलाई केही भन्नु छ ?’, मैले केही छैन भने । राजा गए । सवारी चल्यो । त्यसको केहीबेरपछि राजा महेन्द्रका सम्धी केन्द्र शमशेर मेरो छेउमा आए । तोरीको फूल देख्ने गरी एक झापड गालामा लगाए । म त रनभुल्लमा परेँ । केन्द्र  शमशेरले मलाई गाली गरे – “म तेरो बाउ, बाजे  सबैलाई चिन्दछु । राजाले केही भन्नु छ ? भन्दा हजुर घर छैन भन्नु पर्दैन ।” केन्द्र शमशेरले यति भनेपछि पो म झसङ्ग भएँ । त्यो दिनको झापडले म १० दिनसम्म सुतेँ ।’ राजाको चाकरी नगर्ने उनले आफ्नै बलबुताले बसोबासको व्यवस्था गरे ।

लोक संस्कृतिका जिउँदो इतिहास हुन् कुमार बस्नेत । उनी ७५ वर्षको उमेरमा पनि उतिकै सक्रिय छन् । अहिले पनि उत्तिकै जोश जाँगर छ । देउडादेखि पूर्व–पश्चिमका गीत कुनै छुटाएका छैनन् उनले । युवा पुस्तालाई मन पर्ने पप गीतसमेत उतिकै रसिलो गरी प्रस्तुत गरेका छन् । 

लामो समयसम्म प्रतिलिपि अधिकारका क्षेत्रमा काम गर्दै उनी संगीत संघको अध्यक्षसम्म पनि भए । बुढ्यौलीले छुँदासमेत उनी आफ्नै कमाईमा बाँच्ने इच्छा राख्छन् ।
 

अन्तिम अपडेट: मंसिर २५, २०७५

तपाईको प्रतिक्रिया