समाजसेवी युवा विनयले लगे ३५ वृद्धवृद्धालाई तीर्थयात्रा

 मंसिर १, २०७५ शनिबार २०:३९:४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया ठाकुरबाबा नगरपालिकाको जेष्ठ नागरिक चौतारीका ३५ जना वृद्धवृद्धालाई एक समाजसेवी युवाले आफ्नै लगानीमा तीर्थयात्राका लैजानुभएको छ । शुक्रबार बेलुका उहाँले पशुपतिनाथ दर्शन गर्न ३५ जना वृद्धवृद्धालाई काठमाडौं लैजानु भएको हो ।

ठाकुरबाबा नगरपालिका २ सतघरुवा घर भई काठमाडौं बस्दै आउनुभएका युवा विनय रावलले नगरपालिका क्षेत्रका जेष्ठ नागरिक चौतारीका ३५ जना वृद्धवृद्धाहरुलाई तीर्थयात्राका लागि काठमाडौं लैजानु भएको हो ।

तीर्थयात्राका लागि हिँडेको वृद्धवृद्धाको टोली शनिबार बिहान काठमाडौं आइपुगेको विनय रावलले जानकारी दिनुभयो । जेष्ठ नागरिक चौतारी भूरिगाउँको आयोजना र विनय रावलको सहयोगमा ३५ जना वृद्धवृद्धाहरुलाई पशुपतिनाथ मन्दिर दर्शन र अवलोकनका लागि लगिएको वडाध्यक्ष श्यामलाल थारुले जानकारी दिनुभयो ।

समाजमा केही गर्ने मनसाय भएर उदार सोचाइका साथ गाउँमा आएर सामाजिक कार्यमा लागिपरेका ४३ वर्षीय रावलले आफ्नै लगानीमा वृद्धवृद्धालाई पवित्र धार्मिक तिर्थस्थल पशुपतिनाथ दर्शन गराउन लगेपछि गाउँघरमा उहाँको चर्चा हुन थालेको छ ।

रावल अन्तर्राष्टिय विमास्थल निजगढको काममा साथै काठमाडौंमा मेट्रो रेल प्रोजेक्टमा कन्सल्टिङमा काम गर्नुहुन्छ । निकै व्यस्त रहने रावलको लागि बर्दिया नौलो ठाउँ नभएको र उनका बाबु–बाजेले निकै लामो समयसम्म बसोबास गरेको ठाउँ पनि हो ।

‘सतघरुवामा आफ्नो खेतीयोग्य जमिन पनि छ । हजुरबुवाको आफ्नो जीवनमा गाउँ समाजमा सधैँ सहयोग गर्ने भावना थियो र बुवाले पनि विभिन्न पदमा हुँदा गाउँठाउँको लागि सहयोग गर्नुहुन्थ्यो, त्यही सहयोगलाई निरन्तरता दिन र गाउँ समाजमा सानो सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गरौँ भन्ने सोचले केही परिवर्तन गर्न गाउँठाउँका आमाबुवा दाजुभाई दिदीबहिनीलाई सहयोग गर्नुपर्छ भन्ने लागेको हो’, विनयले भन्नुभयो ।

‘जसरी आफूले काठमाडौँमा बसेर आफ्नो गाउँठाउँ सम्झेर सहयोग गरिरहेको छु, त्यसरी नै काठमाडौंमा बस्ने अरु ठूल–ठूला व्यक्तिहरुले पनि आफ्नो गाउँ–ठाउँलाई सम्झेर गाउँसमाजका लागि केही सहयोग गर्नुपर्छ’, समाजसेवी रावलले भन्नुभयो ।

समाजसेवी युवा पूर्व गर्भनर डाक्टर तिलक रावलका जेठो छोरा हुनुहुन्छ । मानव जो जहाँ भएता पनि अन्त्यमा सबैको दायित्व मानव सेवा नै हो भन्ने भनाई राख्दै आफूले पहिलो चरणमा जेष्ठ नागरिक चौतारीका ३५ जना वृद्धवृद्धाहरुलाई आफ्नै लगानीमा तीर्थयात्रा घुमाउन पशुपतिनाथ दर्शनका लागि काठमाडौँ लगेको समासेवी युवा विनय रावलले बताउनुभयो ।

चार दिनको तीर्थयात्राको कार्यक्रममा पशुपतिनाथ क्षेत्रका मठमन्दिरहरुको दर्शन गराउनुका साथै सन्ध्याकालीन आरतीमा सामेल गराइने र पशुपतिनाथका चारवटै ढोका खोल्न लगाई प्रहरीको सुरक्षा घेरामा पशुपति मन्दिरका मुल भट्टद्धारा उहाँहरुलाई पशुपतिनाथको खुल्ला दर्शन गराइने विनयका दाई सतिस रावलले बताउनुभयो ।

यसअघि रावलले भूरिगाउँ क्षेत्रका खोखो खेलका खेलाडीलाई झण्डै ६० हजार मूल्य बराबरका खेल सामाग्री र खाजा व्यवस्थापनका लागि ३० हजार नगद पनि प्रदान गर्नु भएको उद्योगा वाणिज्य संघ भूरिगाउँका महासचिव महेन्द्र पंंगेनीले बताउनुभयो ।

यस्तै रावलले आफ्नै गाउँ सत घरुवाका युवाहरुलाई पनि ३७ हजार मूल्य बराबरका खेलकुद सामाग्री र वृद्धवृद्धाहरुको जेष्ठ नागरिक चौतारी भूरिगाउँको भवन निर्माणका लागि नगद ३० हजार रुपैयाँ पनि सहयोग गर्नु भएको थियो ।


 

अन्तिम अपडेट: चैत ७, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया