३५ चिया उद्योगलाई दुई लाखभन्दा बढीको सामग्री वितरण

 मंसिर ४, २०७५ मंगलबार १५:५७:२१ | सुजता सुनुवार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – इलामका ३५ साना चिया उद्योगलाई दुई लाख मूल्यभन्दा बढीको सुरक्षा सामग्री वितरण गरिएको छ ।

चिया बगानका मजदुरलाई व्यवसायजन्य सुरक्षाका लागि दुई लाख ४५ हजार रुपैयाँ बराबरको विभिन्न सुरक्षा सामाग्री वितरण गरिएको जुनतारा सामाजिक विकास केन्द्र इलामले जानकारी दिएको छ  ।

३५ उद्योगलाई प्रति उद्योग सात-सात हजारका दरले पञ्जा, हेल्मेट, माक्स, चस्मा, गमबुट, फ्रस्टेस बक्स, फायर एक्सटिङ गुइसर जस्ता एक-एक थान सामग्री व्यवहारिक प्रयोजनका लागि उपलब्ध गराइएको हो ।

डेनमार्क सरकारको आर्थिक सहयोगमा उन्नतीको एक लाख ९२ हजार पाँच सय रुपैयाँ र जुनतारा सामाजिक विकास केन्द्र इलामले अर्थोडक्स चिया उद्योगबाट प्रति उद्योग एक हजार पाँच सय रुपैयाँ संकलन गरेर एक लाखभन्दा बढी मूल्य बराबरको सामान उद्योगीलाई प्रदान गरेको केन्द्रले जानकारी दिएको छ ।

परियोजनाका कार्यक्रम संयोजक पुनम श्रेष्ठका अनुसार दिइएका यी सामाग्री प्रयोगमा आउँछ–आउँदैन भनेर निरन्तर अनुगमन समेत गरिनेछ । इलाममा ११ महिना व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी परियोजना सञ्चालन भएको थियो । यस अन्तर्गत ३५ चिया उद्योगीलाई तालिम दिइएको थियो ।

परियोजना पूरा भए पनि अहिले एक महिना थप भएकाले अन्तिम चरणका गतिविधि भइरहेको संयोजक श्रेष्ठले बताउनुभयो ।

इलाममा रहेका निजी क्षेत्रका चिया उद्योगीका लागि उद्योगमा हुने आपतकालीन अवस्था आइपरे कसरी सुरक्षित रुपमा समाधान गर्ने, उद्योगमा काम गर्ने मजदुरहरुको स्वास्थ्य र सुरक्षासम्बन्धी उद्योगीले के–कस्ता कार्यहरु गर्नु पर्छ भन्नेलगायतका विषयमा उद्योगीलाई तालिम समेत दिएको केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया