लमजुङमा मर्स्याङ्दी महोत्सवको रौनक (फोटो फिचर)

 मंसिर ४, २०७५ मंगलबार १७:१५:५६ | श्यामशितल परियार

लमजुङ – प्रसिद्ध अन्नपूर्ण पदर्मागमा पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदीमा प्रथम मर्स्याङ्दी महोत्सव सञ्चालन गरिएको छ । महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्राकृतिक श्रोत–साधनलाई समृद्धिको आधार बनाइनुपर्ने उल्लेख गर्नुभएको छ । पर्यटन, ऊर्जा, कृषि र उद्योगबाट गण्डकी प्रदेशको समृद्धि सम्भव रहेको उहाँले बताउनुभयो । 

गण्डकी प्रदेशमा होमस्टे पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजन गरिएको समेत उहाँले बताउनुभयो । ‘अबको ५ वर्षभित्रमा प्रदेशमा ५० हजारलाई रोजगारी स्वरोजगार बनाइनेछ । यसका लागि प्रदेशभित्र ३ सय गाउँमा होमस्टे सञ्चालन गरिनेछ । यसको पूर्वाधार निर्माणका लागि ३० करोड रुपैयाँ छुट्याइएको छ’, उहाँले थप्नुभयो । उहाँका अनुसार प्रदेशमा ‘नमूना फर्म सञ्चालन’का लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार । कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ यो महोत्सव सञ्चालन गरिएको हो ।

मौलिक, कला, धर्म–संस्कृति, भेषभुषाको संरक्षण, जलविद्युतमैत्री गाउँपालिका निर्माण, होमस्टे र पर्यटन प्रवद्र्धनका लागि महोत्सव सञ्चालन गरिएको प्रथम मर्स्याङ्दी महोत्सव मूल समारोह समितिका सह–संयोजक एवम् मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

उहाँका अनुसार महसिकार, कृषि तथा स्थानीय उत्पादन प्रर्दशनी, स्थानीय कलासंस्कृतिको प्रर्दशनी, होमस्टेसहितका विभिन्न पर्यटकीय स्थानको भ्रमण, अर्गानिक खाना, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न खेलकुद प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् ।   

महोत्सवका अवसरमा विभिन्न जातीय संस्कृति प्रस्तुत गरिएको छ । महोत्सवमा गुरुङ सुमदायको झाँक्री नाच, घ्याब्रे नाचका साथै ब्राह्मण, क्षेत्री समुदायको भजननाच समेत प्रस्तुत गरिएको छ ।

जिल्लामा विभिन्न पर्व, अवसरमा मेला, उत्सव र महोत्सवहरु सञ्चालन हुँदै आएका छन् । ‘बेलाबखतमा हुने यस्ता मेला, महोत्सवले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्‍याउँछ’, लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम्  होटल व्यवसायी रामकुमार श्रेष्ठले भन्नुभयो ।

मर्स्याङ्दी महोत्सवमा ३० वटा स्टल राखिएका छन् । महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने महोत्सव मूल समारोह समितिले अपेक्षा गरेको छ ।


 

अन्तिम अपडेट: चैत २, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया