धमाधम बन्दै धरहरा

 मंसिर ३, २०७५ सोमबार ८:३५:५४ | मदन पौड्याल
unn.prixa.net

काठमाडाैं – सुन्धारा नजिकै बसेर रामेछापका प्रेम कार्की धरहरामा भैरहेको काम नियाल्दै हुनुहुन्थ्यो । काम भैरहेको ठाउँमा जान रोकिएकाले उहाँले बाहिरबाटै हेर्नुभएको हो । ‘विगतमा विरक्त लाग्दो भए पनि अहिले धरहरा परिसर निक्कै फेरिएछ’ दंग पर्दै कार्कीले भन्नुभयो, ‘वरपरका टहरा हटेछन्, भट्टी र मःम पसल देखिएन, फोहोरको पनि व्यवस्थापन भैसकेछ ।’

धरहरा परिसरमै भेटिनुभएका काठमाडौं कपनका यज्ञ बुढाथोकीलाई पनि धरहरामा काम भैरहेको देख्दा साँच्चिकै अब धरहरा बन्ने भयो भनेर आशा पलाएको छ । 

काम धमाधम

भित्र जान निषेध गरी सुन्धारा अगाडिबाट धरहरा निर्माणस्थल चारैतिर छोपिएको छ । अहिले ठुला रुख काट्ने, जग खन्ने, सम्याउने लगाएतका काम धमाधम भैरहेको छ । गिट्टी, बालुवा, रड, सिमेन्ट जस्ता निर्माण सामग्री निर्माण स्थल र सुन्धारा नजिकै टुडिँखेलमा जम्मा गरिएको छ । गएको असोज २४ गतेदेखि धरहरा बनाउने काम सुरु भएको हो । तर यस बीचमा दसैं, तिहार, छठ जस्ता चाडपर्व परेकाले केही दिन काम रोकिएको थियो । रोकिएको काम अहिले सुरु भएको छ । 

अहिले झण्डै ५० जना कामदारले दिनहुँ काम गरिरहेका ठेकेदार कम्पनी जीआईईटीसी रमन जेभीका साइट इन्चार्ज श्यामचन्द्र श्रेष्ठले बताउनुभयो । ‘काम सुरु भएको छ, तर केही समस्या पनि देखिएका छन्’ उहाँले भन्नुभयो, ‘टेलिकमका तार र बिजुलीका तार तथा पोल हटाउन बाँकी नै छ । त्यस्तै गोश्वारा हुलाकको जमिन खाली गर्न पनि समय लाग्नेछ ।’ नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला र भित्रबाट भने २२ तलाको हुनेछ । 

पुरानो संरक्षण, नयाँ सुरक्षित बन्ने 

भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ भूकम्प प्रतिरोधी सुरक्षित धरहरा बनाउन थालिएको छ । ठ्याक्कै क्षेत्रफल यकिन नभए पनि पुरानो धरहराले ओगटेको क्षेत्र, गोश्वारा हुलाक, टक्सार विभाग गरी झण्डै ४२ दशमलव २ रोपनी जग्गामा धरहरा बन्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

३ अर्ब ४५ करोड रुपैयाँमा २ वर्षभित्रै सक्ने गरी धरहराको काम थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले बताउनुभयो । सुरुवाती कामको गति देख्दा धेरैलाई धरहरा बन्न दुई वर्ष पनि लाग्दैन कि भन्ने लाग्छ । तर दुई वर्षमै काम सकिएला त ? भन्ने अर्को आशंका पनि उत्तिकै छ ।

यो पनि पढ्नुहोस्

यस्तो बन्दैछ धरहरा​

 

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया