थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै कैलाली बन्द

 मंसिर ४, २०७५ मंगलबार १२:२५:३३ | निर्मला खडायत
unn.prixa.net

कैलाली –  विजय थापाको हत्यारा सार्वजनिकको माग गर्दै स्थानीयले मंगलबार कैलाली बन्द गरेका छन् । हत्या प्रकरणमा दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गर्दै मंगलबार बिहान ७ बजेदेखि कैलाली बन्द गरिएको हो । बन्दकर्ताहरुले बिहानैदेखि बन्द गराउँदै हिँडेका छन् ।

उनीहरुले विद्यालयका बस, एम्बुलेन्सबाहेक यातायातका सबै साधनहरु ठप्प पारेका छन् । प्रहरीले अनुसन्धानमा लापर्वाही गरिरहेको र अपराधिलाई उम्काउने प्रयत्न गरिरहेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताएका छन् । सामान्य आन्दोलनबाट दोषीलाई सार्वजनिक नगरिए आफूहरुको आन्दोलनले उग्र रुप लिने र त्यसको जिम्मेवार सरकार हुने न्यायिक संघर्ष समितिका सदस्य जनकराज अवस्थीले बताउनुभयो ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ नाष्ट कलेज अगाडि स्थानीय विजय थापाको हत्यामा संलग्नलाई उम्काउन खोजिएको उनीहरुको आरोप छ । दोषीलाई सार्वजनिक गर्न माग गर्दै न्यायिक संघर्ष समितिले सोमबार पनि ट्राफिक चौराहदेखि जिल्ला प्रशासन कार्यालय सम्म प्रदर्शन गरेका थिए ।

शुक्रबार राति ९ बजे धनगढी उपमहानगरपालिका–४ प्रदेश प्रमुखको कार्यालय नजिकै स्थानीय विजय थापाको हत्या भएको थियो । हत्या गरेर घिसार्दै लगिरहेको अवस्थामा यही ठाउँका आशिष सेट्टीलाई प्रहरीले पक्राउ गरेको थियो । घटनास्थलबाटै पक्राउ परेका सेट्टीलाई दोषीकारुपमा सार्वजनिक नगरिएको र घटनालाई प्रहरीले बङ्ग्याउने कोसिस गरिरहेको भन्दै न्यायिक संमितिले दवाब दिँदै आइरहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया