घरेलु श्रमिक हुँ भन्न मलाई लाज लाग्दैन

 मंसिर ३, २०७५ सोमबार १६:७:३१ | सन्जिता देवकोटा

काठमाडौं – गाउँ होस् या शहर, हिजोआज विदेशिने लहर छ । विदेशमा हुने कमाईको लोभले देशभित्रै  गर्न सकिने काम देखिंदैन ।

तर चितवनकी मिना श्रेष्ठले आफ्नै देशमा भएको, त्यो पनि धेरैले कामै नमानेको घरको काम रोज्नुभयो । उहाँले गरीखानको लागि अर्काको घरमा काम गर्न थालेको १० वर्ष भयो । घरेलु कामबाट उहाँले घर चलाउनुभएको छ, आफ्नो खर्च आफैंले पुर्‍याउनुभएको छ ।  

मिनाका कुरा उहाँकै शब्दमा 

म एक घरेलु श्रमिक हुँ । घरको काम गर्छु भन्दा मलाई गर्व लाग्छ । कसैको घरमा गएर काम गर्दा अरुले के भन्छ, त्यसले मलाई फरक पर्दैन । 

मैले काम गरेर मेरो घर चलाएको छु । आफ्नो आवश्यकता पूरा गरेको छु । मैले काम गर्ने घरका मानिसले पनि मैले उनीहरुको कामलाई सघाउँदा बाहिर गएर काम गर्न पाएका छन् । यसमा लाज मान्नुपर्ने कुरा के छ र !

तर घरेलु काम गर्ने भन्ने बित्तिकै धेरैले आश्चर्य मान्ने गर्दछन् । घरेलु कामदारलाई नराम्रो नजरले हेर्ने चलन छ । जोखिम मोलेर गलत बाटो हुँदै खाडीका देशमा घरकै काम गर्न कति महिला दिदीबहिनीहरु पुग्नुभएको छ ।

अर्काको देशमा घरकै काम भए पनि न यहाँको जस्तो काम मिल्छ, न भाषा नै बुझिन्छ । तर पनि जोखिम मोलेर विदेश पुग्ने गर्छन् । काम जानिँदैन । भाषा पनि बुझिँदैन । अनि त साहुकाृ यातना सहनुपर्छ । घरेलु काम गर्ने भए यो सबै सहन विदेश किन जानु ? घरेलु काम गरेर आफ्नो घर चलाउन विदेश पुग्न पर्दैन । 

अरुको घरमा काम गरेर आफ्नो घर चलाएको छु 

१० वर्ष भयो मैले अरुको घरमा काम गर्न थालेको  । महिनाको १५ हजार रुपैयाँ कमाउँछु । आफ्नो घर चलाएको छु । चितवनमा जन्मिए पनि म काठमाडौंमा हुर्किएको हुँ । धेरै कक्षा पढ्न पाइनँ । सामान्य लेखपढ मात्रै जानेको छु । 

सानो उमेरमै बिहे भयो । बिहे भएपछि बालबच्चा भए । मेरो खर्च पनि बढ्यो । श्रीमानको कमाइले मात्र पुगेन । त्यसैले मैले पनि काम गर्छु भन्ने सोचेँ । तर काम के गर्ने भन्दाभन्दै घरेलु काम गर्न थालें । 

घरकै काम भए पनि अनुभव नहुँदा यो काम गर्न गाह्रो भयो । मैले गरेको काम नमिल्ने हो कि, मैले यो काम गर्न जानिन भने के होला जस्तो मात्र लाग्ने । 

मलाई राम्रोसँग खाना पकाउन आउँदैन थियो । मैले काम गर्ने घरको साहुनीले खाना बनाउन नजानेको भन्दै नराम्रोसँग गाली गर्नुभयो । ‘केटी मान्छे भएर ट्वाइलेट मात्र सफा गरेर खान पाइन्छ’ भनेर नराम्रोसँग गाली गर्नुभयो । उहाँको यो कुराले मलाई साह्रै बिज्यो । त्यसपछि हरेक प्रकारका खाना बनाउन सिक्नुपर्छ जस्तो लाग्यो । मैले सिकें पनि । 

आफूले सुरुवातमा पाएको दुःख सम्झँदा विदेशमा त झन् कस्तो होला भन्ने सम्झन्छु । कसरी काम गर्लान् ? भाषा, संस्कृति, संस्कार केही पनि नमिल्ने मानिसको घरमा । 

आफ्नै देशमा त कति हण्डर सहनुपर्छ । तर काम जान्ने हो भने अवसर त यहीँ पनि कति छ कति  । सुरुवातमा केही दुःख भए पनि अहिले मलाई यही काम गरेर पनि घरभाडा तिर्न र आफ्ना लागि खर्च पुगेको छ । 

कामका अवसर थुप्रै छन्

अरुको देशमा गएर काम गर्दा टन्नै कमाइन्छ भन्ने सोच धेरैको छ । यो सोचाई नै गलत छ । देशमा घरको काम गर्दा लज्जित भइने अनि विदेशमा गएर त्यही काम गर्दा चाहिँ इज्जत हुन्छ भन्ने सोच बदल्नुपर्छ । म, मैले गरेको काम र अरुले गर्ने काम समान ठान्छु । त्यसैले मलाई आफ्नो कामप्रति गर्व लाग्छ ।

विदेशमा गएर दुःख सहनुभन्दा त देशमा भएका घरेलु काम जस्तै अन्य काम गर्दा पनि राम्रो हुन्छ । सिलाई, ब्युटिसियनको काम, तितौरा बनाउने, अचार बनाउने अनि बेच्ने हो भने राम्रो कमाई हुन्छ । विदेशमा जतिको दुःख गर्ने हो भने देशमै २०÷२५ हजार त हाँसीखेली नै कमाइन्छ । 

तर हाम्रो बानी बिग्रिएको छ । हामी यहाँ दुःख गर्न चाहँदैनौं । विदेश गएपछि त थुप्रै कमाई हुन्छ भन्ने सोच्छौं र उता गएपछि दुःख पाउँछौं । स्वदेशमा त दुःख पाइयो, साहुले नराम्रो व्यवहार गर्‍यो भने पनि आवाज उठाउन पाइन्छ ।

न्याय माग्न पाइन्छ । परिवारको साथ हुन्छ । त्यसैले मलाई त विदेश गएर दुःख भोग्नुभन्दा त नेपालमै भएका अवसरको सदुपयोग गर्न ठीक लाग्छ । 

अन्तिम अपडेट: पुस २२, २०७५

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया