समस्यै समस्याको चाङमा फुङलिङ्

 जेठ २८, २०७५ सोमबार ७:३६:४८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – जनप्रतिनिधि आएको एक वर्ष बित्न लागे पनि ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा समस्या घटेका छैनन् । नयाँ जनप्रतिनिधि आएपछि समस्या समाधान होला भन्ने स्थानीयवासीको आशा निराशामा बदलिएको छ । नगरबासीले समस्या समाधानका लागि तत्काल पहल गर्न पटकपटक आग्रह गरेका छन् तर नगरपालिका समस्यै समस्याको चाङमा छ ।

गुणस्तरहीन इन्टरनेट र टेलिफोन 

नेपाल टेलिकमको एडीएसएल सेवा गुणस्तरीय छैन । यसबारेमा  कम्प्युटर एसोसिएशनका तर्फबाट टेलिकमको कार्यालयमा पुगेर ध्यानाकर्षण गराए पनि गुणस्तरमा सुधार हुन नसकेको सेवाग्राही बताउँछन् । यसको असर सरकारी कार्यालय र बैंकको सेवामा पनि परेको छ । टेलिकमले टेलिफोन, मोवाइल र इन्टरनेटको गुणस्तर विस्तारमा ध्यान नदिँदा मोवाइलमा थ्रीजी र नेटवर्कको समेत गुणस्तरीयता नभएको फुङलिङ ३ का खगेन्द्र घिमिरेले बताउनुभयो । 

टेलिकमले थ्रीजी सेवा सबै टावरमार्फत विस्तार नगर्दा नगरपालिकाका १, २, ३ र ८ का स्थानीय बढी मारमा परेको उहाँको भनाइ छ । नगरपालिकालाई फ्री वाईफाई जोन बनाउने घोषणा चुनावताका गरिए  पनि एक वर्षसम्म त्यसको अत्तोपत्तो नभएको गुनासो सेवाग्राहीको छ ।

खानेपानी 

फुङलिङ बजारमा खानेपानीको समस्याले उपभोक्तालाई हैरान बनाएको छ । देवी खोलाबाट ल्याइएको खानेपानीले अपुग हुन थालेपछि तोकिएको समयमा पनि पानी नआउने क्रम बढेको छ । बर्षाका बेला धमिलो पानी आउनाले खानै नसकिने जरा होटलका सञ्चालक विमल भण्डारीले बताउनुभयो । 

सदरमुकाममा घर थपिएको र पर्यटकको संख्या पनि थपिंदै गएकाले पानीको माग बढे पनि त्यसअनुसार आपूर्ति नबढ्दा समस्या भएको हो । वर्षायाममा धाराको पानीको प्रयोग गर्न समस्या हुनाले छेउछाउका प्राकृतिक धाराबाट गाग्रीमा बोकेर ल्याउने गरेको उपभोक्ताहरु बताउँछन् । 

वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे सडक अझै उस्तै

फुङलिङ नगरपालिका क्षेत्रभित्रको धेरैजसो सडकखण्ड वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले पाँच वर्षभित्र नगरपालिकाका सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्याउने योजना बनाएर काम भइरहेको दावी गरे पनि १ वर्षमा केही काम नभएको नगरवासीको गुनासो छ ।

पराजुली चोकदेखि बुद्धचोक जोरधारासम्मको सडकमा सवैभन्दा धेरै सास्ती हुने गरेको उनीहरु बताउँछन् । चार वर्ष अघि कालोपत्रे गरेको यो खण्डमा अहिले कालोपत्रेको नामनिशाना नै नदेखिने स्थानीयबासी टामन सिग्देलले बताउनुभयो । घरभित्र बस्दा पनि मुख छोपेर बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

ढल निर्माण नहुँदा घरको फोहोर पानी र भेलबाडी सडकमै बगिरहेको हुन्छ । सदरमुकामभित्र मात्र होइन, सदरमुकामबाट दोभान, सिवा, सुकेटार, नाङ्खोल्याङ् हुँदै थेचम्बु, नगरपलिकाको वडा नम्बर ११ फुरुम्बुलगायत ठाउँ जाने सडकको पनि स्तरोन्नति नहुँदा हिउँद र वर्षात दुवै समयमा स्थानीयले समस्या ब्यहोर्नुपरेको मयाम माविका शिक्षक नविन कार्कीले बताउनुभयो । 

अस्पतालको लापरबाही उस्तै 

जिल्ला अस्पतालको सेवा प्रवाह गुणस्तरीय नहुँदा विरामी र विरामीका आफन्तलाई सास्ती हुने गरेको छ । १० बजे देखि विरामी जाच्नुपर्ने भए पनि डाक्टरले १२ बजेसम्म पनि विरामी नजाँचेको गुनासो बारम्बार नगरपालिकामा पुर्‍याएपनि अहिलेसम्म खासै सुधार नआएको सेवाग्राहीको भनाइ छ । फुङलिङ नगरपालिकाका मेयर प्याकुरेलले जिल्ला अस्पताल ताप्लेजुङका कर्मचारी र चिकित्सकलाई सेवा सुधार्न बारम्बार आग्रह गर्दै आएको बताउनुभयो ।

केही महिना अगाडि मेयर प्याकुरेलले जिल्ला स्वास्थ्य कार्यालयले कमी कमजोरी सुधार नगरे कर्मचारी र प्रशासनको छानबिन गर्ने चेतावनी दिए पनि अस्पतालको फोहोर व्यवस्थापन, शौचालय र बाथरुम सरसफाइ, बिरामीलाई गर्ने व्यवहारमा कुनै परिवर्तन भएको छैन । मेयर प्याकुरेलले चेतावनी दिएपछिको अवस्थाबारे अनुमगन पनि गर्नुभएको छैन । सरकारले निशुल्क उपलब्ध गराउने औषधी समेत अस्पतालको फार्मेसीमा नपाइदा क्लिनिकमा किन्नुपर्ने अवस्था रहेको सेवाग्राही बताउँछन् ।

पार्किङस्थल निर्माण 

फुङ्लिङ बजारमा अहिले सवारीसाधनको चाप दिनानुदिन बढिरहेको छ । जिल्लामा बस, जीप, ट्याक्सी, मोटरसाईकलको सँख्या बढीरहेपनि पार्किङस्थलको ब्यवस्थापन नहुँदा समस्या छ । वार्षिक चार लाखभन्दा वढी तीर्थयात्री पाथीभरार कञ्चनज‌ंघामा आउने गरेका कारण पनि सवारीसाधनको चाप बढी हुने गरेको छ ।

तर, नगरपालिकाभित्र पार्किङ क्षेत्र नहुँदा सानो सडककै दायाँ बायाँ बस, ट्याक्सी र ट्रक रोकेर राख्ने गरिएको छ । यसले गर्दा सवारीसाधन चलाउन त समस्या हुन्छ नै पैदल यात्रुहरुलाई पनि सास्ती हुने गरेको भानुजन माविका शिक्षक राजमणी प्याकुरेलले बताउनुभयो ।

सडक किनारामै टहरा बनाएर चिया नास्ता र तरकारी लगायत रेडिमेड कपडाका पसल सञ्चालन हुँदा दुर्घटनाको जोखिम अझै बढेको छ । सबै ठाउँमा समान सडक विस्तारमा ध्यान नदिदा र पार्किङ र बजारलाई व्यवस्थापन नगर्दा नगरपालिका भएर कर मात्र थपिएको तर सुविधाको उपयोग गर्न नसकेको स्थानीयवासीको दुखेसो छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया