सदन र सडकमा कांग्रेस कमजोर बन्यो

 मंसिर ५, २०७५ बुधबार ११:५६:२५ | गुरूराज घिमिरे
unn.prixa.net

नेपाली कांग्रेसमा अहिले आन्तरिक विवाद हो की भने जस्तो बाहिरबाट देखिन्छ । तर बाहिर देखिएको जस्तो विवादै भने खासै केही छैन । प्रजातान्त्रिक पार्टीमा विचारका मन्थन हुन्छन् । छलफल हुन्छन् । अनि छलफलबाटै एउटा निष्कर्षमा पुगिन्छ । हाम्रो पार्टी कसैकाे आदेशकाे भरमा चल्ने पार्टी होइन ।

सामूहिक नेतृत्वमा हिँड्ने अनि सामूहिक निर्णय लिइने भएकाले निर्णय लिने÷गर्ने बेलामा व्यापक बहस हुन्छ । त्यसलाई आन्तरिक विवादै पो हो कि भन्ने जस्तो बाहिर लागेको हो । वास्तवमा हामी हाम्रा निर्णयले पार्टीलाई अझ बलियो होस्, सुदृढ बनोस् र यसले कार्यकर्ता तथा समग्रमा नागरिकको हितमा काम गर्न सकियोस् भन्नेमै केन्द्रित भएर छलफलमा लाग्छौँ । 

पछिल्लो पटक कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका बारेमा निर्णय गर्न केही गम्भीर छलफलमा हामी जुट्न पर्‍याे । नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको असाध्यै धेरै सांगठनिक र राजनीतिक महत्व राख्ने भ्रातृ संगठन हो । तर यसले २ वर्षे अवधि पूरा गरेर ३ महिना थप गर्दा पनि अधिवेशन गर्न असफल रह्यो । र पछिल्लोपटक आइतबारको बैठकले अधिवेशन गराउने प्रयोजनका निमित्त भन्दै २ महिना समय थप गरेको छ । तर यो थप गरेको समयमा पनि अधिवेशन गराउन नसकिने भनेर संघकै साथीहरुले बताउँदै आएका छन् ।  

साथै यही कार्यकालभित्र स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनमा विद्यार्थी साथीहरु खटिनु पर्यो । त्यसले पनि उहाँहरुलाई महाधिवेशन समयमै सक्न समस्या पर्‍याे। संघले परिवर्तित संघीय संरचना अनुसारको विधान बनाउनु पर्ने आवश्यकता थियो । ११ औं महाधिवेसनता अघि बनाइएको विधानमा प्रदेश कार्यसमितिको परिकल्पना त थियो तर अन्तरिम व्यवस्था मात्रै थियो । तर त्यसलाई पूर्ण रुपमा संघीय संरचनामा लानु आवश्यक थियो ।  

त्यस्तै ११ औं महाधिवेशनबाटै पारित भएको ३२ वर्षे प्रावधानमा पनि पछिल्लो समय विवाद देखियो । ११ औँ महाधिवेशनबाट ३२ वर्षे प्रावधान कार्यान्वयनमा लैजाने जिम्मेवारी बोकेर आएको नेतृत्व नै यो अवधि हटाउनु पर्छ भन्नेमा लाग्यो । संघकै केही भने ३२ वर्षे अवधि राख्नु पर्छ भन्नेमा छन् । उमेर विवादले पनि संघको अधिवेशन समयमा हुन सकेन । साथै संघले बुझाएको विधान संशोधन गरेर दिन पनि माउ पार्टीले केही ढिलाई गर्यो । 

तर यसका बाबजुद पनि संघले समयमै होमवर्क गरेर महाधिवेशन गर्न सक्थ्यो । तर उ असफल बन्यो । नेविसंघमा नयाँ विद्यार्थी सख्या थप गर्ने काममा हामी सबै लाग्नु पर्ने हो । यस्तो सानो मसिनो कुरामा अल्मलिएर बस्ने होइन नि । तर पार्टीभित्र जुन परम्परागत रोग छ गुट समात्ने । गुटको उन्नति र प्रगतिका लागि जे पनि गर्ने । गुटगत प्रतिस्पर्धालाई अमैत्रीपूर्ण र अस्वस्थ बनाउने । हो यसले गर्दा चाहिँ अहिलेको जस्तो जटिलता देखा परेको हो ।  

अब नेविसंघको शाख जोगाउन महाधिवेशन समयमै गर्नुपर्ने बाध्यात्मक अवस्था छ । पटकपटक समय थप गर्दै जाने अवस्था छैन । यो नेतृत्वले पनि गरेर देखाउनु पर्ने चुनौती छ । पार्टीले समय नथपिदिने हो भने स्वतः भंग हुने अवस्था छ ।  

संस्कार बदल्ने प्रयास

अहिले नेकपाले सरकार चलाई रहेको छ । उसँग सुविधाजनक बहुमत छ । उसलाई सरकार तलमाथि होला भन्ने छैन । कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यता राख्ने पार्टी हो । त्यसैले हामी तल्लो तहमा गिरेर सरकारको आलोचना गर्दैनौं । 

हामी प्रतिपक्षीय भूमिका तथा सत्तापक्षीय भूमिका परिमार्जन होस् भन्ने चाहन्छौँ । २०४६ पछि हामीले जुन परम्परागत चरित्र प्रदर्शन गर्यौं, सत्तापक्षले पनि अनि प्रतिपक्षले पनि ।

सत्तापक्षलाई चल्नै नदिने । प्रतिपक्षलाई वास्तै नगर्ने । दुईवटै प्रवृत्ति देख्यौं नि हामीले नेपाली राजनीतिमा । तर अब त्यसबाट अगाडि बढोस् नेपाली राजनीति भन्ने चाहन्छौं हामी । हामी सभ्य ढंगले अनि सुसंस्कृत ढंगले प्रस्तुत हुन चाहन्छौं । 

हाम्रा सांसदको काम प्रभावकारी भएन

हाम्रा नेताहरु जो सदनमा हुनुहुन्छ, उहाँहरुको काम कारबाही चाहिँ बलियो देखिएन । प्रभावकारी देखिएन । त्यसमा हाम्रो कमजोरी देखियो । 

संसदीय दलको कमजोरी देखियो । सांसदहरुको कमजोरी देखियो । नेताहरुको कमजोरी देखियो । सदन भित्र, बाहिर पनि कमजोरी देखियो । पार्टीका कार्यक्रमहरु प्रभावकारी रुपमा हुन सकेनन् । 

नागरिकका दैनानुदिन जीवन कष्टकर हुँदाका बखतमा पनि पार्टीले सशक्त कार्यक्रम गर्न नसकेको यथार्थ हो । विपक्षी तथा प्रमुख प्रतिपक्षीको नाताले सरकारले गरेका काम कारबाहीहरुलाई सचेतताका साथ सुक्ष्म रुपमा हेनै जरुरी छ । हामी विरोधका लागि विरोध गर्दैनौं ।

नागरिकका सवालमा काम गरेको छ भने सरकारको निशंकोच समर्थन गर्छौं । मैले पार्टी भित्र पनि भन्दै आइरहेको छु । तर नागरिकका विरोधमा, नागरिकका दैनानुदिन जीवनलाई असर पार्ने कामहरु, नागरिक मर्नु पर्ने अवस्था आयो भने चाहिँ हामी चुप लागेर बस्दैनौं । त्यसको डटेर विरोध गर्छौँ ।  

भेलाले पार्टी संगठित

फोरम लोकतान्त्रिक विलय गराएर कांग्रेस फर्कनु भएका विजयकुमार गच्छदारलाई एक वर्षअघि नै पार्टीले जिम्मेवारी तोक्नु पर्ने थियो । तर नेताहरुले प्रकृया मिलाएर गर्नुस् भन्नु भएको थियो, त्यो हुन सकेन ।

नेतृत्वले त्यो कुरामा विचार पुर्याउनु पर्थ्याे । तर उहाँलाई ल्याइएको विषयमा अब धेरै बोल्नु उचित छैन । किचलो गर्नु हुँदैन । तर ढिलै भए पनि उहाँलाई ल्याइएको छ । यसले पार्टीलाई नै फाइदा पुग्नु पर्छ । 

यसै विषयमा सुजाता कोइरालाको घरमा सभापति इतरका नेताहरुको भेला भयो । तर यो  भेलाले पार्टीलाई क्षति पुर्याउन नभई, पार्टीका लागि उत्साह नै ल्याएको छ । नेतृत्वसँग असहमत राख्ने नेताहरुको उपस्थितिले नेतृत्वको विरोधमा भएको भेला जस्तो देखिए पनि पार्टीलाई बलियो बनाउने सवालमा भने भेला उत्साहजनक नै रहेको मैले पाएको छु । 

यस्तै युवा नेताहरु पनि निरन्तर रुपमा पार्टी सुदृढ बनाउनु पर्छ भनेर कुरा उठाउँदै आएका छन् । पार्टीलाई पुरातन तरिकाले हाँकेर हुनेवाला छैन भनेर संघर्ष गर्दै आएका छन् । महासमितिमा के गर्नु पर्छ, पार्टी सुदृढिकरणका लागि के गर्न सकिन्छ, नेविसंघको सवालमा के गर्न सकिन्छ भनेर हामी युवाहरु भेला भएका हौं । 

महासमिति बैठकलाई प्रभावकारी बनाउने, पार्टीले अख्तियार गर्ने नीति, अगाडि सार्ने मार्गचित्रका बारेमा सुझाव दिने र महासमिति बैठकलाई उपलब्धीमुलक रुपमा टुंगोमा पुर्याउने काममा अझ प्रभावकारी रुपमा अगाडि लैजान हामी भेला भएका हौं ।  

महासमिति बैठक तोकिएकै मितिमा

अब महासमिति बैठक सर्दैन । शंका कतैबाट पनि नगरौँ । हामीलाई विधान बनाउनु छ । महासमिति बेगर अरुले विधान बनाउन सक्दैन । विधान संसोधन नगरी महाधिवेनमा जान सक्दैनौं । हामीसँग अन्य सुविधा पनि छैन ।

हामीसँग सुविधा भएको भए सर्न पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । तर अब हामीसँग विधान संशोधन गर्ने अर्को कुनै बाटो छैन । कुनै विकल्प छैन । हामीसँग अब कुनै उपाय छैन । धेरै पर्खने समयको सुविधा पनि छैन ।

हामी विस्तारै महाधिवेशनतर्फ जानु पर्छ । पार्टीको आन्तरिक सांगठनिक काम कारबाही पनि अगाडि बढाउनु जरुरी छ । र बाहिरी कार्यक्रम पनि अगाडि बढाउने आवश्यकता छ । त्यसैले तोकिएकै मितिमा महासमिति बैठक हुनु हाम्रा लागि अति आवश्यक छ । बैठक तोकिएकै मितिमा हुन्छ । 

महासमिति बैठकले नीतिगत रुपमा पार्टीले लिने सैद्धान्तिक बाटो, संगठनको समिक्षा, लगायतको निर्णय गर्छ ।  

डेमोक्रेसीमा व्यक्ति बलियो हुँदैन

डेमोक्रेसीमा व्यक्ति बलियो हुने गरी विधान बन्दैन । डेमोक्रेसीमा पार्टीका सबै कार्यकता बलियो बन्ने हो ।

आम जनता कसरी बलियो बनाउने भन्ने चिन्ता हो । डेमोक्रेटिक पार्टी, डेमोक्रेसी भ्यालु, नम्स, मूल्य मान्यता अंगिकार गरेको व्यक्तिले आफू बलियो कसरी होउँ, विधानमा अधिकार कसरी राखौं भन्दैन ।

सभापति त स्वतः बलियो हो । त्यसैले हामीले संस्था बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ । 

विश्वप्रकाश हामीसँगै हुनुहुन्छ 

नेतृत्व फेर्नेसम्मको कुराकानी हामीले गरेका छौं । त्यो कुरा आउनु नाजायज पनि होइन । सभापतिले आफू बस्न खोज्नु स्वभाविक पनि हो । अर्को पक्षले फेर्न खोज्नु नाजायज कुरा पनि होइन । तर हाम्रो युवाहरुको बैठकमा यो कुरा प्रवेश गराएका छैनौँ ।  

विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ता हुनुहुन्छ । उहाँ युवाहरुको समूहबाट बाहिरिनुभयो भन्ने खालको जुन कुरा आयो त्यो होइन । उहाँसँग अहिले पनि हाम्रो सहकार्य छ । सम्बन्ध छ । 

पार्टीको प्रवक्ता नियुक्त भइसके पछि आफ्नो जिम्मेवारीमा बस्नु पर्ने बाध्यता उहाँलाई छ । जहाँतहीँ बैठक बस्दै हिँड्नु त भएन नि । उहाँको नियुक्तिसँग हामी उत्साहित छौँ । तर उहाँले काम गर्दा चाहिँ नयाँ पुस्ताको भावना समेट्ने गरी काम गर्नु पर्छ भनेर हामीले भन्दै आएका छौं ।

नयाँ पुस्ताको प्रतिनिधित्व समेटिएको छ भने पछि उहाँ सफल हुनु पर्यो । उहाँ सफल हुनु भएन भने हाम्रो पुस्ता असफल हुन्छ । असफलताको म्यासेज जान्छ । त्यसैले उहाँ भावनात्मक रुपमा हामीसँगै हुनुहुन्छ । प्राविधिक रुपमा मात्रै पार्टीको प्रवक्ताको जिम्मेवारीमा हो ।  

प्रवक्ताले नेतृत्वको बढाइ गर्ने मात्रै काम गर्यो भने उहाँ पनि परम्परागत बाटोमै जानुभयो भन्ने हुन्छ । त्यसो भयो भने हाम्रो पुस्तालाई क्षति हुन्छ । त्यसैले उहाँ जस्तो सुझबुझ भएको मान्छेले त्यसमा विचार गर्नु हुन्छ भन्ने मलाई लागेको छ ।  

सरकार असफल

सरकार सफल भएन । नौ महिना सरकारको पूर्ण समय त होइन । तर यो ९ महिने कार्यकालमा सरकारले सफलताको कुनै पनि संकेत देखाएन । यो सरकारको ४ वर्ष तीन महिने कार्यकाल अझै बाँकी नै छ । हामी आशा गरौं, सरकारले राम्रा कार्यक्रमहरु लिएर आउँछ । नारावादी मात्रै बन्दैन ।

सरकार व्यवहारवादी पनि बन्छ । नागरिक केीन्द्रत हुन्छ । राष्ट्र र नागरिकको हितमा काम गर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार, परिवर्तनको मर्म अनुसार काम गर्छ । 

नागरिकको अपेक्षा अनुसार काम गर्छ । उही पार्टीलाई मत दिएका नागरिकको अपेक्षा अनुसार पनि त काम गर्नु पर्यो नि । तर अहिलेसम्म त्यस्तो लक्षण भने देखिएको छैन । आगामी दिनमा सरकारले त्यो बाटो समातोस् भन्ने मेरो शुभकामना छ ।  

(कांग्रेसका युवा नेता गुरुराज घिमिरेसँग नवराज फुयाँलले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन ३०, २०८०

गुरूराज घिमिरे

घिमिरे नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया