यातायात समितिले क्षतिपूर्ति दिन नमानेपछि बालिकाको शव उठेन

 मंसिर ३, २०७५ सोमबार १३:३८:५२ | भावुक योगी
unn.prixa.net

बर्दिया – महेन्द्र राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ नजिक सोमबार बिहान बसको ठक्करबाट एक बालिकाको ज्यान गएपछि राजमार्गमा यातायात ठप्प भएको छ ।

कालिकोटबाट कैलालीको टिकापुरतर्फ गइरहेको ना ४ ख ५३७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको हो । ज्यान गुमाएकी बालिका भुरिगाउँको भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
ठक्कर दिने बसको समितिले चासो दिएको छैन । समितिका प्रतिनिधि नआउन्जेलसम्म शव उठाउन नदिने र राजमार्गमा गाडी चल्न नदिने पीडितका आफन्तले जनाएका छन् । 

बालिकालाई ठक्कर दिने बसको समिति सुदूरपश्चिम यातायात समितिको प्रतिनिधि नआएको भन्दै स्थानीयवासीले बिहान ७ बजेदेखि नै घटनास्थलबाट शव उठाउन दिएका छैनन् । 

पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ नजिक घटनास्थल क्याम्पस चोकमा दुवैतर्फ सयौँ गाडिहरु रोकिएका छन् । यात्रुहरु राजमार्गमै अलपत्र परेका छन् ।

मृतक बालिकाका आफन्त र स्थानीयवासीले उचित राहत र चालकलाई कडा कानुनी कार्वाहीको माग गर्दै शव उठाउन र गाडी चल्न दिएका छैनन । बालिकाका आफन्तले उचित राहत, बालिकाको नाममा विद्यालयमा अक्षय कोष बनाउने र चालकलाई कडा कानुनी कार्वाहीको माग गरेका छन् ।

सुदूर पश्चिम यातायात समितिले नटेरेको स्थानीयले गुनासो गरेका छन् । बालिकाका आफन्त, स्थानीयवासीन्दा, विद्यार्थीले घटनास्थलमै समिति र चालकविरुद्ध नाराबाजी गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले यातायात समितिका प्रतिनिधिलाई झिकाएर र वार्तामा ल्याउन पहल गरिरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बसका चालक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया