सात सदस्यीय टोली लिएर परराष्ट्रमन्त्री ज्ञवाली जापान प्रस्थान

 मंसिर १, २०७५ शनिबार १९:२३:१६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार दिउँसो टोकियोतर्फ प्रस्थान गर्नुभयो ।

आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय औपचारिक भ्रमणका क्रममा दुई देशका मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा यही मङ्सिर ३ गते नेपाल र जापानबीच खाद्य सहायतासम्बन्धी समझादारीपत्रमा हस्ताक्षर भई परस्परमा आदानप्रदान हुनेछ ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने नीतिलाई व्यवहारमा रुपान्तरण गर्न तथा जापानी उद्यमी व्यवसायीलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी दिन आयोजना हुने नेपाल लगानी कार्यशालालाई उहाँले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुनेछ । मनत्री ज्ञवालीले जापानमा रहेका नेपालीसँग छलफल गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताउनुभयो ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, मन्त्रालयको उत्तरपूर्व एसिया महाशाखाका प्रमुख सहसचिव गणेशप्रसाद ढकाल र महाशाखाका उपसचिव रोशन खनाल परराष्ट्रमन्त्रीको सचिवालयका उपसचिव तेजबहादुर क्षेत्री र अर्थमन्त्रीको सचिवालयका एकजना उपसचिव हुनुहुन्छ ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्ड थाइल्याण्डको दुईदिने भ्रमणसमेत पूरा गरी यही मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव पौड्याललगायत सोही मन्त्रालयका उच्च अधिकारीले मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डललाई बिदाइ गर्नुभयो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया