लमहीको वडा नम्बर ६ को कार्यालय शनिबार पनि खुल्ने

 मंसिर ४, २०७५ मंगलबार १८:३:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लमही नगरपालिका वडा नम्बर ६ को कार्यालय शनिबार पनि खुल्ला हुने भएको छ ।

वडापालिकाको मंगलबार बसेको बैठकले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ला राख्ने निर्णय गरेको वडा अध्यक्ष गणेशमान चौधरीले जानकारी दिनुभयो ।

‘अत्यावश्यक कामको लागि सिफारिस दिनेगरी शनिबार पनि वडा कार्यालय खुल्ला राख्ने निर्णय गरेका हौँ’, वडाध्यक्ष चौधरीले भन्नुभयो,‘कर्मचारी, विद्यार्थी तथा वडावासीहरुले शनिबार कार्यालय खुल्ला हुँदा सेवा लिन सजिलो हुने छ ।’

यस्तै बैठकले नदीजन्य पदार्थको निकासी रोकिँदा विकास निर्माणको काम प्रभावित भएको भन्दै प्रक्रिया पुर्‍याएर नदीजन्य पदार्थको निकासी खुल्ला गर्न नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

वडाभित्र ५ वटा विद्युत ट्रान्सफर्मर आएको उल्लेख गर्दै तत्काल ट्रान्सफर्मर जडान गर्न दीपज्योति विद्युत प्रालिलाई अनुरोध गरिएको छ । चालु आर्थिक वर्षभित्र कार्यान्वयन हुने बजेट तथा कार्यक्रम सम्पन्न गर्न यथा शिघ्र उपभोक्ता समिति गठन गर्ने निर्णय गरिएको छ ।

यस्तै भैलो खेलेर जम्मा गरेको रकमले शुभकामना युवा क्लबले सडकबत्ती जडान गरेको प्रति वडा कार्यालयले धन्यवाद ज्ञापन गरेको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया