तीन दशकअघि सरोज खनालले गरेका थिए २० रुपैयाँमै बिहे

 मंसिर २, २०७५ आइतबार १६:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता सरोज खनाल र अभिनेत्री सूर्यमाला शर्मा विवाह बन्धनमा बाँधिएको तीन दशक नाघेको छ । 

तीन दशकअघि विजया दशमीको दिन सरोज र सूर्य वैवाहिक बन्धनमा बाँधिएका थिए । करिअरको शुरुवातमा थियटरमा काम गर्ने क्रममा सरोज र सूर्यमालाको भेट भयो । सूर्यमाला सरोजको सिनियर कलाकार थिइन् । यसैकारण पनि पहिले सूर्यमालाले सरोजलाई खासै ध्यान दिएकी थिइनन् ।

किनभने उनलाई सरोज जुनियर भएका कारण खासै चासो थिएन । तर सरोजले भने सूर्यमालालाई पहिले देखिनै चिनेका थिए । सरोजलाई सूर्यमालाको अभिनय पनि मन पर्थ्यो । 

पहिले बेवास्ता गरेको भएपनि पछि भने सरोजले सूर्यलाई आफूतिर आकषिर्त गरेरै छोडे । यी दुईको चिनजान भएको केही महिनामै प्रेमको मुना पलायो । 

प्रेम त शुरु भयो तर विवाह गर्न उनीहरुको लागि त्यति सजिलो थिएन । दुवैको परिवारले त्यसबेला उनीहरुको विवाह गर्न मानेका थिएनन् । किनभने सरोजको पक्का जागिर नभएका कारण सूर्य मालाको परिवारले छोरी दिन अनकन गर्यो ।

आफू सरोजको मायामा परेको र उनीसँग विवाह गर्न चाहेको कुरा सूर्यमालाले आमासँग सेयर गर्दा आमाले मान्नु भएन । यता  सरोजको घरमा पनि छोराले केही गरेर मात्रै विवाह गरोस् भन्ने चाहना थियो । 

डाक्टर बनाउन भनेर काठमाडाैं पढ्न पठाएको छोरोले छिट्टै बिहे गर्न लागेको कुरा घरमा मन परेको थिएन । यसैकारण दुवैको परिवारले त्यसताका विवाह गरिदिन नमान्ने पक्का भएपछि सरोज र सूर्यमालाले भाग्ने निर्णय गरे ।  

प्रेम शुरु भएको ७ महिनामै उनीहरुले भागी विवाह गरे । उनीहरुको विवाह प्रसंग निकै नै चाख लाग्दो छ । यी दुईको विवाहमा जम्मा २ सय रुपैयाँ खर्च भएको थियो । 

२० रुपैयाँ विवाहको सामान किन्दा र पण्डितलाई टिका लगाएर दक्षिणा दिँदा गरेर २ सय खर्च भएको सरोजले बताए । ३१ वर्ष अघि विजया दशमीको दिनमा उनीहरुले मैतिदेवी मन्दिरमा गएर अर्कालाई सदाका लागि आफ्नो बनाएका थिए ।
 
उनीहरुले मन्दिरमा विवाह त गरे पनि कोठामै आएर लगनको पोते र सिन्दुर लगाएका थिए । किनभने विवाहको क्रममा त्यहाँ उनीहरु दुईजना र पण्डित बाहेक कोही पनि थिएन । यसै कारण वरिपरिका सबैलाई उनीहरुले कुनै सिरियलको लागि सुटिङ गरिरहेको भन्ठाने र त्यहाँ हेर्नेहरुको भिड लाग्यो । मन्दिरमा भगवानलाई ढोगेपछि कोठामै गएर सिन्दुर र पोते लगाए ।
 
उनीहरुको विवाहमा परिवारका सदस्यहरुको उपस्थिति त भएन नै साथै उनीहरुले आफ्नो साथीहरुलाई बोलाउने मेसो समेत पाएनन् । किनभने उनीहरुको विवाह तयारीबिना नै भयो ।

यो विवाहले सरोजको जिन्दगीमा खुशीका पलहरु मात्रै लिएर आयो । विवाहपछि एउटा छोराको पिता बनेर नै सरोजले सिनेमामा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाएका थिए । 

त्यसपछि उनले लगातार सिनेमामा मुख्य अभिनेताको रुपमा केही वर्ष राज गरे । दुई छोराका मातापिता सरोज र सूर्यमाला अहिले एउटा नातिका हजुरबुवा र हजुरआमा पनि बनिसकेका छन् ।
 
बीचमा १७ वर्ष अमेरिकामा बसेर आएको यो जोडीले भर्खरै मात्र एक्टिङ स्कुल माला आर्टस एकेडेमीको शुरुवात गरेको छ । यो अभिनय सिक्न चाहनेहरुका लागि राम्रो प्ल्याटफर्म बन्नेछ ।

नेपालमै केही गर्ने सोचका साथ उनीहरुले एक्टिङ स्कुलको शुरुवात गरेका हुन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

याे पनि पढ्नुहाेस्

सरोज खनालले एक्टिङ स्कुल खोले

नेपाली कलाकारहरु जाे अमेरिकाकाे बसार्इ त्यागेर स्वदेश फर्किए

समता शिक्षा अभियन्ता सञ्जेलको ३ सय रुपैयाँमै विवाह

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया