रेमिट्यान्सले घटायो गरिबी,  ३१ लाख परिवारमा विदेशबाट आउँछ नियमित पैसा

 मंसिर १, २०७५ शनिबार १७:३८:२८ | उज्यालो सहकर्मी

काठमाडौं – नेपालका ५५ दशमलव ८ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने गरेको एक अध्ययनले देखाएको छ । तेस्रो घर परिवार सर्वेक्षण अनुसार नेपालका ३१ लाख घर परिवारले औसत रुपमा ८० हजार ४ सय रुपैयाँका दरले नियमित रेमिट्यान्स प्राप्त गरिरहेका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को वार्षिक तथ्याँक अनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षण २०७०/७१ ले रेमिट्यान्स कै कारण गरिबीको रेखामुनी रहेका नेपालीको संख्या पनि घटेको देखाएको छ । 

यसअघि ३१ प्रतिशत रहेको गरिबी रेमिट्यान्सका कारण २३ दशमलव ८ प्रतिशतमा झरेको २०७०/७१ को आर्थिक सर्वेक्षणले देखाएको हो । 

रेमिट्यान्सले देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याएको छ । कामदारका परिवारलाई पनि सहयोग पुगेका छ । तर वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पछिल्लो दश वर्षमा ६ हजार ७ सय ८ जना नेपालीका परिवारले आफन्त गुमाएका छन् ।

आर्थिक वर्ष २०६५/२०६६ देखि २०७४/२०७५ सम्मा रोजगारीका लागि विभिन्न देशमा पुगेका ६ हजार ९ सय २१ जना नेपाली कामदारले गन्तव्य देशमै ज्यान गुमाएका छन् । ११ सय ७८ जना अंगभंग भएर स्वदेश फर्किएका छन् । 

गएको १० वर्षमा मलेसियामा मात्रै २४ सय ९६ जना नेपालीको ज्यान गएको छ भने ५ सय ७ जना अङ्गभङ्ग वा बिरामी भएर फर्किएका छन् ।

मलेसियापछि साउदी अरेबियामा ज्यान गुमाउने र समस्यामा पर्ने नेपालीको संख्या धेरै छ ।  साउदीमा १ हजार ९ सय २ जना नेपालीको ज्यान गएको छ भने २ सय ७७ जना नेपाली अङ्गभङ्ग वा बिरामी भएर फर्किएका छन् । 

गएको १० वर्षमा रोजगारीका लागि कतार गएका १३ सय ६७  जना नेपाली कामदारको ज्यान गएको छ भने २ सय २३ जना अंगभंग वा बिरामी भएर फर्किएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

कतारपछि विदेशमा ज्यान गुमाउने नेपालीको संख्याको सूचीमा युएई आउँछ । यस अवधिमा युएईमा ५ सय ४४ जना कामदारको ज्यान गएको छ भने १ सय ५१ जना अङ्गभङ्ग वा बिरामी भएर फर्किएका छन् ।

त्यसैगरी कुवेतमा २ सय २१ जना नेपालीले ज्यान गुमाएका छन् भने ४६ जना कामदार अङ्गभङ्ग वा बिरामी भएर फर्किएका छन् । बहराइनमा ८९, दक्षिण कोरियामा १ सय ३, लेवनान २०, जापानमा १६ जना नेपालीले ज्यान गुमाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डल जनाएको छ ।

विदेश जानेमा अदक्ष कामदार धेरै

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ६८.४२ प्रतिशत खाडीका देश र मलेसिया गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

विदेश जाने कामदार मध्येमा १.५ प्रतिशत मात्रै दक्ष कामदार जाने गरेको बोर्डले जनाएको छ । २४ प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने गरेको बोर्डले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया