कांग्रेस कार्यालय सानेपामा नेविसंघको नाराबाजी, महाधिवेशनमार्फत नेतृत्व चयन गर्न दवाव

 मंसिर १, २०७५ शनिबार १७:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने दुई समूहकाबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दवाव दिन दुवै पक्षले पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका हुन् ।

पूर्व मन्त्री समेत रहेका केन्द्रीय सदस्य वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच झण्डै–झण्डै हातहालाहालको अवस्था श्रृजना भएको थियो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य शुशिल भट्टलगायतको समूहले महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरेको हो । अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिनालगायतको समूहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।

दुवै पक्षले आ–आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् । बैठकमा सहभागी हुन आएका सभापति शेरबहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए ।

नेविसंघले ३ महिनाअघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावली पास हुन नसक्दा नेविसंघको भावी नेतृत्वमा अन्योल छाएको हो । भोलिदेखि नेविसंघको थप गरिएको पदावधि पनि सकिँदै छ ।

विद्यार्थी नेता भट्ट समूहले अहिलेको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशन मार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिँदै आएको छ । 

तीन महिनाअघि बुझाएको पार्टीको विधान र नियमावली पास नगरी पार्टी नेतृत्व नयाँ तदर्थ समिति गठन गरी आफू अनुकुलको बनाउने प्रयासमा लागेपछि विरोधमा उत्रिएको विद्यार्थी नेता भट्टले बताउनुभयो ।

यो समाचार तयार पार्दा सम्म पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक जारी छ ।  साथै कार्यालय परिसरमा दुवै पक्षका विद्यार्थीले नाराबाजी पनि गरिरहेका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया