‘ओलीभन्दा प्रचण्ड गतिशील नेता तर हाम्रा लागि होइन, छोरी बुहारीका लागि’

 मंसिर २, २०७५ आइतबार १६:३८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले अहिलेको सरकारको नौ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको छ । उहाँले अहिलेको सरकार कामको हिसाबले पूर्ण रुपमा असफल भइसकेको बताउनुभयो ।

‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भैसक्यो । चुनावका समयमा नागरिकमाझ गरेका प्रतिबद्धता र बाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो’, डाक्टर केसीले भन्नुभयो, ‘हुन त मलाई त्यतिबेला पनि यिनीहरुले बोलेका कुरा कुनै पनि हालतमा पूरा गर्छन भनेर विश्वास थिएन । सम्भव पनि थिएन भन्ने लागेको थियो । अहिले त्यही भयो ।’

सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको उहाँको आरोप छ । ‘सडकका खाल्डाखुल्डी पुर्छु भन्नुभयो । तर त्यो काम पूरा भएन् । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन्’, डाक्टर केसीले भन्नुभयो, ‘सिण्डिकेट हटाउँछौं भन्नुभयो । तर, एकाधिकार अहिले पनि कायमै छ । सुन काण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीहरुको पाता कस्छु भन्नुभयो । तर कारबाही केही पनि भएन् । प्रचण्डले बोलाएर उहाँलाई गृहमन्त्री हुने कि सिंघम बन्ने भनेर सोधेपछि उहाँ चूप लाग्नुभयो । त्यसपछि निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण आउन थाल्यो ।’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उहाँले सुनाउनुभयो । ‘अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली आलोचित बन्नुभएको छ । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना गरिरहेका छन् । माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’

ओली सरकारले कुनै पनि क्षेत्रमा आशा लाग्दो नतिजा नदेखाएको उहाँको भनाई छ । ‘ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो ? मैले बुझन् सकेको छैन् । नाकाबन्दीको बेलामा उहाँले राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो । मैले त झनै सफल नेता र विकास गर्ने नेताको रुपमा लिएको थिएँ । तर, मैमाथि यतिबेला प्रश्न खडा भयो ।’

उहाँले देशमा उद्योग तथा लगानीको वातावरण पनि नबनेको बताउनुभयोे । केसीले ओली सरकारले नागरिकमा कुनै पनि आशा लाग्दो नतिजा नदिएको जिकिर गर्नुभयो । 

उहाँले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशील नेता भएको बताउनुभयो । ‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर उहाँको त्यो गतिशीलता हाम्रो लागि प्रयोग भएन् । उहाँकै छोरी र बुहारीको लागि त्यो ‘डाइनामिज्म’ लागू भयो ।’


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया