बद्री पंगेनीको व्यङ्ग्य : ल है ! नेताज्यू चिल्ला कारमा फस्ने नगर

 मंसिर ४, २०७५ मंगलबार २०:२७:५७ | नवीन गुरुङ

संखुवासभा – एक नम्बर प्रदेशकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र मानिने संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटार मनकामनाको एकादशी मेलामा उपस्थित सबैलाई बद्री पंगेनीले नचाएका छन् ।

बृहत मनकामना एकादशी मेला तथा स्व. खेमराज गुरुङ स्मृति साँझ २०७५ मा लोकगायक पंगेनी मुख्य आकर्षणको केन्द्र बने । नेताका भाषण सुन्दा–सुन्दा दर्शकहरु वाक्क भइसकेका थिए । नेताका भाषणबीच बद्री पंगेनी मञ्चमा उक्लिएपछि घर जान लागेका दर्शकहरु पनि फर्किए ।

विदेसिएका नेपालीहरूको पीडालाई गीतमा उतारेका गायक पंगेनीले मेलामा यस्तै गीत गाउँदा उपस्थित दर्शकको आँखा रसायो । 

बाध्य भइयो परदेशमा छिर्न 
मैले पढ्दा लाएको ऋण तिर्न 
आमा बिदा पाउँदिनँ 
अहिलेको साल पनि आमा घरमा आउँदिनँ ।

यो गीत गाउँदा उपस्थित दर्शकमध्ये वृद्धहरूले त आँसु थाम्नै सकेनन् । आफ्ना गीतमा बुवाआमा समानका दर्शक रोएको देखेपछि गायक पंगेनी स्टेजबाटै ओर्लेर वृद्धवृद्धाको आँसु पुछिदिए । त्यसपछि लगत्तै मञ्चमा उक्लिएर गीत गाउने क्रममा पंगेनी स्वयमले पनि आँसु रोक्न सकेनन् । नेपाली युवाहरू विदेसिनु परेको पीडा र घरमा बुढा आमाबा एक्लै बस्दाको पीडालाई गीतमार्फत सुनाउँदा बद्रीको आँखा रसाएपछि उपस्थित दर्शकले त आँसु थाम्ने कुरै भएन । पहिलो गीतबाट गायक पंगेनीले दर्शकलाई रुवाए पनि त्यसपछिका गीतबाट भने उनले दर्शकलाई नचाए । 

पंगेनीको गीत सुनेर स्टेजमा अतिथि रहनुभएका राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरु र स्थानीय तहमा जनप्रतिनिधिलाई व्यङ्ग्य गर्दै गीत गाए । विदेसिएका युवाहरुको कथाव्यथालाई गीतमा प्रस्तुत गरिसकेपछि बद्रीले गीतबाटै नेताहरुलाई व्यङ्ग्य गरे ।  चुनावको समयमा जनतासँग गरेका वाचा सम्झाए । गाउँका समस्या र विकास निर्माणका कुरा गीतबाटै उल्लेख गरे ।

हाम्रो गाँउमा स्कुल छैन, बाटो छैन, पानी छैन 
जनतालाई साँझ बिहान पेटभरि खाना छैन ।
सुन नेताज्यू शहर मात्र बस्ने नगर
ल है नेताज्यू चिल्ला कारमा फस्ने नगर ।

यो गीतमा बद्रीले दर्शकहरुको गडगडाहट तालीले स्वागत गरे । यी दुई गीत बद्रीका सुरुवाति गीत थिए । त्यति गीत गाएर पुनः बेलुका गाउँने वाचा गर्दै बद्रीले स्थानीय कलाकारहरुलाई मञ्च खाली गरिदिए । बीचमा स्थानीय कलाकारहरुका विभिन्न प्रस्तुति रहे । फेरि झण्डै रातिको ११ बजेको समयमा बद्रीलाई कार्यक्रम सञ्चालकहरुले पुनः मञ्चमा बोलाउनुभयो । दर्शकको तालीको गडगडाहटले मनकामना धाम फेरि एकपटक गुञ्जियो । अनि बद्री आए स्टेजमा । अब सुरु भयो उनको सांगीतिक धमाका । 

‘रातो पछ्यौरीमा’ र ‘ससुरालीमा’ जस्ता चर्चित गीत गाएर दर्शकलाई नचाए । दर्शक दीर्घाबाट ‘वान्स मोर’को हुटिङ्ग आइरहेको थियो । पंगनीको गीतसँगै दर्शकहरु चुपचाप बस्नै सकेनन् र उफ्रिन थालिहाले ।

‘रातो पछ्यौरी’ बोलको गीत गाउँदा स–साना बालबालिकादेखि पाका उमेर समूहका मान्छेहरु समेत स्टेज अगाडि पुगेर नाच्न थाले ।  ‘खान्न मत पिँडालु कोक्यायो’ बोलको गीतमा पनि सबैले नाचेर उनलाई साथ दिएका थिए । ‘झ्याउरेको तालैमा’ बोलको गीत गाउँदा स्टेजदेखि स्टलसम्म सबैजना नाचेका थिए । बढ्दै गइरहेको रात र चिसोको कुनै प्रवाह नगरी दर्शकहरु मज्जाले नाच्नुभयो । 

प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अघिल्लो रात तुम्लिङटारमा मेला लाग्ने गरेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया