युएई पुगेका सुमनका दुवै मृगौला फेल, आमाको पुकार–मेरो मृगौला दिन्छु, छोरो बचाइदिनुहोस्

 मंसिर ५, २०७५ बुधबार १२:२७:३३ | उमाकान्त पाण्डे

युएई – आबुधाबीको खालिफा अस्पताल । यो यहाँको सरकारी अस्पताल हो । अस्पतालको डी ब्लक पहिलो तलाको बेड नम्बर २२ मा हुनुहुन्छ, चितवन रत्ननगर–२ टाँडीका सुमन परियार । उहाँ युएई आएको साढे २ वर्ष भयो । 

अपारल ग्रुप अन्तर्गत डेल्मा मलको टिम हर्टन कफी पसलमा काम गर्ने सुमनलाई कात्तिकको तेस्रो हप्तादेखि खान मन नलाग्ने र वाकवाकी लाग्ने समस्या देखिएको थियो । सुमन काम गर्ने पसलका म्यानेजर चितवन सञ्जु तमु हुनुहुन्छ ।

उहाँले सुमनलाई अस्पताल जान भन्नुभयो, तर सुमनले मान्नुभएन । तर समस्या बढ्दै गएपछि सञ्जुले नै उहाँलाई आबुधाबीको एनएमसी अस्पताल पुर्‍याउनुभयो । 

अस्पतालमा पुगेपछि सुमनका दुवै मृगौला फेल भएको देखियो । थप उपचारका लागि उहाँलाई अलरहा अस्पताल पुर्याइयो । नीजि अस्पतालमा उपचार खर्च महङ्गो हुने भन्दै अलरहा अस्पतालले नै उहाँलाई आबुधाबीको खालिफा अस्पताल पठाइदिएको छ । 

दुवै मृगौलाले काम गर्न छोडेको कुरा सुमनले तीन दिनसम्म घरमा सुनाउन सक्नुभएन । तर परिवारलाई भन्नुको कुनै विकल्प थिएन, उहाँसँग । गहभरी आँसु पार्दै सुमनले भन्नुभयो ‘छोराछोरी जे भने पनि मै एक्लो हुँ, मलाई यस्तो भयो । अब बाबा आमाको हालत के होला ?’

अस्पतालको रिपोर्ट हात परेको तीन दिनमा उहाँले आमालाई आफैं फोन गरेर खबर सुनाउनुभयो । आमालाई आफ्नो बारेमा सुनाउँदादेखि अहिले पनि  सुमनले आफूलाई सम्हाल्न सक्नुभएको छैन । 

‘मेरो मृगौला दिन्छु, छोरो बचाइदिनुहोस्’

सुमनको भन्दा फरक छैन उहाँका बुवाआमाको अवस्था पनि । बुवा ५० वर्ष नाघ्नु भयो, आमा ४३ वर्ष पुग्नुभयो । उहाँहरु कपडा सिलाउने काम गर्नुहुन्छ । बुढेसकाल लागेका बुवाआमालाई सजिलो होस् भनेर २५ वर्षका सुमनले विदेश उड्नुअघि बिहे गर्नुभएको थियो ।

सात महिनाअघि उहाँ घर आउनुभएको थियो बिदामा । नेपाल आएर फर्किंदासम्म कुनै समस्या नभएका छोराको यस्तो खबर सुनेकी समुनकी आमा चन्दाले आफूलाई सम्हालेर छोरालाई आँट दिन खोजिरहनुभएको छ । 

‘मैले फोन गर्दा आमाले बाबु चिन्ता नगर मेरो मृगौला तिमीलाई दिन्छु, तिमीलाई बचाएर नेपाल ल्याउँछु भन्नुभयो’ आमासँग कुरा सुनाउँदा सुमनको गला अवरुद्ध भयो । 

आमा, परिवार अनि साथीहरुलाई भन्न नसकेका कुरा उहाँले एउटा डायरीमा लेख्नुभएको छ । परिवारको याद आउँदाका कुरा डायरीमा लेखेको र दुई पाना भरिसकेको उहाँले सुनाउनुभयो । 

परिवारमा समस्या

कमाउन गएका सुमन मरुभुमीको थलिएपछि परिवार समस्यामा परेको छ । परिवारको गुजारासँगै उहाँको उपचार खर्च कसरी जुटाउने कुनै उपाय छैन । मंगलवारसम्म ६ पटक डायलायसिस भइसकेको छ ।  

मृगौला आमाले नै दिने भएपछि कम्पनीले सहयोग गरे आमालाई नै युएई ल्याउने, नभए सुमनलाई नेपाल पठाएर मृगौला प्रत्यारोपण गर्ने पहल गर्न कम्पनी, अस्पताल तथा सहयोगीहरुसँग समन्वय गरिरहेको म्यानेजर सन्जु तमुले बताउनुभयो । 

सुमनको उपचारमा अहिले उहाँसँगै काम गर्ने साथीहरुले सहयोग गरिरहेका छन् । डेढ हप्तासम्म अस्पतालमा साथीहरु नै कुर्न बसेका थिए । अहिले सुमनले काम गर्ने पसलमै कार्यरत झापाकी भूमिका श्रेष्ठ उहाँसँग हुनुहुन्छ ।

सुमनलाई स्याहार्न उहाँकी श्रीमती सबिता परियारलाई युएई ल्याउन गायक प्रकाश पौडेलले सहयोग गर्नु हुने भएको छ । उहाँको उपचारका लागि साथीहरुले अहिलेसम्म ५ हजार दिर्हाम सङ्कलन गरे पनि अझै सहयोगको खाँचो रहेको भन्दै सुमनले आफूलाई सहयोगका लागि सबैसँग अपील गर्नुभएको छ ।

उहाँलाई सहयोग गर्न चाहनेले युएईमा सुमनले काम गर्ने पसलका म्यानेजर सन्जु तमु ०५५७२८२७०६०, आबुधाबीमा कार्यरत गायक गायक प्रकाश पौडेल ०५५८०६७९१९० र उज्यालो सहकर्मी उमाकान्त पाण्डे ०५६६१५६६७८० लाई सम्पर्क गर्न सकिने सहयोग सङ्कलनमा लागिरहेका सुमनका साथीहरुले बताएका छन् । त्यस्तै चितवनमा सुमनकी आमा चन्दा परियारलाई ९८४५५२३३१९ र बुवा शितलबाबु परियारलाई ९८४५४०६३५४ मा सम्पर्क गर्न सकिनेछ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया