राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार २०७४ बाट सम्मानित

 मंसिर १, २०७५ शनिबार २०:२९:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडाैं - राष्ट्रकवि माधवप्रसाद घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट सम्मानित हुनुभएको छ । 

नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद एक लाख रुपैयाँसहित आज सम्मानित हुनुभएको हो । 

राष्ट्रकवि घिमिरेले साहित्यमा पुर्‍याउनुभएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उहाँलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले जानकारी दिनुभयो ।

‘राष्ट्रकवि घिमिरेका कविताको जति प्रशंसा गरे पनि सकिँदैन’, उहाँले भन्नुभयो । सुदुरपश्चिम क्षेत्रमा रहेको प्रतिष्ठानले राष्ट्रका लागि योगदान पुर्‍याउने सर्जकलाई यस पुरस्कारबाट निरन्तर सम्मानित गरिने उहाँले बताउनुभयो । 

त्यस अवसरमा सुदूरपश्चिम क्षेत्र देशकै लागि संस्कृतिको उद्गम स्थल रहेको राष्ट्रकवि घिमिरेले बताउनुभयो । प्रतिष्ठानले प्रदान गरेको सम्मानित हुनुभएकोमा उहाँले हर्ष व्यक्त गर्नुभयो ।

पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले राष्ट्रकवि घिमिरेको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो । त्यसै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले सर्जकलाई प्रदान गरिने यस्ता पुरस्कारले थप हौसला मिल्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया