अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

 जेठ २८, २०७५ सोमबार १२:२२:२६ | रासस

म्याग्दी  – पैदल र हवाईमार्ग हुँदै अमेरिका हिँडेका म्याग्दीका १३ जना युवा नाइजेरियाको लागोसमा अलपत्र परेका छन् । 

विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई दलाले बन्धक बनाएको म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनका युवाले जानकारी दिए । 

मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीका उनीहरुलाई दलालले लागोसमा रहेको एक होटलमा बन्धक बनाएका थिए । 

नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवालाई होटलबाट बाहिर आउन नदिएको नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ती युवाले जानकारी दिएका छन् । 

झण्डै २२ महिना अगाडि हवाई र पदैल यात्रा गरी नाइजेरिया पुगेका युवाले घरपरिवारमा सम्पर्क गरेपछि घटना सार्वजनिक भएको होटलमा रहेका युवाले पठाएको विवरणमा उल्लेख छ । 

बन्धक बनाइएका युवामध्ये भागेर बाहिर आएकाले दिएको सम्पर्क नम्बरमा जेम्स भन्ने नाम गरेका व्यक्तिले फोन उठाएर कुनै समस्या नभएको बताउने गरेको आफन्तको भनाइ छ । 

बन्धक बनाइएका युवा नाइजेरियाबाट अमेरिकातर्फ प्रस्थान गर्ने भएकाले पनि आफ्नो नामसहित पासपोर्टको विवरणसमेत सार्वजनिक नगर्न अनुरोध गरेका छन् । 
म्याग्दीबाट गएकामा अर्मनका युवा धेरै छन् । बेनी नगरपालिका र गाउँपालिकाका विभिन्न वडाका युवाको नाम पहिचान हुन सकेको छैन । 

अवैध मार्गबाट झण्डै ३५ लाख रुपैयाँ खर्च गरी अमेरिका पुग्ने युवालाई नेपाल, भारतलगायत देशका तस्करले तोकेको ठाउँमा मोटो रकम बुझाउनुपर्छ । सम्झौता अनुसार रकम बुझाउन नसक्नेलाई होटलमै बन्धक बनाएर राख्ने गरिएको छ । 

नेपालबाट पठाउने एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली एजेण्टलाई पक्राउ गरेपछि थप जानकारी लिने प्रयास भइरहेको परिवार स्रोतलाई उद्धृत गर्दैै अमेरिकामा रहेका एक म्याग्देलीले जानकारी दिए । 

उनले आफू पनि हिँडेर आएको बताउँदै बाटो जोखिमपूर्ण भए पनि नेपालीको आकर्षण नघटेको बताए । 

नेपालबाट ठाउँ ठाउँमा युवालाई मोलतोल गरी बिक्री गरेजस्तै गरी पैसा बुझाउनुपर्छ । नेपाल, भारत, थाइल्याण्डलगायतका देशमा नेपाली दलाल रहेका उनीहरुले बताएका छन् । पछिल्लो समय, बोलिभिया, पानामा र मेक्सिकोमा समेत नेपाली दलालले होटललगायतमा काम गर्ने गरी त्यहाँ पुगेर सेटिङ मिलाउने गरेका छन् । 

बन्धक बनाइएका युवाले विभिन्न अन्तर्राष्ट्रियस्तरका रेमिट् कम्पनीमार्फत परिवारबाट रकम मगाइरहेका छन् । 

भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हँुदै झण्डै १२ देशका समुद्र र जंगलको कठोर यात्रा पार गरी मेक्सिकोमा पुगेपछि तस्करले अन्तिम सेटिङ गरेबापत रकम माग्ने गर्छन् । हरेक वर्ष म्याग्दीबाट  ५० लाख रुपैयाँसम्म दलाललाई बुझाएर अमेरिका जाने युवाको संख्या अत्यधिक रहेको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • Shova

    June 11, 2018, 1:34 p.m.

    What a pity story. Government is happy to receive remittance n doesn't feel d pain of young guys. It is not their interest to go abroad, they are compelled.

  •  0 Reply

तपाईको प्रतिक्रिया